अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५९ | Colorodo: 18:14

कोरोना भाइरसबाट नेपाल बाहिर १ सय २५ नेपालीको मृत्यु

बिआरटीनेपाल २०७७ जेठ २५ गते ६:५० मा प्रकाशित

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण विदेशमा नेपालीको मृत्यु र संक्रमणको दरमा उल्लेख्य रुपमा कमी आएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता विदेशमा ६ जना नेपालीको कोरोनाबाट मृत्यु भएको छ भने ५ हजार ५ सय ९० जना संक्रमण मुक्त भएका छन् । संक्रमण दर गत साताभन्दा ७५ प्रतिशतले कमी हो ।

गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा. संन्जिव सापकोटाका अनुसार सो साता कतारमा ४ जना, कुवेतमा १ जना, युकेमा १ जना गरि ६ जनाले कोरोना भाइरसको कारणले ज्यान गुमाएका छन् । संघको पछिल्लो तथ्यांक अनुसार विभिन्न विदेशमा १ सय २५ जना गैरआवासीय नेपालीको कोरोनाका कारणले निधन भएको छ ।

संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार विश्वका ३४ देशमा रहेका नेपाली कोरोना भाइरसबाट प्रभावित भएका छन । १३ देशमा रहेका नेपालीको ज्यान गएको छ । कोरोना भाइरसका कारण बेलायत, संयुक्त राज्य अमेरिका, युएई साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, र स्वीडेनमा रहेका नेपालीको मृत्यु भएको छ ।

संयोजक डा. सापकोटाका अनुसार विदेशमा मात्र १४ हजार ४ सय ५४ जना नेपालीमा कोरोना संक्रमण भएको छ । यसैबीच, सरकारले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन गरेको निर्णयको गैरआवासीय नेपाली संघले स्वागत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू