अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२५ | Colorodo: 17:40

भारतले सार्वजनिक गरेको नक्सा विरुद्ध दूतावास अगाडि अनेरास्ववियुको प्रदर्शन

बिआरटीनेपाल २०७६ कार्तिक २२ गते ७:२७ मा प्रकाशित

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुले भारतले कालापानी, लिपुलेक लगायतको नेपाली भूमिलाई आफ्नो नयाँ नक्सामा समावेश गरेको विरोधमा भारतीय राजदूतावास अगाडि प्रदर्शन गरेको छ । आज बिहान ११ बजेदेखि १२ बजेसम्म १ घण्टा विद्यार्थीहरुले लैनचौरस्थित भारतीय दूतावास धर्ना दिनुका साथै प्रदर्शन गरेका हुन् । अस्कल क्याम्पसबाट सुरु भएको जुलुस लैनचौर पुगी एक घण्टाको धर्नापछि कोणसभामा परिणत भएको थियो ।

अनेरास्ववियुका सचिब आरसी लामिछानेले भारतले नेपाली भूमि समेत आफ्नो बनाइ सार्वजनिक गरेको नक्साको बिरोधमा निरन्तर आन्दोलन गर्ने जानकारी दिनुभयो । सचिब लामिछानेका अनुसार अनेरास्वियुले पर्सि आइतबार परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीलाइ भेटेर ध्यानाकर्षण पत्र बुझाउने छ भने त्यसको भोलीपल्ट संयुक्त राष्ट्रसंघको नेपाल स्थित कार्यालयलाइ पनि ध्यानाकर्षण पत्र बुझाउने छ । राष्ट्रियताको मुद्धामा सबै एकै ठाउँमा उभिनुपर्ने आवश्यकता भएकाले नेपाल विद्यार्थी संघ लगाएत अन्य दलका विद्यार्थी संगठन संग मिलेर संयुक्त आन्दोलन गर्ने बारेमा पनि छलफल भइरहेको नेता लामिछानेले बताउनुभयो ।

धर्नामा रहेका विद्यार्थीहरुले ‘गो ब्याक इन्डिया’, ‘लिपुलेक र कालापानी हाम्रै हो’, ‘नेपालको भूमि मिच्न दिँदैनौँ’, ‘भारतीय विस्तारबाद मूर्दावाद’ लगायतका नारा लगाएका थिए । आन्दोलनमा विद्यार्थी नेताहरुले नेपालको भूमि एक इन्च पनि मिच्न नदिने भन्दै सीमा मिचिएको विषयलाई अन्तराष्ट्रियकरण गर्ने चेतावनी दिएका छन् । यसैबीच, आजै प्रतिपक्षी नेपाली काँग्रेसको विद्यार्थी संगठन नेविसंधले पनि दूतावास अगाडि विरोध प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू