अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४३ | Colorodo: 19:58

गुरुङ समुदायको नयाँ वर्ष ल्होसार देशभर मनाइयो

बिआरटीनेपाल २०७६ पुष १५ गते ८:३४ मा प्रकाशित

गुरुङ समुदायको नयाँ वर्ष ल्होसार आज देश तथा विदेशमा हर्षोल्हासपुर्वक मनाईएको छ । बिशेषतः गुरुङ समुदायले आजको दिनलाई पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्ने दिनको रुपमा मनाउँछन् । यसवर्ष मृग वर्षलाई बिदाइ गरी मुसा वर्षलाई स्वागत गरिएको छ ।

गुरुङ समुदायले वर्ष गणनाका लागि १२ वटा जनावरको नाम राखेका छन् । जसमा मुसा, गाई, बाघ, बिरालो, सुगा, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मृग छन् । तमु ल्होसारका अवसरमा सरकारले सम्बन्धित जातिलाई मात्र विदा दिने गरेको छ । तर गण्डकी प्रदेश सरकार र केही स्थानीय तहले आफ्नो क्षेत्रमा सार्वजनिक विदा दिएका छन् ।

पोखरामा विविध कार्यक्रमको आयोजना गरी ल्होसार मनाईएको छ भने काठमाडौंमा रहेका गुरुङ समुदायले टुँडिखेलमा भेला भई ल्होसार मनाएका छन् । राजधानीमा ल्होसारका अवसरमा आइतबारदेखि नै विभिन्न कार्यक्रम गरिरहेका छन । ल्होसारको अवसरमा आज गुरुङ समुदायले आफ्नो भेषभूषामा टुँडिखेल वरपर र्याली समेत निकालेका थिए । कार्यक्रममा परम्परागत बाजागाजा बजाउनुका साथै घरायसी सामग्री पनि प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू