अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५८ | Colorodo: 06:13

बिहीवार उपनिर्वाचनको मनोनयन दर्ता गरिदै

बिआरटीनेपाल २०७६ कार्तिक २० गते ७:१६ मा प्रकाशित

आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य उपनिर्वाचनको उम्मेदवारी मनोनयन दर्ता बिहीबार (भोली) हुने भएको छ । निर्वाचन आयोगले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य उपनिर्वाचनको उम्मेदवारी मनोनयन कार्तिक २१ गते बिहीबार हुने जानकारी गराएको हो।

कार्तिक २१ गते बिहीबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन हुनेसहितको कार्यतालिका सार्वजनिक गरिएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । ती उम्मेदवारहरुको अन्तिम नामावली भने कार्तिक २४ गते प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ।

सो उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्य–३ तथा स्थानीय तह प्रमुख–१ लगायत ३७ जिल्लाका ५२ स्थानहरुमा मतदान हुँदैछ। आयोगका प्रवक्ता श्रेष्ठले स्थानीय तहको उपनिर्वाचनका लागि भने उम्मेदवारी मनोनयन आगामी कार्तिक २७ गते हुने पनि बताउनुभयो ।

निर्वाचन आयोगले उपनिर्वाचनका लागि २ सय ४७ वटा मतदानस्थल र ५ सय ३७ वटा मतदान केन्द्र पनि तोकेको छ। आयोगका प्रवक्ता श्रेष्ठले मतदानमा भाग लिनका लागि मतदाता परिचय पत्र लिएर आउन पनि आम मतदातालाई आह्वान गर्नुभएको छ ।

४ लाख ५४ हजार ११४ जना मतदाताले सो उपनिर्वाचनमा भाग लिनेछन्। निर्वाचन आयोगले उपनिर्वाचन प्रयोजनका लागि आगामी मंसीर ५ गतेदेखि ११ गतेसम्म मतदाता शिक्षा कार्यक्रम पनि सञ्चालन गर्ने कार्य योजना तय गरिएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू