अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२६ | Colorodo: 22:41

नेपथ्यको अस्ट्रेलियामा कन्सर्ट सम्पन्न

बिआरटीनेपाल २०७६ मंसिर ४ गते २३:२३ मा प्रकाशित

अस्ट्रेलिया, काठमाडौँको एउटा रात्रि क्लबमा पूर्वराजाले नृत्य गरेको गीत ‘रातो र चन्द्रसुर्जे’ नेपाली समुदायका बिच थप चर्चित भइरहेकै बेला त्यसलाई झन्डै डेढ दशकदेखि गाउँदै आएको नेपथ्यले ब्रिसबेनमा सुनाउँदा यताका दर्शक पनि उत्तिकै उत्साहित बने। ब्यान्डको यस वर्ष शृंखलावद्ध अस्ट्रेलिया यात्राको प्रथम बिन्दु ब्रिसबेनमा मङ्गलवार नेपथ्यको कन्सर्ट आयोजना भयो। अस्ट्रेलियाको तेस्रो ठुलो सहरमा नेपथ्यको यो चौथो प्रस्तुति हो। एक दशक अघिसम्म मुस्किलले हजार नेपाली बसोबास गर्ने यो सहरलाई अध्ययन, रोजगारी तथा बसोबासका निम्ति छनोट गर्नेहरू बढ्दै गएका छन्। सहरकै नयाँ साजसज्जासहित खुलेको ‘फोर्टिच्युड म्युजिक हल’ को क्षमता भरिने गरी दुई हजारभन्दा बढी दर्शक कार्यक्रममा अटाएका थिए।

‘ब्रिसबेनमा नेपाली कलाकारको यो आजसम्मकै ठुलो मात्र होइन सबैभन्दा व्यवस्थित प्रस्तुति पनि बन्न पुगेको छ’, आयोजक संस्था ‘माउन्ट ८८४८ इभेन्ट्स’ का टोली सदस्य सुनिल बस्नेत भन्छन्, ‘यो सहरमा जति सङ्ख्यामा नेपालीको बसोबास छ त्यस हिसाबले यतिको दर्शक जुट्नु ठुलो सफलता हो।’ सबै पुस्ताका दर्शकले भरिएको हलमा वृद्ध बा आमादेखि साना केटाकेटीसम्म लिएर आउनेको सङ्ख्या उल्लेख्य थियो। ‘सङ्गीतले कसरी फरक फरक मानिसलाई एकै ठाउँमा ल्याएर जोड्दो रहेछ भन्ने यसले साबित गरिदिएको छ’, उनले आफ्नो अनुभवसहित थपे, ‘धेरै नेपाली कार्यक्रम आयोजना गर्दै आएको भए पनि सबैलाई एक ठाउँमा जोड्न सक्ने हिसाबले चाहिँ नेपथ्य साँचो अर्थमै नेपालीबिच एकताको दूत बन्दै गएको पाएँ।’

मङ्गलवार ब्रिसबेनको प्रस्तुतिसँगै नेपथ्यले अस्ट्रेलियामा सुरु गरेको यात्राको ६ वटा प्रस्तुतिमध्ये पहिलो कार्यक्रम सम्पन्न गरेको हो। ‘भेडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो’, ‘लाम्पाते सुरती’, ‘चरी मर्‍यो’, ‘जोमसोमे बजारमा’ जस्ता एकपछि अर्को सर्वकालिक हिट गीत प्रस्तुत गर्दागर्दै नेपथ्यका अगुवा गायक अमृत भनिरहेका थिए, ‘हाम्रा लोकगीतले नचाउने काम मात्र नगरेर नेपाली समाजकै गम्भीर सन्देश र दर्शन पनि बोकेका हुन्छन्।’

कन्सर्ट अवधिमा उनले विदेशमा सबै नेपाली मिलेर बस्न र आइपरेका बेला एकले अर्कालाई साथ दिन अनुरोध पनि गरे। कार्यक्रममा ‘यो जिन्दगानी’, ‘रेसम’ र ‘तालको पानी’ जस्ता गीत बज्दा सधैँजस्तै श्रोता दर्शक चरम आनन्दमा पुगेका थिए। त्यसै गरी नयाँ एल्बमबाट नेपथ्यले ‘नैना ताल’ सुनाउँदा यहाँका श्रोता दर्शक असाध्यै रमाएका देखिन्थे। विश्वयुद्ध लड्न भारतीय गोर्खा फौजमा गएका लाहुरेहरूले उति बेला बनाएको यो गीतलाई गायक अमृतले आफ्ना पूर्वजबाट सुनेको अनुभवबाटै निखारेर प्रस्तुत गरेका हुन्। कार्यक्रमको अन्त्य भने ‘रातो र चन्द्रसुर्जे’ बाट गरिएको थियो।

‘सबै उमेर र वर्गका दर्शकलाई यसरी एकै ठाउँमा आएर नेपाली सङ्गीतमा रमाएको देख्दा गौरव महसुस भइरहेको छ’, अमृतले भने, ‘तपाईँहरूको यो साथ र माया को निम्ति म धन्यवाद दिन चाहन्छु।’ नेपथ्यको अस्ट्रेलिया शृंखलालाई सिड्नी स्थित ‘नेपाली टच’ ले संयोजन गरिरहेको छ भने ब्रिसबेनको कार्यक्रम ‘माउन्ट ८८४८ इभेन्ट्स’ ले आयोजना गरेको थियो।

टोलीले अबको यात्रा डार्बिनतर्फ गर्नेछ, जहाँ नोभेम्बरको २२ तारिख नेपथ्य घन्किनेछ। त्यहाँ स्थित स्थानीय आयोजक ‘गोर्खा पल्टन’ ले नेपथ्यलाई शुक्रवार बेलुकी ‘इटालियन क्लब’ मा उपस्थित गराउँदै छ। अस्ट्रेलियाको ६ वटा राज्यमा साङ्गीतिक यात्रा गर्ने नेपथ्यले यस पाला आफूलाई यस मुलुककै फरक द्वीपमा उभिएको राज्य तासमानियाको राजधानी होबार्टमा समेत पहिलो पटक उभ्याउँदै छ। यो यात्राको अन्त्य डिसेम्बर २३ तारिख मेलबर्नको क्राउन स्थित ‘पाल्म्स’ मा पुगेर हुनेछ। ब्यान्ड र व्यवस्थापनको १२ सदस्यीय टोलीमध्ये मञ्चमा भने गायक अमृतलाई सधंैजस्तै ड्रम सेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा नीरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाउँदै छन्। यो समाचार अन्नपूर्ण पोस्टमा छापिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू