अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२६ | Colorodo: 20:41

कोरोना संक्रमणका कारण बेलायतमा पनि ३ साता लकडाउन

बिआरटीनेपाल २०७६ चैत १० गते २२:२३ मा प्रकाशित

कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले नागरिकहरूलाई घरमै बस्न आग्रह गर्नुभएको छ । सोमबार टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन गर्दै जोनसनले एउटै घरमा बस्नेबाहेक अरू कुनै पनि आफन्त र साथीभाइलाई नभेट्न पनि निर्देशन दिनुभएको हो ।

उहाँले बेलायतभर अत्यावश्यकबाहेकका सबै सेवा पनि बन्द गरिने बताउनुभयो । ’आज रातिदेखि सबै बेलायतीलाई मेरो एउटा सामान्य निर्देशन छ, तपाईं घरमा बस्नुपर्छ,’ दैनिक हुने प्रेस ब्रिफिङको साटो टेलिभिजनबाट सम्बोधन गर्दै जोन्सनले भन्नुभयो ।

जोन्सनको यस्तो निर्देशनसँगै बेलायतीहरू अत्यावश्यक सामानको खरिद, शारिरिक अभ्यास र बिरामी हुँदामात्र घरबाट बाहिर निस्कन पाउने छन्। सडकमा पनि दुई जनाभन्दा बढी सँगै हिँड्न नपाउने नियम ल्याइएको छ। नियम नमान्नेलाई प्रहरीले प्रचलित कानुनबमोजिम कारबाही गर्ने जोन्सनले बताउनुभयो ।

यो नियम कम्तिमा पनि तीन सातासम्म लागू हुनेछ । बेलायतमा पछिल्लो २४ घन्टामा ९६७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् भने ५४ जनाको मृत्यु भएको छ। त्यहाँ अहिलेसम्म ६ हजार ६ सय ५० मानिसमा कोरोना भाइरसको पुष्टि भएको छ। कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि युरोपेली मुलुकहरू इटाली, स्पेन, फ्रान्स र जर्मनीले यसअघि नै नागरिकको आवातजावत कम गर्न कडा कदमहरू चालेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू