अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५२ | Colorodo: 12:07

अरुण तेस्रो आयोजनाको लागि जुट्यो १ खर्ब लगानी

बिआरटीनेपाल २०७६ माघ २३ गते ५:४५ मा प्रकाशित

बहुचर्चित अरुण तेस्रो जलविद्युत् आयोजनाको लागि १ खर्ब रुपैयाँ लगानी जुटेको छ । आयोजनाको लागि नेपालका २ र भारतका ५ बैंकबाट लगानी जुटाइएको हो । भारतीय कम्पनी सतलज विद्युत् निगमले निर्माण गरिरहेको अरुण तेस्रोमा नेपाली बैंकले १५ अर्ब बढी लगानी गरेका छन् । बाँकी ८५ अर्ब लगानी भने भारतीय बैंकले लगानी गर्ने भएका हुन् । आयोजना निर्माणका लागि सतलज विद्युत् निगमले एसजेभिएन नामक कम्पनी स्थापना गरेको छ । आयोजनाको हाल २५ प्रतिशत भौतिक प्रगति भएको छ । ९ सय मेगावाट क्षमताको त्यो आयोजनाको वित्तीय व्यवस्थापन भएपछि परियोजनाले थप गति लिने विश्वास गरिएको छ ।

एसजेभिएनका प्रमुख कार्यकारी अधिकृत अरुण धिमानका अनुसार आयोजनामा नेपालका एभरेष्ट र नबिल बैंकले १५ अर्ब ३६ करोड लगानी गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । स्टेट बैंक अफ इन्डिया, पञ्जाब नेशनल बैंक, युनियन बैंक अफ इन्डिया, क्यानरा बैंक र भारतीय आयात निर्यात बैंक )एक्जिम)ले ८५ अर्ब ९७ करोड ८८ लाख रुपैयाँ ऋण लगानी गर्ने सम्बन्धी सम्झौता भएको छ । आयोजनाको प्रवद्र्धक एसजेभिएनले करिब २५ अर्ब स्वदेशी पूँजीका रूपमा लगानी गरेको छ । त्यही रकमले अहिले आयोजनाको कार्य भइरहेको छ ।

आयोजनाको कूल लागत १ खर्ब १५ अर्ब बराबर पुग्ने अनुमान गरिएको छ । आयोजनाको संरचना निर्माणका लागि १ खर्ब ४ अर्ब तथा ११ अर्ब रुपैयाँ भने प्रसारण लाइन निर्माणका लागि खर्च गरिनेछ । नेपाल राष्ट्र बैंक र लगानी बोर्डले स्वीकृति दिएपछि औपचारिकरूपमा ऋण लगानी सम्झौता गरिएको हो । प्रधानमन्त्री अध्यक्ष रहने लगानी बोर्डले बुधबार नै वित्तीय व्यवस्थापनका प्रवद्र्धक कम्पनीलाई स्वीकृति दिएको छ ।

नेपालमा लगानी ल्याउन भारतीय रिजर्भ बैंकले समेत अनुमति दिएको छ । आयोजना आगामी २०७९ सालभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजना २५ वर्षपछि चालू अवस्थामा नै नेपाल सरकारले प्राप्त गर्नेछ । प्रसारण लाइन निर्माणका लागि भारतको पञ्जाव नेशनल बैंकले ८ अर्ब रुपैयाँ लगानी गर्ने सहमति भइसकेको छ । परियोजना विकास सम्झौताअनुसार आयोजनाबाट नेपालले १ सय ९७ मेगावाट विद्युत् निशुल्क प्राप्त गर्नेछ । आयोजनामा नेपाली बैंकले लगानी गर्ने सहमतिपत्रमा २०७५ चैत १६ मा सम्झौता भएको थियो । प्रवद्र्धक एसजेभिएनले सङ्खुवासभाको मकालु गाउँपालिकामा आयोजना निर्माण गरिरहेको छ ।

वित्तीय व्यवस्थापन गरेपछि आयोजनाको सम्झौता अवधि गणना हुनेछ । सतलजभन्दा पहिले परियोजना विकास सम्झौता गरेको माथिल्लो कर्णालीको कुनै काम नभइरहेको बेला सतलजको भने निर्माण प्रगति एवं वित्तीय व्यवस्थापनसमेत गरेर आयोजनालाई गति दिएको हो । शुरुमा आयोजनाको लागत १ खर्ब ४ अर्ब रुपैयाँ हुने भनिएको थियो । तर अहिले विभिन्न कारणले लागत बढेर करिब १ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ ।

लगानी बोर्ड र सतलज विद्युत् निगमबीच २०७१ साल मङ्सिर ९ गते परियोजना विकास सम्झौता ९पीडीए० भएको थियो । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार हाल आयोजनाको बाँध तथा सुरुङ मार्ग निर्माण भइरहेको छ । प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले २०७५ वैशाखमा स्वीच थिचेर आयोजनाको शिलान्यास गर्नुभएको थियो ।

आयोजनाको प्रसारण लाइन निर्माण कार्य शुरु भइसकेको छ छ । केही जिल्लामा प्रसारण लाइन प्रभावितलाई मुआब्जा वितरणको कामसमेत भइसकेको छ । आयोजना स्थल सङ्खुवासभाबाट, भोजपुर, खोटाङलगायत जिल्ला हुँदै ४ सय केभी क्षमताको प्रसारण लाइन निर्माण हुनेछ । प्रसारण लाइन २१७ किलोमिटर लामो हुनेछ । प्राधिकरणले निर्माण गरिरहेको ढल्केबरस्थित ४ सय केभी क्षमताको सवस्टेशनमा विद्युत् जोडिनेछ । त्यही सवस्टेशनबाटै नेपालले पाउने विद्युत् लिनेछ । बाँकी विद्युत् भारत लगिनेछ ।

वित्तीय व्यवस्थापन समारोहमा नेपाल र भारतका बैंकका उच्च अधिकारी उपस्थित हुनुहुन्थ्यो । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले ठूलो आयोजनामा लगानी गर्न पाउनु आफूहरुका लागि पनि गौरवको विषय भएको बताउनुभयो । निर्माणधीन आयोजनामा करिब ३ हजारले रोजगारी पाएका छन् । स्थानीयवासीलाई मासिक ३० युनिट विद्युत् निशुल्क पाउने व्यवस्था गरिएको छ । अरुण तेस्रो आयोजनाबाट नेपालले २५ वर्षमा ३ खर्ब ४८ अर्ब रुपैयाँ राजश्व पाउने गरी परियोजना विकास सम्झौता गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू