अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४५ | Colorodo: 10:00

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा आईसोलेसन कक्ष स्थापना

बिआरटीनेपाल २०७६ चैत ८ गते ८:०१ मा प्रकाशित

कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमण जोखिमलाई ध्यान दिँदै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल गण्डकीमा १० शड्ढयाको आइसोलेसन कक्ष तयार गरिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाल समेत उच्च प्रकोपको जोमिखमा पर्न सक्ने चेतावनी दिएसँगै सरकारले जारी गरेको उच्च सर्तकता अन्तर्गत अस्पतालमा छुट्टै कक्षको व्यवस्थापन गरिएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको अस्पतालमा यसअघि १ आइसियु र २ बेड आइसोलेसनका लागि मात्र उपलब्ध थिए । सरुवा रोगमध्येको अत्यन्तै महामारीको रुप धारण गरिसकेको कोरोना भाइरस नियन्त्रणका लागि विशेष आइसोलेसन कक्ष व्यवस्थापन गरिएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिनुभएको छ ।

कोरोना संक्रमण पुष्टि भइसकेका बिरामीलाई मात्र उक्त कक्षमा राखेर उपचार थालिने उहाँको भनाई छ । कक्षमा भेन्टिलेटर जडान सहितको बेड पनि राखिएको छ । संक्रमण देखिएपछिको अवस्थामा उच्च जोखिमका बिरामीलाई उक्त बेड प्रयोग गरिने निर्देशक डा. आचार्यले बताउनुभयो । शौचालय, तातो पानीसहित आवश्यक सामग्रीको जोहो कक्षमै तयारी अवस्थामा राखेको उहाको भनाई छ ।

गण्डकी प्रदेशबाट हालसम्म ९ जनाको स्वाब परीक्षणको लागि काठमाडौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग सेन्टरमा पठाइएको थियो । तीमध्ये ६ जनाको रिपोर्ट नेगेटिभ प्राप्त भएकाले उनीहरु दैनिक कामकाजमा फर्किसकेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

पोखराको चरक मेमोरियल अस्पतालमा ३०, मनिपालमा १५, गण्डकी मेडिकल कलेजमा १५ र जिपी कोइराला स्वासप्रस्वास केन्द्रमा ३० वटा बेड आइसोलेसनका लागि तयारी अवस्थामा राखिएको निर्देशक डा. शर्माले जानकारी बताउनुभयो । उपचारमा खटिने चिकित्सक संक्रमणबाट जोगिन चाहिने व्यक्तिगत सुरक्षाका सामग्री (पिपिई) उपलब्ध रहेको उहाको भनाई छ ।

Western Regional Hospital

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू