अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४९ | Colorodo: 09:04

एनआरएनएले कोरोना प्रभावित नेपालीहरूको तथ्याङ्क सङ्कलन गर्न

बिआरटीनेपाल २०७६ चैत ८ गते १९:१३ मा प्रकाशित

लन्डन । कोरोना भाइरस (कोभिड १९) को महामारीले विश्वमा उत्पन्न असहस परिस्थितिलाई मध्यनजर गर्दै गैर आवासीय नेपाली सङ्घले आफ्ना शाखाहरूलाई परिचालन गर्ने भएको छ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष कुमार पन्तको अध्यक्षतामा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) र सम्पूर्ण मुलुकहरूमा रहेका राष्ट्रिय समन्वय परिषद् (एनसिसी) को संयुक्त बैडकले हरेक देशमा एक एक जना संयोजक तोक्ने निर्णय गरेको छ । सङ्घका महासचिव डा. हेम राज शर्माका अनुसार कोरोना प्रभावित देशहरूमा परिस्थितिमा सहजीकरण तथा समन्वय गर्न हरेक राष्ट्रिय समितिमा एक जना ‘कोअर्डिनेटर’ तोक्ने निर्णय गरिएको हो ।

बैठकले नेपाल सरकारले विभिन्न देशमा रहेका वैदेशिक नियोग तथा दूतावासहरुसंग समन्वय तथा सहकार्य गरी समस्या समाधानमा हातेमालो गर्ने राष्ट्रिय समितिलाई निर्देशन दिने निर्णय गरेको छ ।

बैठकले परिस्थितिमा सहजीकरण तथा समन्वय गर्न हरेक एनसीसीहरुमा एक जना ‘कोअर्डिनेटर’ को व्यवस्था गर्ने र कोर्डिनेटर मार्फत सम्बन्धित देशमा उत्पन्न सामाजिक, आर्थिक र आम नेपाली समुदायको स्वास्थ्य अवस्थाको बस्तुगत मूल्याङ्कन गरी आइसिसी अन्तर्गत रहेको उच्च स्तरीय ‘हेल्थ कमिटी’ लाई जानकारी गराउने निर्णय गरेको छ ।

आइसिसी अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्च स्तरीय ’हेल्थ कमिटी’ मार्फत सम्बन्धित देशहरूका एनसिसीको समन्वयमा विश्वका विभिन्न क्षेत्रमा समयनुकुल सुविधालाई मध्यनजर गरी अनलाइन स्वास्थ्य जनचेतना कार्यक्रम सञ्चालन निर्णय गरेको छ ।

बैठकले कोरोना भाइरसको प्रकोपले गर्दा विभिन्न देशहरूले तत्काललाई आवगमन तथा भिसामा भएको समस्याको साधना गर्न सम्बन्धित देशका नियोगहरूसँग समन्वय गरी राष्ट्रिय समिति मार्फत प्रभावित नेपालीहरूलाई सहयोग तथा राहत उपलब्ध गराउन समेत निर्देशन दिएको छ ।

अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्च स्तरीय ’हेल्थ कमिटी’ ले कोरोना भाइरसले उत्पन्न सामाजिक, आर्थिक र स्वास्थ्य स्थितिको असर तथा प्रभावबारे अध्ययन गर्न हरेक राष्ट्रिय समितिसँग मिलेर रणनीतिक कार्य योजना तयार गर्ने निर्णय भएको छ ।

सङ्घले कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिले प्रभावित नेपालीहरूको तथ्याङ्क सङ्कलन गर्ने निर्णय समेत गरेको छ।

गैर आवासीय नेपाली सङ्घको पूर्ण बैठक आइतबार बस्दै छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू