अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२४ | Colorodo: 21:39

न्यु योर्कमा च्यू ल्होसार सम्पन्न

अनडकुमेन्टेड इमिग्रेन्टले सेन्सस २०२० मा भाग लिनु कानुनी रूपमा सुरक्षित: पुष्पराज भट्टराई

बिआरटीनेपाल २०७६ पुष १४ गते ९:१३ मा प्रकाशित

अनडकुमेन्टेड इमिग्रेन्टले सेन्सस २०२० मा भाग लिनु कानुनी रूपमा सुरक्षित: पुष्पराज भट्टराई

न्यु योर्क । गुरुङ (तमु) सोसाइटी अमेरिकाले गुरुङ तमु जातिको महान् पर्व ल्होछार २०७६ विभिन्न सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न गरेको छ । यो वर्ष मृग वर्ग अर्थात् फो ल्होको बिदाइ र मुसा वर्ग अर्थात् च्यु ल्होको स्वागतमा ल्होछार मनाइएको हो ।

कार्यक्रममा एक्टिङ कन्सुल जनरल पुष्पराज भट्टराईले कागजात विहीन नेपाली आप्रवासीले पनि अमेरिकी जनगणना २०२० मा भाग लिँदा हुने बताए । ‘अमेरिकाको कानुन अनुसार जनगणनामा सङ्कलित व्यक्तिगत विवरण जनगणना गर्ने निकायले ७५ वर्षसम्म अन्य निकायलाई दिन मिल्दैन,’ उनले भने, ‘कागजात छैन भने पनि जनगणनामा भाग लिँदा असुरक्षा हुँदैन ।’ उनले भिजिट नेपाल २०२० सफल पार्न सबै नेपालीलाई आह्वान गरे ।

कार्यक्रममा नन रेजिडेन्ट नेपाली एसोसिएसन नेशनल को अर्डिनेसन काउन्सिल, युएसए (एनआरएन एनसिसी युएसए) का नर्थ इस्ट भाइस प्रेसिडेन्ट बिआर लामाले अमेरिकी जनगणना २०२० मा सबै नेपालीलाई भाग लिन आग्रह गरे । उनले भिजिट नेपाल २०२० सफल पारि देश सेवा गर्न सबै नेपालीले आफ्नो तर्फबाट प्रचार प्रसार गर्नुपर्ने बताए ।

आदिवासी जनजाति महासङ्घका अध्यक्ष लोक चेम्जोङले नेपालको संविधान आदिवासी जनजातिका सवालमा अझ पनि विभेदकारी रहेको बताउँदै त्यसलाई संशोधन गर्न माग गरे । एनआरएन एनसिसी न्यु योर्क च्याप्टर अध्यक्ष जनगणना २०२० माका फारममा सबै नेपालीलाई जातको ठाउँमा नेपाली लेख्न आग्रह गरे । ‘हामी सबैले जातको ठाउँमा गुरुङ, मगर, अधिकारी आदि नलेखेर नेपाली लेख्यौँ भने अमेरिकामा यति नेपाली छन् भन्ने सङ्ख्या आउँछ,’ उनले भने, ‘त्यसका आधारमा अमेरिकी सरकारले समुदायका लागि पनि बजेट बनाउँछ ।’

कार्यक्रममा सोसाइटीका अध्यक्ष विजय गुरुङले संस्थाको इतिहास उल्लेख गर्दै यसले गुरुङ जातिको संस्कार संस्कृति जगेर्ना गर्न खेलेको भूमिकाबारे बताए । उनले सोसाइटीले आयोजना गरेको कार्यक्रममा आफ्ना बालबालिका ल्याइदिन अनुरोध गरे ।

ल्होको अर्थ वर्ग (वर्ष) र छारको अर्थ नयाँ हुने भएकोले ल्होछारलाई गुरुङहरूले नयाँ वर्षको रूपमा मनाउने चलन छ । तमु जातिले वर्गको आधारमा उमेर गणना गर्छन् ।

सोसाइटीले आफ्नो रीतिरिवाज, धर्म, संस्कारलाई जीवित राख्न र पुस्तान्तरणको लागी सन् २००१ मा न्यु योर्क सिटीमा विधिवत् रूपमा संस्था दर्ता गरी हरेक वर्ष पौष १५ मा ल्होछारलाई विशेष पर्वको रूपमा मनाउँदै आइरहेको छ ।

सोसाइटीले सम्पूर्ण गुरुङहरू एकजुट हौँ, संस्कार र संस्कृतिको जगेर्ना गरौँ भन्ने मूल नाराका साथ न्यूयोर्कमा ल्होछार पर्व मनाउँदै आएको छ । गुरुङ जातिले विभिन्न १२ ओटा जीव जन्तुहरूको चक्रलाई आधार मानेर प्रत्येक वर्ष नयाँ वर्षको रूपमा ल्होछार मनाउने गरेको गुरुङ तमु समाजका अध्यक्ष विजय गुरुङले जानकारी दिए । ल्होछार पर्वले, गुरुङहरूको संस्कृतिलाई जगेर्ना गर्न, र प्रवर्धन गर्न तथा गुरुङ संस्कृतिलाई अन्तराष्ट्र्रियस्तरमा चिनाउन पनि बर्सेनि तमु ल्होछार मनाउँदै आएको सोसाइटीले जनाएको छ । कार्यक्रममा गुरुङ (तमु) हरूको संस्कृति झल्किने सोरठी, कौडा, तथा गुरुङ आमा समूहको भेषभुषाको विशेष प्रस्तुति, स्थानीय कलाकारहरूको गीत, नृत्य तथा विविध सांस्कृतिक प्रस्तुति रहेको थियो ।

प्रतिक्रिया