अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४१ | Colorodo: 21:56

भारतले जारी गरेको नक्सा नेपाललाई मान्य छैन– अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७६ कार्तिक २१ गते ८:२९ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतले जारी गरेको नक्सा स्वीकार्य नभएको बताउनुभएको छ । पोखरामा बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भारतले सार्वजनिक गरेको नक्सा मान्य नहुने बताउनुभएको हो ।

लिपुलेकबारे भारत र चीनबीच सहमति भयो भनेर आउँदा आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग त्यो गलत रहेकोले पुनर्विचार गरिनुपर्छ भनेको स्मरण गर्दै उहाँले कालापानी लगायत सबै नक्साभित्र पारि सकेपछि यो नेपाललाई सैह्य हुन नसक्ने स्पष्ट पार्नुभयो । भारतको नक्सामा नेपालको गम्भीर आपत्ति रहेको भन्दै अध्यक्ष प्रचण्डले यसबारे सरकार पनि बोलिसकेको उल्लेख गर्नुभयो ।

नेपालको भौगोलिक अखण्डताबारे सिङ्गो राष्ट्र एक ठाउँमा उभिने भन्दै उहाँले राष्ट्रिय अखण्डता, सार्वभौमसत्तामा कहि कतै सम्झौता गर्ने, लचिलो हुने भन्ने सवाल नै नरहेको बताउनुभयो । सरकारले पनि भारतीय नक्सा स्वीकार्य छैन भनिसकेकाले अब दुई देशबीच संवाद हुने उहाको भनाई थियो ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष प्रचण्डले उपनिर्वाचनबाट नेपाल कम्युनिष्ट पार्टी अझ बढी लोकप्रिय भएर अगाडी बढेको छ भन्ने सन्देश दिनुपर्ने बताउनुभयो । कास्की २ बाट पार्टीको उम्मेदवारलाई विजयी बनाई पार्टी एकढिक्का छ भन्ने उदाहरण दिनसके देशभर नयाँ सन्देश जाने समेत उहाको दावी थियो । निर्वाचनको मिसन सुरु भइसकेकाले निर्वाचन सम्पन्न नभएसम्म एकढिक्का भएर रातदिन खट्न कार्यकर्तालाई प्रचण्डले निर्देशन समेत दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू