अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०३ | Colorodo: 08:18

रोहिंग्यामाथिको दमनमा म्यानमार छिर्यो अन्तर्राष्ट्रिय फौजदारी अदालत, नरसंहारको अनुसन्धान गरिने

बिआरटीनेपाल २०७६ कार्तिक २९ गते ८:२९ मा प्रकाशित

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसीसी)ले म्यानमारमा अल्पसंख्यक मुस्लिम समुदाय रोहिंग्यामाथि गरिएको दमनको अनुसन्धान गर्ने भएको छ । नेदरल्याण्डको हेगमा मुख्यालय रहेको आइसीसीले रोहिंग्या समुदायमाथि भएको दमन र मानवताविरूद्धको अपराधबारे विस्तृत अनुसन्धान गरिनुपर्ने अभियोजनकर्ताको प्रस्तावलाई बिहीबार स्वीकृत गरेको हो ।

अदालतको निर्णयमा भनिएको छ, “आइसीसीको क्षेत्राधिकारभित्र रहेर म्यानमारमाथि लागेको आरोपबारे छानबिन गर्न अभियोजनकर्तालाई अधिकार दिइएको छ” । म्यानमार आइसीसीको सदस्य राष्ट्र नभए पनि रोहिंग्या शरण लिइरहेको देश बंगलादेश आईसीसी सदस्य राष्ट्र भएकाले रोहिंग्याबारे अनुसन्धान गर्नु आफ्नो क्षेत्राधिकारमा पर्ने निर्णय अदालतले यसअघि नै गरिसकेको छ ।

अनुसन्धान मूलतः राज्यद्वारा गरिएको संरचनात्मक हिंसा, देश निकाला र रोहिंग्याविरूद्धको जातीय र धार्मिक भेदभावका विषयमा केन्द्रित रहने जनाइएको छ । म्यानमारमा जातीय नरसंहार भएको भन्दै गत साता ५७ वटा इस्लामिक देशको तर्फबाट अफ्रिकी मुलुक गाम्बियाले संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय न्यायालयमा मुद्दा हालेको थियो ।

सन् २०१७ मा म्यानमारको सेनाले अल्पसंख्यक मुस्लिम समुदाय रोहिंग्यामाथि दमन गर्दा कयौंको ज्इान गएको थियो भने लाखौं बंगलादेशमा शरण लिइरहेका छन् । संयुक्त राष्ट्र संघीय पर्यवेक्षकले रोहिंग्यामाथि जातीय नरसंहार भएको प्रतिवेदन दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू