अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:११ | Colorodo: 14:26

नेपाल ट्रष्टको श्वेतपत्र जारी – लाभमा सरकारको जिकिर, दोष अन्य दलको थाप्लोमा

बिआरटीनेपाल २०७६ फागुन १३ गते ६:३० मा प्रकाशित

सरकारले नेपाल ट्रष्टको सम्पत्ति सञ्चालनमा आफ्नो नभइ अन्य दलका नेताहरुको पनि हात रहेको खुलाउदै ट्रष्टको तर्फबाट श्वेतपत्र जारी गरेको छ । यती होल्डिङ्लाई लिजमा दिने निर्णयमा तत्कालीन प्रधानमन्त्रीद्धय पुष्पकमल दाहाल र शेरबहादुर देउवाको पनि हात रहेको उल्लेख गर्दै श्वेतपत्र जारी गरिदा थानकोट, मातातीर्थ, सतुंगल र बालाजुको जग्गा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पालामा मोहीको नाममा सारिएको समेत उल्लेख गरिएको छ ।

नेपाल पर्यटन बोर्डमा मंगलबार आयोजित पत्रकार सम्मेलन उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले श्वेतपत्र जारी गर्दै काठमाडौंको दरबारमार्ग र ताहाचलको जग्गा यती होल्डिङलाई लिजमा दिँदा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवा प्रधानमन्त्री रहेको उल्लेख गरिएको छ । नेपाल ट्रष्टका अध्यक्ष समेत रहनु भएका पोखरेलले यती समूहलाई लिज अवधि ५ बर्ष बाँकी छदै २५ बर्षका लागि गोकर्ण रिसोर्ट लिजमा दिनुको कारण सरकारलाई फाइदा रहेको जिकिर गर्नुभयो ।

दरबारमार्गको जग्गा यती समूहको थामसेर्कु ट्रेकिङ प्रालिले पाउँदा प्रधानमन्त्री नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुनुहुन्थ्यो भने ट्रष्टको अध्यक्ष गृहमन्त्री विमलेन्द्र निधि रहनु भएको पनि श्वेतपत्रमा उल्लेख गरिएको छ । थोमसेर्कुले दरबारमार्गको १ रोपनी १५ आना जग्गा १ अर्ब ४० करोड १० लाख ८६ हजारमा प्राप्त गरेको पनि श्वेतपत्रमा उल्लेख गरिएको छ ।

यसैगरी ताहाचलको जग्गा थामसेर्कुले पाउँदा प्रधानमन्त्री शेरबहादुर देउवा र अध्यक्षमा गृहमन्त्री जनार्दन शर्मा रहनु भएको पनि श्वेतपत्रमा उल्लेख गरिएको छ । ताहाचलमा रहेको २ हजार १ सय ९० वर्ग्मिटर जग्गा २७ करोड ७४ लाख ७५ हजारमा थामसेर्कुलाई दिइएको पनि उल्लेख गरिएको छ ।

यसैगरी बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा काठमाडौंको थानकोट, मातातीर्थ, सतुंगल र बालाजुमा रहेको नेपाल ट्रष्टको जग्गा मोहीको नाममा सारिएको र यो निर्णय गलत भएको श्वेतपत्रमा उल्लेख गरिएको छ । बाबुराम भट्टराई प्रधानमन्त्री र विजयकुमार गच्छदार गृहमन्त्री एवम् ट्रष्टका अध्यक्ष भएको समयमा थानकोट, मातातीर्थ, सतुंगल र बालाजुको जग्गा मोहीको नाममा सारिएको र यो निर्णय सच्याउन सरकार तत्पर रहेको श्वेतपत्रमा उल्लेख गरिएको छ । थानकोट, मातातीर्थ, सतुंगल र बालाजुको नामसारी गरिएको जग्गा कुल १७२ रोपनी १५ आना रहेको छ । नेपाल ट्रष्टको नाममा रहेको अन्य जग्गा र सम्पत्तिको पनि खोजी भइरहेको पत्रकार सम्मेलनमा बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू