अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०९ | Colorodo: 07:24

नेपालगन्ज विमानस्थललाई अत्याधुनिक बनाउँछौँ : मन्त्री भट्टराई

बिआरटीनेपाल २०७६ मंसिर ७ गते ९:४१ मा प्रकाशित

नेपालगन्ज, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आगामी पाँच वर्ष भित्र नेपालगन्ज विमानस्थललाई अत्याधुनिक र सुविधा सम्पन्न बनाइने बताएका छन् ।

नेपालगन्ज उद्योग वाणिज्य सङ्घको २८ औँ साधारण सभाको उद्घाटन गर्दै उनले अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा विकास गर्न नेपालगन्ज विमानस्थलमा पाँच वर्षमा रु १५ अर्व बजेट खर्च गर्ने सरकारको लक्ष्य रहेको बताएका हुन ।

मन्त्री भट्टराईले सुविधा सम्पन्न बनाएर यहाँबाट अन्तर्राष्ट्रिय उडानका लागि मन्त्रालयले कार्य योजना अघि बढाएको बताए । उनले भने, “अन्तर्राष्ट्रिय उडानका लागि हामी प्रतिबद्ध छौँ, तर हाम्रो चाहानाले मात्रै सम्भव हुँदैन । यसका लागि पहल भइरहेको छ ।”

“भारतीय उड्डयन प्राधिकरणसँग यस विषयमा नेपालगन्ज–लखनउ र नेपालगन्ज–नयाँ दिल्ली उडानका लागि छलफल भइरहेको छ”, उनले थपे, “दुई देशको आपसी सहमतिका आधारमा हवाई रुट निर्धारण हुन्छ । हामीले नेपालगन्ज र महेन्द्रनगर नाकाबाट उडानको अनुमति मागिरहेका छौँ । भारतीय पक्ष यसमा केही सकारात्मक देखिएको छ ।”

मन्त्री भट्टराईले भारतीय उड्डयन प्राधिकरणसँग कूटनीतिक पहल भइरहेकाले यस विषयले छिट्टै सफलता पाउने विश्वास व्यक्त गरे । “अन्तर्राष्ट्रिय उडानका लागिका लागि हामीसँग पनि भन्सार, राजस्व, सुरक्षालगायतका कार्यालय थप गर्नुपर्छ । हामीले हाम्रोतर्फबाट यी कामलाई पूर्णता दिनुछ । यसले अन्तर्राष्ट्रिय उडानमा थप सहजता ल्याउनेछ”, उनले भने ।

नेपाली वायुसेवा कम्पनीले लिइरहेको दोहोरो भाडा दरको समेत अन्त्य गरिने मन्त्री भट्टराईले बताए । “निजी विमान कम्पनीले लिइरहेको दोहोरो भाडा दर हटाउने विषयमा छलफल भइरहेको छ । हामीले विमान सञ्चालक कम्पनीसँग पटक पटक छलफल गरिसकेका छौँ । यसमा हामी केही सहमति नजिक पनि छौँ, सहमतिमै यसलाई हटाउँछौँ”, उनले भने ।

फोटो: योगेश भट्टराई फेसबुकबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू