अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०२ | Colorodo: 08:17

विश्वकै होचो व्यक्तिको कीर्तिमान बनाएका खगेन्द्र थापा मगरको निधन

बिआरटीनेपाल २०७६ माघ ३ गते ८:३२ मा प्रकाशित

विश्वकै होचो व्यक्तिको कीर्तिमान बनाएका खगेन्द्र थापा मगरको निधन भएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा शुक्रबार दिउँसो उनको निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि मगरलाई बिहीबार अस्पतालको आईसीयूमा राखेर उपचार गरिएको थियो।

निमोनियाका कारण उनको निधन भएको अस्पतालले जनाएको छ । खगेन्द्रलाई शुक्रवार दिउँसो ३ बजे मृत घोषणा गरिएको खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मीनबहादुर रानाले जानकारी दिनुभयो । खगेन्द्रमा यसअघि स्वासप्रश्वास, हमोग्लोबिनको कमी, ह्वाइट ब्लड सेल बढी हुने समस्या देखिएको थियो।

बागलुङ धुल्लुवासकोटका खगेन्द्रकोे २०६७ असोज २८ मा विश्वकै होचो व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स’ मा नाम लेखिएको थियो। उक्त समय उनको उचाई ५७ सेन्टिमिटर ९२२.०४ इन्च  थियो। खगेन्द्रले १८ वर्षको उमेरमा गिनिज बुकमा नाम लेखाएका थिए। पछिल्लो समय उनी पोखराको सृजनाचोकमा बस्दै आएका थिए। २०४९ असोज १८ मा जन्मिएका खगेन्द्रको जन्मदाँ तौल जम्मा ६ सय ग्राम थियो। निधनअघि उनको वजन ५.५ केजी थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू