अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५४ | Colorodo: 21:09

नेपाल भ्रमण बर्ष सफल पार्न सहयोगका लागि ३१ देशका राजदुत तयार

बिआरटीनेपाल २०७६ मंसिर १८ गते ३:५४ मा प्रकाशित

नेपालस्थित कुटनीतिक नियोगका प्रमुखहरुले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न आफूहरुले पुर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले आज मन्त्रालयमै आयोजना गर्नुभएको छलफलमा सहभागी ३१ देशका राजदुतहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

नेपाल भ्रमण बर्षलाई सफल पार्न सहयोगको अपिलसहित मन्त्री भट्टराईले आज छलफल आयोजना गर्नुभएको थियो । सो छलफलमा नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले नेपाल भ्रमण गर्ने पर्यटनहरुमा चीन दोस्रो रहेको भन्नुहुदै नेपाल भ्रमण वर्ष सफल बनाउनका लागि सहयोग र साथको प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाल भ्रमण वर्ष–२०२० सफल बनाउनका लागि प्रबद्र्धनका लागि हाम्रो साथ र सहयोग रहनेछ ।’ उहाँले नेपालका अन्तराष्ट्रिय विमानस्थलहरु चिनियाँ कम्पनीहरुले निर्माण गरिरहेको भन्दै चिनियाँ कम्पनीहरुले गुणस्तरीय काम सहित समयमै निर्माण सम्पन्न गर्ने जानकारी बताउनुभयो ।

नेपालका लागि अमेरिकी राजदुत र्याण्डी डब्लू बेरीले नेपाल भ्रमण वर्षसँग सम्बन्धित प्रचार सामाग्री उपलब्ध गराए ती सामाग्री आफ्नो देशमा पठाएर भ्रमण वर्ष सफल बनाउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यस्तै, अष्ट्रेलियाका राजदुत पिटर ग्रेम बड, जर्मनीका राजदुत रोलाण्ड साफर, जापानका राजदुत मासाभिची साइगो, संयुक्त राष्ट्रसंघका आवसीय संयोजक भ्यालरी जुलिया, युरोपियन युनियनका प्रमुख भेरोनिका काडी लगायतले पनि भ्रमण वर्ष सफल बनाउन आफ्नो ठाऊँबाट सक्दो सहयोग गर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू