अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४६ | Colorodo: 07:01

कांग्रेस संसदीय दलमा बजेटबारे छलफल, सदनमा प्रभावकारी धारणा राख्न सभापति देउवाको निर्देशन

बिआरटीनेपाल २०७७ जेठ १६ गते ८:२९ मा प्रकाशित

सरकारले ल्याएको बजेटबारे संसद्मा कसरी प्रस्तुत हुने भन्नेबारेमा कांग्रेसले आफ्ना सांसदहरुलाई प्रशिक्षित गरेको छ । योजनाविद् समेत सहभागी रहेको शुक्रबार बसेको संसदीय दलको बैठकमा बजेटका कमीकमजोरी र सुधार गर्नुपर्ने क्षेत्रमा सांसदहरुलाई प्रभावकारी धारणा राख्नसमेत सभापति शेरबहादुर देउवाले निर्देशन दिनुभएको बताईएको छ ।

बैठकमा पूर्वअर्थमन्त्री रामशरण महत, पूर्वयोजना आयोगका उपाध्यक्षहरु स्वर्णीम वाग्ले, गोविन्द पोखरेल, जगदीशचन्द्र पोखरेल र अर्थविद् विश्व पौडेलले बजेटका सकारात्मक र नकारात्मक पाटोको बारेमा जानकारी गराउनुभएको पार्टी प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिनुभयो ।

बैठकमा सांसद एवं केन्द्रीय सदस्य गगन थापाले पार्टीले निर्णय गरिसकेको अवस्थामा सांसदहरुले परिचालन गर्ने स्थानीय पूर्वाधार विकास कार्यक्रमका लागि छुट्याएको बजेट लिन नहुने मत राख्नुपर्ने बताउनुभयो । कोरोना महामारीले नेपाली अर्थतन्त्र धरासायी बनाएका बेलामा यस्तो रकम स्वास्थ्य क्षेत्रमा खर्च गर्नुपर्ने उहाँको तर्क थियो । तर, सांसद भरत शाह र राजन केसीसहितका केहीले भने उक्त रकमको विरोध गर्न नहुने धारणा राखेका थिए । चुनावमा बाँडेको आश्वासन पूरा गर्नका लागि पनि उक्त कार्यक्रम खारेज गर्न नहुने उनीहरुको भनाइ थियो ।

बजेटका सन्दर्भमा छलफल गर्ने एजेण्डा राखेर बोलाइएकाले सरकारले ल्याएको संविधान संशोधनको विधेयकमाथि भने बैठकमा छलफल भएन । संविधान संशोधनको बारेमा कांग्रेसले शनिबार बोलाएको बैठकले औपचारिक निर्णय गर्ने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू