अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५७ | Colorodo: 00:12

कोरोना भाइरस दशौँ लाख मानिसको ज्यान बचाउनका निम्ति द्रुत गतिमा काम गर्न वैज्ञानिकहरूको सुझाव

बिबिसी २०७६ चैत १३ गते २२:५३ मा प्रकाशित

कोरोना भाइरस प्रकोपको अध्ययन गरिरहेका ब्रिटेनका वैज्ञानिकहरूले दशौँ लाख मानिसको ज्यान जोगाउने हो भने सरकारहरूले अत्यन्त चाँडो गतिमा कदम चाल्नु पर्ने बताएका छन्। इम्पेरियल कलेज लन्डनले गरेको अध्ययन अनुसार परीक्षण र एक्ल्याउने काम नगरे अनि सामाजिक दुरी कायम नराखे ठुलो सङ्ख्यामा मानिसहरूको ज्यान जान सक्छ।

कम्प्युटर प्रणालीबाट निकालिएको हिसाब अनुसार अत्यन्त खराब स्थितिमा सघन उपचार आवश्यक पर्ने बिरामीहरूको सङ्ख्या धान्न सकिने भन्दा २० गुना ज्यादा हुनेछ। वैज्ञानिकहरूले आफ्नो अध्ययनको निष्कर्ष ठ्याक्कै नमिल्न पनि सक्ने भन्दै सरकारहरूले कुनै काम नगरेको खण्डमा मात्र आफूहरूले दिएको चेतावनीको स्थिति आउन सक्ने बताएका छन्।

उनीहरूले बढी उमेरका मानिसहरू घरपरिवारमै बस्ने अल्पविकसित देशहरूमा प्रकोपको असर खतरनाक हुन सक्ने पनि बताए । कोरोना भाइरस नयाँ भएकाले यसबारे थुप्रै कुरा जान्न अझै बाँकी रहेको वैज्ञानिकहरूले बताउँदै आएका छन्। प्रारम्भिक विवरणहरूमा धेरै उमेरकालाई यसले बढ्ता असर पारेको अनि महिलाभन्दा पुरुषका निम्ति यो धेरै घातक भएको देखिएको छ।  साथै बालबालिकामा यसले पार्ने प्रभाव पनि कम देखिएको छ। तर यी सबै विषयका यकिन कारणहरू खुलिसकेका छैनन्।

धूम्रपानको के असर?
युरोपको रोग नियन्त्रणसम्बन्धी एउटा निकायले बढी उमेरका मानिसभन्दा पनि धेरै धूम्रपान गर्नेहरू कोरोनाभाइरस सङ्क्रमणको उच्च जोखिममा रहेको हुनसक्ने बताएको छ। एक विवरणमा उसले पुराना अम्मली वर्तमान अम्मलीभन्दा बढी जोखिममा हुनसक्ने पनि उल्लेख गरेको छ। उनीहरूको कोषमा एक प्रकारको इन्जाइमका कारण त्यो हुनसक्ने बताइएको छ। सो निकायले धूम्रपान गर्नेहरूलाई पनि सो रोगको अति जोखिम रहेका समूहमा राख्न भनेको छ। बिबिसी

सम्बन्धित सामग्रीहरू