अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२६ | Colorodo: 22:41

सम्झनामा पारिजात

लीला लुइटेल

लीला लुइटेल २०७७ वैशाख ५ गते ७:४२ मा प्रकाशित

उहिले हामी कलेज पढ्ने बेलासम्म पनि साहित्यकार भनेको यस धर्तीका प्राणी नभएर अर्कै ग्रहबाट आएका विशिष्ट प्राणी पो हुन् कि जस्तो पनि लाग्थ्यो । अहिलेजस्तो विद्युतीय सञ्चारका अनेक सुविधालगायत सामाजिक सञ्जाल त त्यति बेला जन्मेकै थिएनन् । अनि पत्रिकामा प्रकाशित लेख एवं पुस्तकका पछाडि लेखकका फोटो पनि राख्ने प्रचलन त्यति थिएन । पारिजातको नाम अलिअलि सुनेको भए पनि उनका रचनाहरू चाहिँ बी.ए. मा आइपुग्दा मात्र पढ्ने साइत जुर्‍यो । अझ उनका बारेमा त अनेक किंवदन्ती पनि सुनिन्थे, सुनाइन्थे । बी.ए. को पाठ्यक्रममा मैले नजन्माएको छोरो शीर्षक कथा र शिरीषको फुल शीर्षक उपन्यास पढेपछि उनका बारेमा उत्सुकता बढेर आयो र कृति खोजी गर्दै जाँदा आदिम देश भेटियो । त्यति बेला ती कृति पढ्दा भाषा क्लिष्टजस्तो, केके नबुझेजस्तो अनुभूत पनि भएकै हो । यी कृति पढेपछि पारिजातलाई भेट्न असाध्यै मन लाग्न थाल्यो तर कहाँ बस्ने हो, कसरी भेट्ने, कुन निहुँले भेट्न जानेजस्ता समस्या तेर्सिए ।

बी.ए. दोस्रो वर्षमा थेसिस लेख्न पाइने कुराले हामी धेरै विद्यार्थी फुरफुर गर्न थाले पनि वर्षको अन्त्यतिर शोध लेख्नेमा म र मधुप्रसाद रेग्मी मात्र भयौ । मधुजीले नेपाली समालोचनामा लेख्ने तयारी गर्न थाल्नुभयो, मैले नेपाली महिला कथाकार शीर्षकमा शोध पत्र तयार गर्ने निधो गरे । यसले पनि मलाई पारिजातलाई भेट्न जाने निहुँ प्राप्त भयो । अनेकतिर सोधिखोजी गरी पारिजातको ठेगाना जानकारी भएपछि पारिजातको निवास खोज्दै म मैह्पी पुगें । एकातिर किंवदन्तीकी नायिका तथा वरिष्ठ साहित्यकार पारिजातलाई भेट्न पाउने उत्सुकताले रोमाञ्चित गराइरहेको थियो भने अर्कोतिर त्यति ठुलो साहित्यकारले भेटै पो नदिने हो कि ? भेट दिए पनि मेरो बोल्ने ढङ्गै पो नपुग्ने हो कि ? भन्ने त्रासले पनि घरीघरी सताइरहेको थियो । अझ आफ्ना लेख रचनामा प्रयोग गर्ने विशिष्ट भाषिक शैलीमा कुरा गर्न थालिन् भने के गर्ने होला भन्ने डर पनि उत्तिकै थियो ।

उत्सुकता एवं त्रासको तानातानीमा चेपिएको मानसिकता बोकेर पारिजातको ढोकामा पुगेँ । ढोकामै भेट भएकी दिदीसँग (उनी सुकन्या भएको कुरा पछि थाहा भयो) पारिजातलाई भेट्न आएको कुरा बताएँ । उनले मलाई पारिजातको कोठामा पुर्‍याएर छोडिदिइन् । ओछ्यानमा बसेर दुई औलाले गिलास च्यापेर चिया खाइरहेकी पारिजातलाई देखेर मेरो मन भरिएर आयो, शिर श्रद्धाले झुक्यो । मैले नमस्कार गरी हड्बडाउदै आफ्नो परिचय दिएँ र भेट्न आउनुको प्रयोजन बताएँ । उहाँले शान्त मुद्रामा बस्ने सङ्केत गर्नुभयो, मभित्र रहेको सङ्कोच तथा त्रास हटिसकेको थिएन, उहाँले नै कुरा सुरु गर्नुभयो— घर, परिवार, मौसम आदि आदि । त्यसै बेला अगि ढोकामै भेटिएकी दिदीले कालो चिया लिएर आएपछि पारिजात दिदीले भन्नुभयो— ‘हेर न सुकन बहिनी बी.ए. मा पढ्नु हु“दोरहेछ, थेसिस लेख्नाका लागि मलाई भेट्न आउनु भएको रे ।’ यतिजेन्लसम्म मभित्र रहेका सङ्कोच तथा त्रासहरू बिस्तारै पाखा लाग्न थालिसकेका थिए, अनि पारिजातको बोल्ने शैली पनि मैले सोचेजस्तो विशिष्ट तथा अप्ठ्यारो नभएर हाम्रोजस्तै सामान्य भएको कुरा पनि मैले थाहा पाइसकेकी थिएँ । मैले सुकन्या दिदीलाई नमस्कार गरेँ र अगि पारिजातलाई दिएको आफ्नो परिचय दोहोर्‍याए । त्यस दिन नेपाली महिला कथाकारका बारेमा निकै जानकारी प्राप्त गरी म त्यहाँबाट फर्के ।

पहिलो भेटमै म पारिजातबाट यति प्रभावित भए, जसले गर्दा मेरा पाइला बेलाबेला स्वचालित रूपमा उहाँको घरतर्फ मोडिन्थे । यही बिचमा उहाँले नेपाली महिला साहित्यकारका कृतिको प्रदर्शनी गर्ने योजना सुनाउँदै यसमा सहयोग गर्नाका लागि भन्नु भयो । यसले मलाई ठुलै चिज प्राप्त गरेको अनुभव भयो । यसमा मैले सक्रियताका साथ निकै दिन पारिजातसँग बसेर काम गरेकी थिएँ । पछि नेपाल भारत सांस्कृतिक केन्द्रको हलमा महिला साहित्यकार प्रदर्शनीको आयोजना भएको थियो । त्यस प्रदर्शनीमा जम्मा भएका महिला साहित्यकारका कृति देखेर म आश्चर्यचकित भए किनकि त्यस बेलासम्म पढेको नेपाली साहित्यको इतिहासमा त्यहाँ जम्मा भएका कुनै पनि महिला लेखक र तिनका कृतिको नाम मैले देखेकी थिइन । यसले मलाई नेपालीमा महिला लेखनको अध्ययनतर्फ लाग्न ठुलो प्रेरणा दियो, अझ भनौ त्यस प्रदर्शनीबाट मलाई ठुलो गाड धन मिलेको अनुभव भयो । प्रदर्शनी सकिएपछि त्यहाँ जम्मा भएका कृतिहरूमध्ये कतिपय कृतिहरू छानेर लानका लागि पारिजातले मलाई अनुमति दिनुभयो ।

कीर्तिपुरमा नेपाली स्नातकोत्तर प्रथम वर्षका हामी सहपाठीहरू मिलेर साहित्य कुञ्ज नामक संस्थाको स्थापना गरेका थियौँ । हामी साहित्य कुञ्जको नियमित बैठक गर्थौ र विभिन्न प्रकारका कार्यक्रमहरू गरिरहन्थ्यौँ । दोस्रो वर्षको अन्तिमतिर पुगेपछि हामीले दुई जना साहित्यकारलाई अभिनन्दन गर्ने योजना बनायौ । यसै क्रममा मैले पारिजातको नाम प्रस्ताव गरे, यसमा कसैको पनि विरोध भएन र सहज ढङ्गमा सर्वसम्मतिबाट तुरुन्तै पारित भयो । यसपछि अर्को प्रतिभा चयन गर्न हामीलाई त्यति सहज भएन र लामो छलफलपछि अन्त्यमा बद्रीनाथ भट्टराईको नाम सर्वसम्मत भयो । यसपछि हामी विभागाध्यक्षलगायत अन्य गुरुहरूलाई यो कुरा सुनाउन गयौँ । हाम्रा कुरा सुनिसकेपछि ‘पारिजात घमन्डी छन्, उनलाई अभिनन्दनका लागि मनाउन सकिँदैन तसर्थ अर्को साहित्यकार सोच्नुहोस्’ भनेर त्यति बेला केही गुरुहरूले सल्लाह दिनुभयो । त्यहाँ पारिजातका बारेमा सकारात्मक एवं नकारात्मक अनेक थरी कुरा सुनिए । गुरुहरूका कुरा सुनेपछि मभित्र भुईँचालो जान थाल्यो, यदि साँच्चै पारिजातलाई मनाउन सकिएन भने…. । नेपाली साहित्यकै उल्लेखनीय प्रतिभा तथा मेरा अति आदरणीय व्यक्तित्व पारिजातप्रति रहेको मेरो सम्पर्क, आस्था एवं विश्वासले मलाई बेलाबेला आशा देखाउँथ्यो, अनि गुरुहरूका अनेक प्रकारका टिप्पणीहरूले म खङ्रङ्गै हुन्थे ।

अहिलेजस्तो फोन सुविधा थिएन । त्यसैले म बाकी अरू कक्षा छोडेर यो निर्णय सुनाउन पारिजातको घरतिर हान्निए । मनमा आशा, निराशा, उत्साह एवं त्रासलाई छड्काउदै म मैपी पुगे र उहाँलाई यो कुरो सुनाए । उहाँले सर्वप्रथम संस्थाको बारेमा जानकारी लिनुभयो । अनि हामी सबै सदस्यहरूका बारेमा सामान्य जानकारी लिएपछि ‘सुकन’ भनेर बोलाउनु भयो । सुकन्या दिदी भित्र पसेपछि ‘हेर न सुकन मलाई बैनीहरूले अभिनन्दन गर्ने रे’ भनेर उहाँले प्रसन्न मुद्रामा यो कुरो सुनाउनु भयो । त्यसपछि उहाँले मिति, समय, प्रमुख अतिथि, उहाँका बारेमा बोल्ने मान्छे आदि सबै बारेमा रुचिपूर्वक जानकारी लिनु भयो । त्यति बेला ठुलो अग्निपरीक्षाबाट उत्तीर्ण भएको अनुभूति भयो मलाई ।

‘तपाईँहरूले मलाई अभिनन्दन गर्ने त भन्नुभयो तर एउटा कुरा नि लीला’ पारिजातको यो वाक्यले मलाई फेरि झस्कायो । अब के भन्ने हो, अभिनन्दन स्वीकार पो नगर्ने हो कि जस्ता अनेक शङ्का उपशङ्काका बादल मभित्र मडारिन थाले । मैले केही बोल्न नपाउँदै उहाँले नै भन्नुभयो— ‘अभिनन्दनमा मलाई टीका र मालाचाहिँ तपाईँले नै लगाइदिनु न है’ पारिजातको यस वाक्यले जेठको धूपमा हिँडिरहेका बेला चौतारीमा बर पिपलको छहारी र मिठो सर्बत प्राप्त भएजस्तै शिरदेखि पाउसम्मै शीतल मिलेको मलाई अनुभव भयो ।

अभिनन्दन समारोहको प्रमुख अतिथि तत्कालीन शिक्षामन्त्री रामहरि जोशी र अन्य अतिथिहरूमा तत्कालीन उपकुलपति वासुदेव चन्द्र मल्ल, कमल दीक्षित लगायत थुप्रै व्यक्तिहरू हुनुहुन्थ्यो । अझ कमल दीक्षित त मञ्चमा नभई कार्यक्रम समाप्त नहुन्जेलसम्म दर्शक दीर्घामै बसेर कार्यक्रम सकिएपछि पारिजात र बद्रीनाथसँग केही बेला भलाकुसारी गरेर मात्र जानुभएको भएको थियो ।

पारिजातलाई अभिनन्दन गर्ने जानकारी पाएपछि त्यस बेला पारिजातलाई हेर्न र पारिजातको मन्तव्य सुन्न भनेर मानविकी मात्र नभई विज्ञान, वाणिज्य, शिक्षा शास्त्र लगायतका शिक्षक एवं विद्यार्थीको भिड अडिटोरियममा जम्मा भएको थियो । उनीहरूमध्ये कतिपय त भित्र नअटाएर बाहिर चौरमा बसेर पारिजातको मन्तव्य सुनिरहेका थिए र पारिजातलाई एक झल्को देख्नकै लागि भए पनि भित्र कार्यक्रम समाप्त नहुन्जेल बाहिर चौरमा पर्खिरहेका थिए । त्यतिखेर देखेरै चित्त बुझाउनुपर्ने परिस्थिति थियो, अहिले जस्तो सेल्फी लगायतका फोटा खिच्न कसैका हातमा पनि क्यामेरा थिएन । पारिजातलाई देख्नकै लागि जम्मा भएको त्यो भिड देखेर त्यतिखेर हामीलाई ठुलै काम गरेको सन्तुष्टि मिलेको थियो । उहाँले त्यतिखेर बोनी उपन्यासका थुप्रै प्रति बिक्रीका लागि लिएर आउनु भएको रहेछ । शिक्षक विद्यार्थी सबै मिलेर उहाँले ल्याउनु भएका सबै पुस्तक हामीले हात हातै बिक्री गरिदियौँ । पुस्तक सकिएपछि उहाँले थोरै ल्याइएछ, निकै ल्याउनु पर्ने रहेछ भनेर हाँस्दै भन्नुभएको थियो ।

अभिनन्दन सकिएपछि त्यस दिन खिचेका फोटाहरू सर्व प्रथम दुई दुई प्रति धुलाऔँ, अनि उहाँहरू दुवै जनालाई एक एक थान दिऊ, उहाँहरूले आफूलाई मन परेका जति छानेर लिइसकेपछि हाम्रा लागि त्यसपछि धुलाउला भनेर मैले साहित्य कुञ्जको बैठकमा राखेको प्रस्ताव सर्वसम्मतिबाट पारित भयो । फोटो धुलाएर ल्याइसकेपछि म फोटो बोकेर पहिले पारिजातकहाँ गए, मैले झोलाबाट फोटो झिकेपछि उहाँले उसै गरी सुकन भनेर बोलाउनु भयो, सुकन्या दिदी भित्र आएपछि उहाँले अत्यन्त खुसी हुँदै फोटा हेर्न आइज भनी ती फोटा देखाउनु भयो । त्यसपछि उहाँले मेरा लागि यी यी फोटा धुलाइदिनु भनेर आफूले छान्दै सुकन्या दिदीलाई पनि फोटा छान्न अराउनु भयो । मैले यी फोटा हजुरकै लागि धुलाएर ल्याइदिएको, मन परेको जति राख्न सक्नु हुन्छ भनेपछि उहाँले अझ खुसी हुँदै सुकन्या दिदीको समेत सहयोग लिएर फोटा छानेर राख्नु भएको थियो ।

२०४९ साल मङ्सिर महिनामा भक्तपुर बहुमुखी क्याम्पसमा पढाउन थालेको कुरा मैले उहाँलाई फोनद्वारा जानकारी गराएकी थिएँ । त्यतिखेर म बिहान नवदुर्गा बहुमुखी क्याम्पस र दिउसो भक्तपुर बहुमुखी क्याम्पसमा पढाउँथे । दुई वटै क्याम्पस भक्तपुरमै भएको हुँदा म पारिजातकहाँ नपुगेको निकै दिन भएको थियो । एक दिन उहाँले नै क्याम्पसमा सम्पर्क गरी फोन गर्नु भन्ने समाचार क्याम्पस प्रमुखलाई छोड्नु भएको रहेछ । यो कुरा थाहा पाएपछि मैले उहाँलाई फोन गरे । ‘क्याम्पस पढाउने भएपछि मलाई बिर्सेको हो’ भनेर उहाँले ठट्टा गर्नुभयो । त्यसको भोलिपल्टै म उहाँ कहाँ पुगेकी थिएँ । त्यसपछि पनि विना सन्दर्भ चार पाच पटक पुगेकी हु, ठ्याक्कै मिति अहिले सम्झना छैन ।

अर्को सन्दर्भ, मिति अहिले सम्झना छैन । नेपाली जनवादी साहित्यिक आन्दोलनमा विवाद र एकताको प्रश्न शीर्षक कार्यपत्र तयार गर्नु परेकाले केही सामग्री खोजिदिएर सहयोग गर्न पारिजातले मलाई भन्नुभएको थियो । उक्त कार्यपत्र तयार पार्दाका अधिकांश क्षणमा पारिजातसँगै बसेर मैले निकै उत्साहका साथ काम गरेकी थिएँ । अझ कार्यपत्र तयार पारिसकेपछि एक जना प्रगतिवादी भनेर चिनिएका साहित्यकारले प्रगतिवादका कतिपय सङ्कीर्ण एवं कर्मकाण्डी कुरा गरेर कार्यपत्रको संशोधन परिमार्जन गर्न भनेको कुरा पारिजातले मलाई बताएपछि मैले आफ्नो दृष्टिकोण उहाँसमक्ष राखेकी थिएँ । हामी दुईको दृष्टिकोण मिलेपछि हामीले कार्यपत्र परिवर्तन नगर्ने अडान लियौँ र त्यसैलाई अन्तिम गर्‍यौँ । यो कार्यपत्र त्यतिखेर गोरखपुरमा भएको सम्मेलनमा प्रस्तुत गरिएको थियो जस्तो लाग्छ । यस सन्दर्भले पारिजातप्रति रहेको मेरो श्रद्धा अझ वृद्धि भयो र पारिजातले पनि मलाई आफ्नो निकै नजिकको देख्न थाल्नुभयो । पारिजातसँगका हरेक भेट मेरा लागि अविस्मरणीय भए पनि महिला साहित्यकार प्रदर्शनी र कार्यपत्र लेखनजस्ता यी दुई सन्दर्भचाहिँ मेरा लागि निकै फलदायी रहेको अनुभव मेरो रहेको छ ।