अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२३ | Colorodo: 02:38

पोखराको हिमा गृह रिसोर्ट होइन, पर्यटकीय गन्तव्यको रुपमा खुल्छ – पर्यटनमन्त्री भट्टराई

बिआरटीनेपाल २०७६ पुष १२ गते ८:२२ मा प्रकाशित

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पोखरामा अवस्थित हिमा गृह पर्यटकीय गन्तव्यकै रुपमा खुला गरिने बताउनुभएको छ । यसअघि गोकर्ण फरेष्ट रिसोर्ट यति समूहलाई दिने निर्णय गरेको सरकारले पोखराको हिमा गृह पनि रिसोर्ट बनाउन निजी क्षेत्रलाई दिने तयारी गरेको खबरले पोखरेली झस्किएका बेला पर्यटनमन्त्री भट्टराईले हल्लाको पनि नलाग्न आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासंघ कास्कीले गरेको पत्रकार सम्मेलनमा भट्टराईले हिमा गृहलाई पर्यटकीय गन्तव्यका रुपमा उपयोग गर्न उपयुक्त हुन्छ भनेर नेपाल ट्रष्टलाई पर्यटनमन्त्रालयले पत्राचार गरिसकेको भट्टराईले बताउनुभयो । गोकर्ण फरेष्ट रिसोर्टको सम्झौता झण्डै ६ वर्ष बाँकी छँदै अर्को २५ वर्षका लागि यति समूहलाई दिने निर्णयको बचाउ गर्न नेपाल ट्रष्टको कार्यालयले हिजो आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यकारी सचिव गजेन्द्रकुमार ठाकुरले हिमा गृह पनि रिसोर्ट चलाउन निजी क्षेत्रलाई दिन लागिएको बताउनुभएको थियो ।

तर, मन्त्री भट्टराईले भने कुनै व्यक्तिको हल्लाको पछि नलाग्न आग्रह गर्नुभयो । विभिन्न सार्वजनिक सम्पत्ति कानुनअनुसार लिजमा दिन भने सकिने पर्यटनमन्त्री भट्टराईले बताउनुभयो । २०७३ सालमा यतिलाई दिने निर्णय गरेको सरकारविरुद्ध आन्दोलन गरेर योजना बिफल बनाएका पोखरेली फेरि आन्दोलनको तयारीमा थिए ।

फेवा किनारमा रहेका रत्न मन्दिर र हिमा गृह तत्कालीन राजा महेन्द्रदेखि ज्ञानेन्द्रसम्मका रोजाइको थलो थियो । पोखरा आउँदा राजपरिवारको बास रत्नमन्दिर र हिमागृहमा हुन्थ्यो । ज्ञानेन्द्र शाहले २०५८ जेठ १९ को रात रत्नमन्दिरमा बिताउनुभएको थियो । २०६२÷६३ को जनआन्दोलनपछि वीरेन्द्रको नाममा रहेको रत्नमन्दिर र हिमा गृह नेपाल ट्रष्टको मातहतमा आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू