अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४१ | Colorodo: 10:56

कश्मीरमा मारिएका नेपाली नागरिक अर्जुनको सैनिक सम्मानसहित अन्त्येष्टि

बिआरटीनेपाल २०७६ पुष १८ गते ७:१२ मा प्रकाशित

भारतको जम्मू–कश्मीरमा आतंकवादी हमलामा मारिएका भारतीय सेनामा कार्यरत नेपाली नागरिक अर्जुन थापामगरको शुक्रबार भारतकै पश्चिम बंगालस्थित बागडोगरा सैनिक क्याम्प परिसरमा उच्च सम्मानका साथ अन्त्येष्टि गरिएको छ । राइफलम्यान मगरको शव भारतीय सेनाको विशेष जहाजबाट बिहीबार साढे ४ बजे बागडोगरा ल्याइएको थियो। मगरका बुवा प्रेमबहादुर र श्रीमती सरिता लगायतका परिवार बिहीबारै बागडोगरा क्याम्पमा पुगेका थिए।

बागडोगराको व्याङडुब्बी सैनिक टुकडीले करिव ५ सय मिटर शवयात्रा गरेको थियो। शवयात्रापछि भारतीय सेनाका ब्रिगेडियर अविश यादव र मेजर जेनेरल अरुणकुमार गुप्ताले मगरको शवमा माल्यार्पण गरेका थिए। मेजर जेनेरल गुप्ताले मगरको शवमा ओडाइएको भारतको राष्ट्रिय झण्डा अर्जुनका बुवा प्रेमबहादुर र श्रीमती सरितालाई हस्तान्तरण गरेका थिए।

७० वर्षीय प्रेमबहादुरले छोराको शवमा दागबत्ती दिनुभयो । सैनिकले मगरको सम्मानमा सलामी पनि दिएका थिए । गत बुधबार जम्मू–कश्मीरको रजौरी जिल्लाको सीमा क्षेत्र नौशेरामा भएको झडपमा भारतीय सेनामा कार्यरत २५ वर्षीय अर्जुन थापामगर र भारतीय नागरिक सावन्त सन्दीप रघुनाथको मृत्यु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू