अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१५ | Colorodo: 12:30

नयाँ ब्यवस्थामा जनता अभ्यस्त हुन सकेनन्, श्रीपेच गुमेका राजाहरु १० गुणा बढी शक्ति लगाएर राज्य फिर्ता ल्याउन लागि पर्छन् – प्रचण्ड

बिआरटीनेपाल २०७६ पुष १९ गते २:१३ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ व्यवस्थामा अझै जनताहरु अभ्यस्त हुन नसकेको बताउनुभएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले देशमा बनेको नयाँ परिस्थितिमा जनताहरु अभ्यस्त हुन अझ केही समय लाग्ने ठहर गर्नुभयो ।

नयाँ संरचनाले फाइदा वा घाटा के गर्छ भन्ने कुरामा नै जनता अन्यौलमा रहेको अवस्था र पुरानो संरचनामा बानी परेका कारण केही समस्या भएको उहाँको भनाई छ । ‘देशमा नयाँ परिस्थिति बनेको छ । नयाँ परिस्थिति भनेको पुरानो भन्दा भिन्न हुन्छ, भिन्न हुँदा मानिसलाई तुरुन्तै सहज लाग्दैन् । पुरानो संरचनामा बानी परेका हामी नयाँ संरचनाले फाइदा गर्ने हो की घाटा गर्ने हो भन्या जस्तो’, उहाँले भन्नुभयोे, ‘जस्तो हिँडिरहेको बाटो सजिलै हिँड्न सकिन्छ । नहिँडेको बाटो हिड्नुर्पयो भने अफ्ठ्यारो जस्तो महशुस पनि हुन्छ ।’

देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गएर नयाँ संविधान बनेको धेरैलाई मन नपरेको प्रचण्डले बताउनुभयो । ‘हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा गयौँ । संविधान बनायौँ, तीन तहको निर्वाचन गर्यौ, सबै संरचना नयाँ छ । यो अलि गुणात्मक छ, एकथरीलाई भने यो मन परेको छैन् । हिजो एकथरी राज गरेकाहरुलाई यो मन पर्दैन । उनीहरु कस्तो राम्रो व्यक्तिगत वर्गको वैभव जस्तो थियो त्यो सबै खोसिदा त मन पर्दैन नी’, प्रचण्डको भनाई थियो ।

अध्यक्ष प्रचण्डले गद्दी नउल्ट्याउँदासम्म, श्रीपेच झिकेर नफाल्दासम्म राजामहाराजाहरुले जनतालाई नपत्याउने पनि उल्लेख गर्नुभयो । ‘उनीहरुले पहिले पत्याउँदैनन यी जनताले धेरै नबुझेका, धन सम्पत्ति नभएका यी मानिसहरुले हाम्रो राज उल्ट्याउलान, हाम्रो श्रीपेच फाल्लान भनेर पत्याउँदैनन् तर जनता जागेपछि उनीहरुले नपत्याउदाँ नपत्याउँदैपनि गद्दी खोसिदिन्छन् । राज्य उल्टिन्छ । राज्य उल्टेपछि उनीहरुले १० गुणा बढी शक्ति लगाएर राज्य फिर्ता ल्याउन लागिपर्छन् , प्रचण्डको भनाई छ ।

एक फरक प्रशंगमा अध्यक्ष प्रचण्डले वुद्ध नेपालमा जन्मेका हुन भन्ने आँट हिजोका राजा महाराजाहरुले गर्न नसकेको बताउनुभयो । बुद्ध भारतमा जन्मेका हुन भनेर युरोपका देशहरुले आफ्नो पाठ्यक्रमहरुमा लेखेको भएपनि अहिले अभियान नै चलाएर बदल्ने काम सुरु भएको उहाको भनाई थियो । नेपालमा रहेका ऐतिहासिक र पौराणिक कुराहरुको संरक्षण गर्न काम सरकारले गरिरहेको प्रचण्डले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू