अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४२ | Colorodo: 01:57

लालुप्रसाद यादव ‘भ्रष्टाचारी’ ठहर

बिबिसी २०७४ पुष ८ गते ८:२४ मा प्रकाशित

भारतको केन्द्रीय जाँच निकाय सीबीआईको विशेष अदालतले विहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई पशुपंक्षीको दानासम्बन्धी भ्रष्टाचार काण्डमा दोषी ठहर गरेको छ। सन् १९९१ देखि १९९४ बिच राज्यकोषबाट ८५ लाख भारतीय रुपैयाँ हिनामिना भएको घटनामा उनी दोषी पाइएका हुन् । उनलाई अदालत परिसरबाटै प्रहरीले हिरासतमा लिएको थियो। तर सजाय भने जनवरी ३ मा सुनाइने बताइएको छ।

बीबीसी हिन्दीले एक स्थानीय पत्रकारलाई उद्धृत गर्दै जनाएअनुसार, यादवबाहेक अन्य १४ जनालाई पनि ‘चारा घोटाला’को नामले भारतमा चर्चित भ्रष्टाचार काण्डमा दोषी ठहर गरिएको छ। तर छ जनालाई भने अदालतले सफाइ दिएको छ। सफाइ पाउनेमा विहारका पूर्व मुख्यमन्त्री जगन्नाथ मिश्रा पनि छन्। अदालतको पछिल्लो फैसलापछि राजनीतिक प्रतिक्रियाहरु आउन थालेका छन्।

विहारका उपमुख्यमन्त्री एवम् भारतीय जनता पार्टीका नेता सुशील मोदीले यादवलाई कारबाही भएकोप्रति ट्वीटरमार्फत सांकेतिक रूपमा खुसी प्रकट गरेका छन्। लालुप्रसाद यादवको पार्टी राष्ट्रिय जनता दलका वरिष्ठ नेता एवम् पूर्व केन्द्रीय मन्त्री रघुवंशप्रसाद सिंहले अन्तिम सास रहुञ्जेल फैसलाविरुद्ध लड्ने बताएका छन्। पशुपंक्षीको दानासम्बन्धी अर्को प्रकरणमा लालुप्रसाद यादव सन् २०१३मा समेत दोषी पाइएका थिए। त्यतिखेर उनलाई पाँच वर्षको जेल सजाय तोकिनुका साथै चुनाव लड्न छ वर्षको प्रतिबन्ध लगाइएको थियो भन्ने समाचार बिबिसीमा छापिएको छ ।

सम्बन्धित सामग्रीहरू