अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०८ | Colorodo: 19:23

ट्रम्पमाथि महाअभियोग लगाउन पर्याप्त प्रमाण–प्रतिवेदन

बिआरटीनेपाल २०७६ मंसिर १८ गते ३:०६ मा प्रकाशित

पदमा रहेर गैरकानूनी काम गरेको आरोपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउनका लागि पर्याप्त प्रमाण रहेको महाअभियोग लगाउने सम्बन्धी अनुसन्धानको नेतृत्व गरिरहेको प्यानलले बताएको छ । महाअभियोग लगाउने सम्बन्धी अनुसन्धान गरिरहेको अमेरिकी तल्लो सदनका समितिले तयार पारेको प्रतिवेदनमा राष्ट्रपति ट्रम्पले अमेरिकाको राष्ट्रिय स्वार्थ भन्दा माथि आफ्नो व्यक्तिगत राजनीतिक स्वार्थलाई स्थान दिएको उल्लेख छ ।

राष्ट्रपति ट्रम्पले आउँदो वर्ष अर्थात सन् २०२० मा हुने राष्ट्रपति चुनावमा आफू पुनः निर्वाचित हुने पक्षमा सहयोग गर्नका लागि युक्रेनलाई महिनौँदेखि आग्रह गरेको सो प्रतिवेदनमा उल्लेख छ । ट्रम्पले आफ्नो व्यक्तिगत स्वार्थका लागि विदेशी शक्तिलाई अमेरिकाको आन्तरिक राजनीतिमा अवैध तवरले प्रभावित पार्न आग्रह गरेको प्रतिवेदनमा उल्लेख गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

ट्रम्पले भने आफूले कुनै पनि किसिमले गैरकानूनी गतिविधि नगरेको बताउँदै आउनुभएको छ । अनुसन्धान सम्बन्धी ड्राफ्ट प्रतिवेदन सार्वजनिक हुनु अघि राष्ट्रपति ट्रम्पले डेमोक्रेटिक पार्टीको नेतृत्वमा भइरहेको अनुसन्धानको आलोचना गर्नुभएको थियो । उहाँले अनुसन्धालाई ‘अति अराष्ट्रवादी’ को संज्ञा दिनुभएको छ ।

रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार बनेका ट्रम्प सन् २०१६ मा डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गर्दै राष्ट्रपति बन्नुभएको हो । प्रतिवेदन सार्वजनिक भएपछि ह्वाइट हाउसका प्रवक्ताले प्रतिवेदनमा राष्ट्रपति ट्रम्पले कुनै गलत गरेको भन्ने देखाउने प्रमाण नरहेको र त्यसले उनीहरुको कुण्ठा मात्रै झल्काउने बताएका छन् ।

ट्रम्पमाथि शक्तिको दुरुपयोग, न्याय प्रक्रियामा अवरोध र सदनलाई बेवास्ता वा निन्दा गरेको सहितका आरोपमा महाअभियोगको लगाउने तयारी छ । राष्ट्रपति ट्रम्पले निहित स्वार्थ या शर्त राखेर युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोकेको आरोप छ। त्यसकै लागि अनुसन्धान भइरहेको हो । राजनीतिक स्वार्थका लागि विदेशी शक्तिको सहयोग खोज्नु अमेरिकामा गैरकानूनी मानिन्छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू