अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३९ | Colorodo: 19:54

हामीलाई कोरोना भाइरसबारे अझै थाहा नभएका ९ कुरा के के हुन्

बिबिसी २०७६ चैत १६ गते १७:३८ मा प्रकाशित

धेरै समय भइसकेको जस्तो लागे पनि कोरोना भाइरसबारे चर्चा हुन थालेको गत डिसेम्बर महिनादेखि हो । वैज्ञानिकहरूले धेरै प्रयत्न गरिरहेको भए पनि हामीले कोरोना भाइरसबारे अझै धेरै बुझ्न बाँकी नै छ । त्यो भाइरस सम्बन्धी अनुत्तरित प्रश्नको उत्तर खोज्न विश्वभरि भइरहेका परीक्षणमा हामी पनि प्रत्यक्ष वा परोक्ष सहभागी भइरहेका छौँ।

तीमध्ये महत्त्वपूर्ण प्रश्नहरू यी हुन् ।

१. कति मानिस सङ्क्रमित भएका छन्
यो सबैभन्दा आधारभूत प्रश्नमध्ये एउटा हो । तर यो निकै महत्त्वपूर्ण पनि छ । विश्वभरि लाखौँ मानिस कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । तथ्याङ्कमा देखिने वा पुष्टि भएका मानिसको सङ्ख्याले वास्तविक सङ्क्रमणको प्रतिनिधित्व गर्दैन । त्यो सङ्ख्या अझै अपूर्ण किन छ भने सङ्क्रमण भएका कैयौँ मानिस बिरामी नै पर्दैनन् । मानव शरीरमा हुने एन्टीबडीको परीक्षण गर्ने पद्धतिको विकास गर्न सके कसैमा भाइरस भए नभएको जाँच गर्न सकिन्छ । त्यसपछि मात्र कति छिटो र कति परसम्म यो भाइरस फैलिरहेको छ भन्ने कुरा थाहा हुन्छ ।

२. यो कति घातक छ
कति मानिसलाई सङ्क्रमण भएको छ भन्ने तथ्य थाहा नभईकन मृत्युदर थाहा हुन सक्दैन । अहिलेसम्म विश्वमा सङ्क्रमण भएका झन्डै एक प्रतिशत मानिसको मृत्यु हुने अनुमान गरिएको छ । तर यदि लक्षणै नदेखिएका सङ्क्रमितहरूको सङ्ख्या धेरै छ भने मृत्युदर अझै बढी हुन सक्छ ।

३. कोरोना भाइरसका लक्षणहरू
ज्वरो आउनु र सुक्खा खोकी लाग्नु कोरोना भाइरस सङ्क्रमणका मुख्य लक्षण हुन्। तपाईँ यी लक्षणबारे सतर्क हुनुपर्छ । केही बिरामीमा घाँटी दुख्ने, टाउको दुख्ने र पखाला लाग्ने गरेको पनि पाइएको छ। केही बिरामीमा सुँघ्ने लिने क्षमतामा कमी आएको पनि पाइएको छ ।

विभिन्न अध्ययनले देखाएअनुसार केही मानिसहरूलाई सङ्क्रमण भइसके पनि उनीहरूमा कुनै लक्षण देखिँदैन। उनीहरूले यो भाइरस बोकिरहेका हुन सक्छन् जो अरू मानिसमा सजिलै फैलिन सक्छ ।

४. भाइरस फैलाउनमा बालबालिकाको भूमिका
केटाकेटीहरूले पक्कै पनि भाइरस समात्न सक्छन् र तिनलाई अरू व्यक्तिमा सार्न सक्छन् । प्राय: बालबालिकामा सामान्य लक्षण देखिन्छ। अन्य उमेर समूहका मानिसको भन्दा बच्चाहरूको मृत्युदर निकै कम रहेको छ । प्राय: खेलमैदानमा रमाउने बच्चाहरू स्वभावैले धेरै मानिससँग घुलमिल गर्छन्। उनीहरूले यो भाइरस निकै छिटो छिटो धेरै मानिसमा फैलाउन सक्ने हुनाले उनीहरूलाई ‘सुपर-स्प्रेडर’ मानिएको छ । त्यस्तो जोखिम हुने भए पनि केटाकेटीले त्यो भाइरस कतिसम्म फैलाउन सक्छन् भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन ।

५. यो भाइरस कहाँबाट आयो
यो भाइरस सन् २०१९ को अन्त्यतिर मध्य चीनको वुहानमा पहिलो पटक देखिएको थियो । त्यहाँ पशुपक्षी व्यापार हुने एक बजारमा पहिलो पटक यसको सङ्क्रमण देखिएको थियो । औपचारिक रूपमा सार्स-कोभ-२ (Sars-CoV-2) नाम दिइएको कोरोना भाइरस चमेराहरूलाई सङ्क्रमित तुल्याउने भाइरससँग मिल्दोजुल्दो छ। त्यो भाइरस चमेराबाट कुनै अज्ञात जनावरमा सर्दै मानिसमा सरेको विश्वास गरिएको छ। त्यो अज्ञात जनावर प्रस्ट भइसकेको छैन । त्यो थप सङ्क्रमणको कारक पनि बन्न सक्छ।

६. के गर्मी याममा सङ्क्रमण कम होला
फ्लू वा रुघाजस्ता रोग गर्मी महिनामा भन्दा जाडो महिनामा बढी देखिने गर्छन् । तर न्यानो हावापानीमा यो भाइरस फैलिने क्रममा कमी आउँछ कि आउँदैन भन्ने अझै प्रस्ट भइसकेको छैन । ब्रिटेन सरकारका विज्ञान सल्लाहकारहरूले कोरोना भाइरस सङ्क्रमणमा मौसमी प्रभाव हुन्छ कि हुँदैन भन्नेबारे प्रस्ट नभइसकेको चेतावनी दिएका छन् । उनीहरूका विचारमा यदि त्यस्तो असर भइहालेमा त्यो फ्लुको भन्दा कम हुन्छ । यदि कोरोना भाइरस सङ्क्रमणको दर गर्मी महिनामा कम भएमा फेरि जाडो महिनामा त्यो फैलिने क्रम बढ्न सक्छ। त्यति बेला अस्पतालहरूलाई बिरामीको चाप धान्न मुस्किल हुनेछ ।

७. केही मानिसमा किन गम्भीर लक्षण देखिन्छन्
धेरै मानिसमा को भिड-१९ का सामान्य लक्षण मात्रै देखिन्छन् । तर झन्डै २० प्रतिशतमा गम्भीर लक्षण देखिन्छन् । किन होला ? मानिसको प्रतिरक्षा प्रणालीको अवस्थाले त्यसमा महत्त्वपूर्ण भूमिका खेल्ने गर्छ । केही कुरा व्यक्तिको आनुवंशिक गुण र विशेषतामा पनि भर पर्न सक्छ । त्यसबारे जति धेरै ज्ञान प्राप्त हुन सक्छ त्यसले सघन उपचार गर्नु पर्ने बिरामीको सङ्ख्या घटाउन त्यति नै ठुलो सहयोग पुर्‍याउन सक्छ ।

८. मानिसको प्रतिरक्षा क्षमता कति समयसम्म रहला
कोरोना भाइरससँग सङ्घर्ष गर्न सक्ने मानिसको प्रतिरक्षा क्षमताबारे धेरै अनुमान गरिएको छ । तर त्यस्तो क्षमता कति समयसम्म रहला भन्ने बारे निकै थोरै प्रमाणहरू उपलब्ध छन् । यदि कुनै बिरामीको शरीरले कोरोनाभाइरसँग राम्ररी सङ्घर्ष गरेको छ भने उसको प्रतिरक्षा प्रणालीलाई राम्रै मान्नुपर्छ। तर यो रोग केही महिना अघि मात्र देखा परेकोले यसबारे पर्याप्त तथ्याङ्क उपलब्ध छैन । कुनै बिरामीमा दोस्रो पटक पनि यो भाइरस देखिएको विषय सङ्क्रमण भए नभएको परीक्षण गर्ने विधि र पद्धतिको विश्वसनीयतासँग गाँसिएको हुन्छ । त्यो विधिले कहिलेकाहीँ सही परिणाम नदेखाएको पनि हुन सक्छ ।

९. के भाइरसले आफ्नो स्वरूप परिवर्तन गर्ला
भाइरसहरू बारम्बार आफ्नो स्वरूप र गुण परिवर्तन गरिरहन्छन् । तर उनीहरूको आनुवंशिक सङ्केतलाई चलाउँदा धेरै फरक पर्दैन । त्यसरी भाइरसहरूले आफ्नो स्वरूप फेर्ने क्रम जारी राख्दा उनीहरू लामो समयपछि कम घातक हुन्छन् भन्ने सामान्य नियम छ । तर त्यो निश्चित भने हुँदैन । चिन्ताको विषय चाहिँ यो हो – यदि यी भाइरसहरूले आफ्ना स्वरूप फेरे भने तिनलाई मानिसको प्रतिरक्षा प्रणालीले नचिन्न पनि सक्छ र कुनै भ्याक्सिन वा खोपको विकास गरिहालियो भने पनि त्यसले काम नगर्ने अवस्था आउन सक्छ । भाइरसले स्वरूपमा परिवर्तन गरेकै कारण फ्लु रोग नियन्त्रण गर्ने खोपले राम्रो काम नगरेका उदाहरणहरू प्रशस्त छन् ।

बिबिसीबाट (जेम्स ग्यालहर, स्वास्थ्य तथा विज्ञान सम्वाददाता)

सम्बन्धित सामग्रीहरू