अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३३ | Colorodo: 11:48

नेपाली कार्यरत् खाडीका देश र मलेसियामा कोरोना संक्रमितको संख्या बढ्दो, समस्या परे यी ठाउँमा सम्पर्क गर्नुहोस्

बिआरटीनेपाल २०७६ चैत ८ गते ८:१९ मा प्रकाशित

नेपाली कार्यरत मलेसिया र खाडीका देशमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या शनिवार बिहानसम्म २२ सय ४८ पुगेको छ । खाडीका देशको तुलनामा मलेसियामा सङ्क्रमितको सङ्ख्या धेरै छ । मलेसियामा अहिलेसम्म ९ सय जनामा सङ्क्रमण देखिएको छ । विश्वका एक सय ८० देशका २ लाख ४५ हजार ६७१ मा सङ्क्रमण फैलिसकेको छ । १० हजार ४९ जनाको ज्यान गएको छ भने ८८ हजार चार सय ४१ जना निको भएका छन् ।

यूएईमा दुई नेपालीमा कोरोनाको संक्रमण देखिए पनि खाडीका बाँकी देश र मलेसियामा अहिलेसम्म नेपालीमा कोरोनाको संक्रमण भएको पुष्टि भएको छैन । तपाईँ कार्यरत खाडीका देशमा कहाँ कस्तो अवस्था छ र समस्या परे कहाँ सम्पर्क गर्ने त ?

सम्भव भएसम्म सार्वजनिक स्थान र भिडभाडमा नजानुहोस् । भेटघाट गरेर भलाकुसारी गर्नुको साटो कुराकानीका लागि मोबाइल तथा एपको प्रयोग गर्नुहोस् । कुनै स्वास्थ्य समस्या देखिए वा कोरोना भाइरसबारे जानकारी पाउनासाथ कतारको स्वास्थ्य मन्त्रालयको हटलाइन नम्बर १६००० मा फोन गर्नुहोस् ।

कतारमा रहेको नेपाली दूतावासले शव नेपाल पठाउने, यात्रा अनुमति र पासपोर्ट जस्ता अत्यावाश्यक कामबाहेक अरु सेवाहरु रोकेको छ । दूतावासमा पासपोर्ट र यात्रा अनुमति पत्रका लागि द्वितीय सचिव ऋचा भट्टराईलाई ६६३१६९८५ नम्बरमा सम्पर्क गर्न सकिन्छ ।

मृतकसम्बन्धी सेवाका लागि द्वितीय सचिव भुवनप्रसाद भट्टलाई ६६७४२०६४ नम्बरमा सम्पर्क गर्न सकिन्छ । नेपाली समुदायको सरोकारको विषयका लागि द्वितीय सचिव प्रवीण भट्टराईलाई ६६९५०७२४ नम्बरमा सम्पर्क गर्न सकिन्छ । यस्तै दूतावासमा ४४६७५६८१ र ४४१७१९६२ मा पनि सम्पर्क गर्न सकिन्छ ।

यूएईका पर्यटकीय स्थलहरु, विद्यालय, सिनेमा हल, रेस्टुरेन्ट, बार, नाइट क्लब तथा धेरै मानिसको जमघट हुने क्षेत्रहरु बन्द भइसकेका छन् । मङ्गलबारदेखि यूएई भ्रमणमा आउनेहरुलाई सरकारले भिसा समेत नदिने निर्णय कार्यान्वयन गरेको छ ।

पर्यटकीय स्थलहरु, बिद्यालय, सिनेमा हल, रेस्टुरेन्ट, बार, नाइट क्लब तथा धेरै मानिसको जमघट हुने सार्वजनिक स्थानहरुमा भेला नहुनुहोस् । कुनै स्वास्थ्य समस्या देखा परेमा यूएईको स्वास्थ्य सेवा विभाग आवुधावीमा ८००१७१७ मा सिधै सम्पर्क गर्नुहोस् ।

युएईको मिनिस्ट्री अफ् हेल्थ एण्ड प्रिभेन्सन– ८००११११ र दुबई हेल्थ अथोरिटीमा ८००३४२ मा सम्पर्क गरेर आफ्नो अवस्थाको जानकारी दिएर आवश्यक सहयोग लिनुहोस् । सम्भव भएसम्म सार्वजनिक स्थान र भिडभाडमा नजानुहोस् । भेटघाट गरेर भलाकुसारी गर्नुको साटो कुराकानीका लागि मोवाईल तथा मोवाईल एपहरु गर्नुहोस् ।

आबुधाबीमा रहेको नेपाली दूतावासको ०२६३४४७६७ र ६३४४३८५ नम्बरमा सम्पर्क गरेर आवश्यक सहयोग लिन सकिन्छ । सरकारले कोरोना भाइरस परीक्षणको लागि साउदी सेन्टर फर डिजिज प्रिभेन्सन एण्ड कन्ट्रोल) लाई आधिकारिक प्रयोगशाला तोकेको छ । त्यसैले रुघाखोकी लागेमा, ज्वरो आएमा तथा श्वासप्रश्वासमा समस्या देखिएमा साउदी सरकारले तोकेका परीक्षणस्थल र प्रयोगशालामा मात्र जाँच गराउनुहोस् ।

सङ्क्रमणको शङ्का लागेमा तुरुन्तै सरकारले उपलब्ध गराएको हेल्थ सर्भिस सेन्टरको सम्पर्क नम्बर ९३७ मा फोन गरी सल्लाह र परामर्श लिनुहोस् । कसैलाई रुघाखोकी लागेको, ज्वरो आएको तथा श्वासप्रश्वासमा समस्या देखिएको भए ती व्यक्तिसँग भेट हुँदा वा बोल्दा कम्तीमा पनि एक मिटर टाढै रहनुहोस् । अत्यावश्यक सहयोग र सल्लाहका लागि साउदीमा रहेको नेपाली दूतावासको ९६६१४६१११०८ नम्बरमा सम्पर्क गर्नुहोस् ।

बहराइनमा अवतरण गर्ने उडानहरु १८ मार्चदेखि अनिश्चितकालका लागि बन्द गरिएका छन् । बहराइनले सबै लेबर क्याम्प सरसफाइ गर्ने र प्रत्येक क्याम्पमा क्वारेन्टाइनको व्यवस्था गरेको छ । अरु देशमा झैँ बहराइन सरकारले पनि सबैलाई भिडभाडमा नजान र सुरक्षाका उपाय अपनाउन सल्लाह दिएको छ ।

ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिएमा बहराइनको टोल फ्री ४४४ नम्बरमा सम्पर्क गर्न सकिन्छ । सङ्क्रमितले क्वारेन्टाइनमा बस्न नमानेमा एक हजारदेखि १० हजार बहराइन दिनार जरिबाना हुनेछ । कुनै समस्या परेमा बहराइनमा रहेको नेपाली दूतावासमा ९७३१७७२५५८३ मा सम्पर्क गर्न सकिन्छ ।

कुवेत सरकारले सार्वजनिक क्षेत्रका श्रमिकलाई दुई हप्ताको बिदा दिएको छ । रेस्टुरेन्टदेखि शिक्षण संस्था समेत बन्द गरिएका छन् । गएको शुक्रबार रातिदेखि कुवेतले सबै व्यावसायिक उडान पनि बन्द गरेको छ । सार्वजनिक क्षेत्रमा भेला भएर नबस्नुहोस् ।घरभित्रै पनि धेरै मानिस जम्मा भएर नबस्नुहोस् । कुवेत सरकारले निर्देश गरेको सुरक्षा सतर्कता अपनाउनुहोस् ।

स्वास्थ्यसम्बन्धी कुनै समस्या भएमा २४९७०९६७ नम्बरमा फोन गर्नुहोस् र आफ्नो अवस्थाबारे जानकारी गराउनुहोस् । कुवेत सरकारले जारी गर्ने स्वास्थ्य सम्बन्धी निर्देशनहरु पालना गर्नुहोस् । कुनै समस्या परेमा कुवेतमा रहेको नेपाली दूतावासको फोन नम्बर ००९६५२५३२१६०३ मा सम्पर्क गर्नुहोस् ।

ओमान सरकारले निर्देश गरेको वा कम्पनीको निर्देशन पालना गर्नुहोस् । कुनै समस्या परेमा कोरोना विशेष हटलाइन नम्बर ७१५३०८४० मा अथवा ९६८२४६९६१७७ मा सम्पर्क गरेर सहयोग लिन दूतावासले अनुरोध गरेको छ ।

कोरोनाको सङ्क्रमण फैलन नदिन मार्च १७ मङ्गलबारदेखि मार्च ३१ सम्म मलेसियामा ‘लकडाउन’ नै गरिएको छ । यस अवधिमा नेपालीसहित कुनै पनि विदेशी नागरिक मलेसिया प्रवेश गर्न पाउँदैनन् । यस अवधिका लागि सबै शिक्षण संस्थाहरु बन्द गरिएको छ भने खेलकुद, धार्मिक कार्यक्रम लगायत कुनै पनि किसिमका भेला गर्न रोक लगाइएको छ ।

कोरोनाको सङ्क्रमणबाट बच्न सकेसम्म भिडभाडमा नजानुहोस् ।सुरक्षा सतर्कताका लागि सरकारको निर्देशन र सल्लाहबारे बेला बेलामा जानकारी लिनुहुोस् । कुनै समस्या परेमा मलेसियामा रहेको नेपाली दूतावासमा ६०३२०२०१८९९ र ६०२०२०१८९८ मा सम्पर्क गर्न सकिन्छ । मलेसियामा नेपालीका लागि काम गर्ने धेरै सङ्घसंस्था छन् । समस्या पर्दा यस्ता सङ्घसंस्थाको पनि सहयोग लिन सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू