अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४३ | Colorodo: 16:58

अन्तर्राष्ट्रिय उडान बन्द हुँदा ११ नेपालीको शव युएईमै रोकियो

बिआरटीनेपाल २०७६ चैत २८ गते ७:२३ मा प्रकाशित

कोरोनाको कारण अन्तर्रा्ष्ट्रिय उडान बन्द हुँदा यूएईमा ११ जना नेपालीको शव रोकिएको छ । उडान नभएपछि लकडाउनअघि र त्यसपछि विभिन्न कारणले ज्यान गुमाएका ११ नेपालीको शव युएईमै रोकिएको हो । अहिले ११ नेपालीको शव युएईका अस्पतलामै छन् । मृत्यु हुनेमा रुपन्देहीकी बिनु पराजुली,नुवाकोटका हरिशरण डोटेल, कास्कीका सम्मरबहादुर सुनार, धनुषाका वीरेन्द्र दास, झापाकी निता चौधरी, ताप्लेजुङका राजु पञ्चकोटी, खोटाङका दिलिप तामाङ, रुपन्देहीका सुरज थापासहित अन्य ३ जना रहेका छन् ।

सामान्य अवस्थामा युएईमा ज्यान गुमाएका नेपालीको शव तीनदेखि सात दिनभित्र नेपाल पठाउने गरिए पनि अहिले कोरोनाका कारण उडान ठप्प हुँदा शव पठाउन नसकिएको युएई स्थित नेपाली दूतावासले जनाएको छ । लकडाउन लम्बिंदै जाने हो भने शवको व्यवस्थापन गर्न थप कठिन हुने देखिएको छ । उच्च निमोनियाका कारण दुबईमा ज्यान गुमाएका कास्कीका सम्मरबहादुर सुनारको युएईमै अन्त्येष्टि गर्ने परिवारको तयारी छ । मृतकको छोरा र भाइ यूएईमै कार्यरत भएकाले पनि सुनारको शव यतै अन्त्येष्टि गर्ने गरी परिवारसँग समन्वय भैरहेको कास्की सेवा समाजका अध्यक्ष केदार कुँवरले जानकारी दिनुभयो । कानुनी रुपमा दूतावासमार्फत आवश्यक प्रक्रिया पुर्याएर अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

आबुधाबीमा रहेको नेपाली दूतावासले शव व्यवस्थापन गर्ने विषयमा वैदेशिक रोजगार बोर्ड, कन्सुलर सेवा तथा सम्बन्धित निकायसँग समन्वय गरिरहेको श्रम काउन्सिलर निर्मला थापाले जानकारी दिनुभयो । वैदेशिक रोजगार बोर्डले विदेशमा ज्यान गुमाउनेको शव नेपाल झिकाउने र कानुन अनुसार मृतकका परिवारलाई राहत र क्षतिपूर्ति दिने गर्छ । तर अहिलेको परिस्थितीमा शव झिकाउन सकिने या नसकिने भनेर बोर्डले विभिन्न नियोगसँग छलफल गरिरहेको जनाएको छ । यूएईमाभन्दा धेरै मलेसिया, कतार र साउदीमा शव रोकिएका छन् । अहिले उडान बन्द भएकाले शव ल्याउन समस्या भएको बोर्डको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू