अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३३ | Colorodo: 18:48

भ्रमण वर्ष २०२० मा पर्यटकलाई बिषेश छुट

बिआरटीनेपाल २०७६ कार्तिक १५ गते ९:३२ मा प्रकाशित

‘भ्रमण वर्ष–२०२०’ मा बाह्य तथा आन्तरिक पर्यटकलाई देशभरका घरवास (होमस्टे) ले खाना र आवासका लागि २० प्रतिशत छुट दिने भएका छन्। होमस्टे एशोसिएसन नेपाल (होसान)ले भ्रमण वर्ष सफल बनाउने सरकारको अभियानमा साथ दिन तथा घरवासलाई प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटकलाई खाना र आवासका लागि २० प्रतिशत छुट दिने निर्णय गरेको हो। होसानका अध्यक्ष केशवप्रसाद बडालले विदेशमा रहेका नेपालीलाई सम्बन्धित देशबाट नेपालमा भ्रमण वर्ष मनाउन तथा नेपालका उत्कृष्ट पर्यटकीय गन्तव्य पुग्नका लागि पर्यटक पठाउन अनुरोधसमेत गरिएको समेत बताउनुभयो । होसानका अनुसार हाल देशका ५७ जिल्लामा घरवास सञ्चालनमा छन्।

होसानले घरवासमा आउने पर्यटकका लागि उपलब्ध भएसम्म प्रत्येक साँझ सांस्कृतिक कार्यक्रमले मनोरञ्जन दिने कार्यक्रम तय गरेको छ। पर्यटकलाई आकर्षित गर्न स्थानीय कृषि उपजलाई नै होमस्टेमा प्रयोग गरिनेछ। व्यवस्थित एवं स्वस्थकर परिकारको सेवा दिलाउन देशभरका निजी तथा सामुदायिक घरवास पर्यटनको अनुगमन गरिने भएको छ। केहीले स्वीकृति पाएभन्दा बढी कोठा राख्ने, पाहुनालाई अव्यवस्थितरूपमा राख्ने र घरवास पर्यटनको स्वीकृति लिई सोही आवरणमा होटल चलाउने पाइएकाले भ्रमण वर्ष लक्षित गर्दै अनुगमन गर्न आवश्यक रहेको अध्यक्ष बडालले बताउनुभयो ।

सरकारले जारी गरेको होमस्टे सञ्चालन कार्यबिधी–२०७३ अनुसार तत्कालै अनुगमन थालिने योजना होसानले बनाएको छ। ग्रामीण भेगका बासिन्दाको स्वरोजगारका अवसर सिर्जना हुने तथा आम्दानी वृद्धिको माध्यमबाट जीवनस्तरमा सुधार ल्याउने प्रकृतिका ग्रामीण पूर्वाधारको दिगो विकास गर्न नेपालमा विसं २०६७ देखि घरवास पर्यटन शुरु गरिएको हो।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू