अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४१ | Colorodo: 20:56

ट्रम्प-किम बिच वार्ता सम्पन्न

बिबिसी २०७५ जेठ २८ गते २२:२९ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ-अनबीचको बहुप्रतीक्षित एक्लाएक्लै वार्ता सिंगापुरमा सम्पन्न भएको छ। दुई नेताहरू कार्य सूची सहितको दिवा भोजमा सहभागी हुँदैछन्।

एक्लाएक्लै वार्तामा बस्नुअघि पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै ट्रम्पले किमसँग ‘एकदम राम्रो सम्बन्ध’ हुने अपेक्षा गरे। उनले भने, “मलाई एकदम राम्रो लागिरहेको छ। हामी राम्रो कुराकानी गर्न गइरहेका छौँ र त्यो एकदम सफल हुनेछ।”

एकसाथ बसेका दुई नेताहरूले प्रतिकूलताका बाबजुद सहज अवस्थामा देखिएका थिए। किमले भने, “यहाँसम्म आइपुग्न सहज थिएन, अनेकौँ अप्ठ्याराहरू थिए तर यहाँसम्म आइपुग्न हामीले त्यसलाई जित्यौँ।”

सिंगापुरको पर्यटकीय टापु सेन्टोसास्थित कापेला होटेलमा ट्रम्प र किमले एकअर्कासँग हात मिलाएका थिए। आ-आफ्नो देशका राष्ट्रिय झण्डासामु देखिएका उनीहरूले एकअर्काको पिठ्यूँमा धाप मारे। त्यसपछि उनीहरूले अनुवादकहरूको सहयोगमा केही शब्द आदानप्रदान गरे र एक्लाएक्लै वार्ताका लागि होटेलको पुस्तकालयतर्फ लागेका थिए । बहालवाला अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबिच भेटवार्ता भएको यो पहिलो पटक हो। बिबिसी

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू