अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०९ | Colorodo: 15:24

सरकारले आठ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको छ – अर्थ मन्त्री खतिवडा

बिआरटीनेपाल २०७६ फागुन ५ गते ६:३८ मा प्रकाशित

अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले अहिले ६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिको बहस हुनु सकारात्मक भएको बताउनुभएको छ । ललितपुरको हरिहर भवनमा सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको नयाँ भवन उद्घाटन गर्दै अर्थ मन्त्री खतिवडाले सरकारले आठ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको जानकारी दिनुभयो । सत्तामा रहँदा तीन÷चार प्रतिशतमात्र आर्थिक वृद्धि गर्नेहरु अहिले आठ प्रतिशत आर्थिक वृद्धि नहुने भन्दै आलोचना गर्न अगाडि सर्ने गरेको उहाँले दाबी गर्नुभयो ।

मन्त्री खतिवडाले तालिम केन्द्रले अर्थतन्त्रको वास्तविक अवस्थाको विषयमा पनि विज्ञहरुसँग छलफल चलाउनुपर्नेमा जोड दिनुभयो । सरकारले दुई वर्षमा औसतभन्दा माथि उपलब्धि हासिल गर्न सकेको खतिवडाको भनाइ थियो । उहाँले आर्थिक वृद्धि, सुशासन, भ्रष्टाचार निवारण तथा समाजको रुपमान्तरणमा औसतभन्दा माथिको उपलब्धि भएको बताउनुभयो । उहाँले तालिम केन्द्र एउटा अवसर भएको र यसले अनुसन्धानलाई वृद्धि गरी तालिमको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री खतिवडाले अनुसन्धान र तालिम अभिन्न अङ्ग भएकाले अनुसन्धानबिनाको प्रशिक्षण र तालिमको कुनै अर्थ नहुने प्रस्ट पार्नुभयो ।

कार्यक्रमा अर्थसचिव शिशिरकुमार ढुङ्गानाले सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रले दिने तालिमको मोडलमा परिवर्तन गर्नुपर्ने बताउनुभयो । उहाँले वित्तीय सङ्घीयताको पाटोमा अलिकति सुधार गर्नुपर्ने र त्यसका लागि तालिम केन्द्रको अभ्यास अगाडि बढाउनुपर्ने तालिम केन्द्रलाई अनुसन्धान उन्मुख बनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा सरकारले एकीकृत वित्तीय विवरण तयार गर्ने अवस्थाको पुरानो परिपाटीलाई अन्त्य गर्न तालिम केन्द्रले महत्वपूर्ण कार्यक्रमहरु ल्याउन सक्नेमा जोड दिइएको थियो । त्यसका लागि तालिम केन्द्रको नयाँ भवन उपयोगी हुने अर्थमन्त्री खतिवडाले विश्वास व्यक्त गर्नुभयो । तालिम केन्द्रले नयाँ भवनको निर्माण २९ करोड ३३ लाख सात हजार रुपैयाँ सम्पन्न गर्ने लक्ष्य राखेको भए पनि २२ करोड ५२ लाख ३० हजार रुपैयाँमा निर्माण सम्पन्न भएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू