अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४५ | Colorodo: 11:00

अन्त्यहीन इच्छामा सहभागी पात्रहरूको एक अध्ययन

सदानन्द अभागी २०७६ असोज ९ गते ८:४१ मा प्रकाशित

विषय प्रवेश
‘अन्त्यहीन इच्छा’ एउटा कथासङ्ग्रह को । यस कथासङ्ग्रहका कथाकार गीता खत्री हुनुहुन्छ । यो कृतिको अध्ययन गर्नु भन्दा पहिला मैले ‘‘आमा हुन् आमा ’’ खण्डकाव्य र ‘‘झोखाङ देखि मजाटलान सम्म’’ नियात्रा सङ्ग्रह पढिसकेको छु र यी कृतिबाट म निकै प्रभावित भएर उहाँका कृति पढ्ने प्रयासको क्रममा अघि बढ्दा आज म ‘अन्त्यहीन इच्छा’ कथासङ्ग्रहलाई अध्ययन गर्न थालेको छु । गीता खत्री नेपाली साहित्य जगती एउटी सुप्रसिद्ध साहित्यकार हुनुहुन्छ । उहाँको कलम कविता, गजल, गीत, आदिमा दखलताको साथमा अगाडी बढी रहेको छ । गीताजीको संरक्षण धेरै साहित्यिक संस्थाले पाएका छन् र सामाजिक क्षेत्रमा पनि उहाँको योगदानले महत्त्वपूर्ण स्थान ओगटेको पाइन्छ । उहाँ दर्जनौँ साहित्यिक संस्थाबाट सम्मानित, अभिनन्दित र पुरस्कृत हुनुभएको छ । उहाँको थुप्रै साहित्यिक संस्थामा आवद्यता देखिन्छ । यस्ती सुप्रसिद्ध नारी हस्ताक्षरको ‘अन्त्यहीन इच्छा’ कथासङ्ग्रह पढ्दा मलाई यस कथामा सहभागी पात्रहरूको तुलनात्मक अध्ययन गर्ने अभिलाषा जागेर आयो ।

साझा प्रकाशनले प्रकाशित यस कृतिमा सत्र ओटा कथाहरू समावेश गरिएका छन् । यी कथाहरू ९२ पृष्ठमा सजिएका छन् र मूल्य रु १५० राखिएको छ । अव कथाका भित्र प्रवेश गरौँ ।

‘अन्त्यहीन इच्छा’ प्रथम कथा हो । यसै कथाबाट यस कृतिको नामकरण पनि गरिएको छ । कथामा जुनी र कालबिना दुई सक्रिय पात्र छन् । कालबिना निकै राम्री छन् र जुनी उनको रूपमा निकै आकर्षित हुन्छिन् । दुबैमा गाढा मित्रता बढ्छ । काल्भिना महिलाको रूपमा नरहेर लिङ्ग परिवर्तन गर्न चाहन्छिन् । काल्भिनाले लिङ्ग परिवर्तन गरेर केटा बनेपछि बासिलियो नामकरण गरेको र विवाह गर्न तयारीमा रहेको जानकारी जुनीलाई दिन्छिन् । जुनी एउटी सक्रिय पात्र हुन् । उनी प्रकृतिको वरदानमा नै रमाउन चाहन्छिन् । जुनीले लिङ्ग परिवर्तन गर्दा के के गर्नु पर्छ, कति खर्च लाग्छ के के समस्या पर्न सक्छन्, सामाजिक असर कस्तो पर्न सक्छ आदि सबै जानकारी दिन्छिन् । दुवै पात्रले अहम् भूमिका खेलेका छन् । जुनीले आजको विज्ञानको चमत्कारिताले ल्याएको परिवर्तन तथा प्रकृतिसँगको प्रतिस्पर्धाले भोलिको संसार र समाज कस्तो होला भन्ने चिन्ता व्यक्त गरेकी छन् ।

मोतीको माला दोस्रो कथा हो । न्यु योर्क पार्कको प्राकृतिक वर्णन तथा परिवेशमा लेखिएको यो कथामा निशा, एलिजाबेथ र एलिजाबेथलाई हेरचाह गर्ने महिला(इष्टर) गरी तीन जना सक्रिय पात्रहरू हुन् र जोन नामको एलिजाबेथको छोराको नाम पनि यस कथामा जोडिएको छ । निशा नेपाली महिला हुन् जसले नेपालप्रति अगाध माया बोकेकी छन् । निशाको न्यु योर्क पार्कमा एक जना झन्डै ८० वर्षीय सुन्दरी महिलासँग भेट हुन्छ । दुवैको बिचमा आत्मीय प्रेम बढ्छ । निशाले नेपाल आएर फर्कँदा नरम ढाकाको खास्टो एलिजाबेथलाई लगिदिन्छन् । एलिजाबेथको वृद्ध अवस्था, नेपाल भ्रमण गरेकी, नेपालीहरूको सहनशीलता, नेपालीको संस्कार, र स्वाभिमानसँग प्रभावित भएकी, निशालाई छोरीको रूपमा मनमनै माया गर्ने र मर्ने वेलामा निशासँग भेट गर्न नसकेकीले पत्र सहित मोतीको माला उपहार छाडी मृत्यु वरण भएकी पात्र हुन् । इष्टर एलिजाबेथकी सेवीका हुन् । इष्टरमा इमानदारिता छ । उनले एलिजाबेथले मर्ने वेलामा निशालाई दिन छाडेको पत्र र मोतीको माला निशालाई दिने काम गर्दछिन् । जोन एलिजाबेथको छोरा, जो आमा भन्दा टाढा बसेको र कहिले काहीँ आमालाई भेट्न आउने पात्र हो ।

यस्तो पनि विवाह – यस कथामा गाग्री, गाग्रीका श्रीमान् सोमदत्त, गाग्रीकी छोरी करिना र करिनाकी साथी तथा पति रोमी यस कथामा समावेश भएका पात्र हुन् ।

गाग्री एउटा नेपाली परम्परामा हुर्केकी महिला हुन् । नेपाली संस्कार र नेपाली परम्परालाई चटक्कै बिर्सन नसक्ने महिला जसले आफ्नी छोरीको विवाह नेपाली मूल र संस्कारलाई मान्ने साथै छोरीले मन पराएको केटासँग गर्न चाहन्छिन् तर छोरीले डाकोटामा जागिर पाएर गएपछि रोमी नामक केटीसँगै विवाह गरेर आमा बाबुसँग भेट गर्न आउँदा गाग्रीलाई ठुलो आधात पुग्छ । सोमदत्त दयालु र मिजासिला पात्र हुन् । गाग्रीलाई छोरीले केटी साथीसँगै अदालतमा गएर विवाह भएको जानकारी दिएपछि गाग्री निस्तेज र निस्प्राणजस्तो अवस्थामा पुग्दछिन् । यस्तो अवस्थामा सोमदत्तले यो अप्राकृतिक कुरा हो यो धेरै समयसँग टिक्न गाह्रो हुने हुँदा केही समयमा परिवर्तन पनि आउन सक्छ ,जीवन बाँकी छ । त्यसो हुँदा अझै बलियो भएर उठ्नको लागि ढाडस दिने पात्रको रूपमा प्रस्तुत भएका छन् । करिना पढाइमा तेज चरित्रमा उच्च भएकोले उसलाई साथीहरूले भर्जिनको संज्ञा दिएका थिए तर आखिरमा करिनाले रोमी नामकी केटीसँग नै विवाह गरिन् । रोमी एक जना केटी , करिनाकी साथी, पछि गएर कुरिनासँग विवाह गर्दछिन् । पात्र रोमी बाहेक सबै क्रियाशील छन् । कथा मार्मिक छ । आमा बाबुको र छोराछोरीको चाहना मेल नखाँदा परिवारमा पीडाको आगमन हुन्छ र यस्ले पारेको पीडा दायी घाउ धेरै समयसम्म खाटा बनेर बस्छ भन्ने सन्देश दिएको छ कथाले ।

संयोग –यस कथामा सीमा स्वीकृति पाण्डे र दीप तीन जना पात्रहरू छन् । सीमा र दीपको बिच विवाह हुन्छ । सीमालाई विवाह अघिनै ब्लड क्यान्सर भएको हुन्छ । ब्लड क्यान्सर भएको उसले कसैलाई, जानकारी दिन्न । ब्लडक्यान्सरकै कारणबाट उनको देहान्त हुन्छ । दीप नितान्त एक्लो हुन्छ । सीमाको वार्षिकीमा दीपले सीमाको डायरी खोल्छ उसले सीमालाई ब्लड क्यान्सर भएको थाहा पाउँछ । सीमाले डायरीमा अध्ययनको क्रममा आफ्ना डिम्ब सुरक्षित राखेको, यी सबै कुरा स्वीकृति पाण्डेलाई जानकारी भएको । स्वीकृति पाण्डेमा डिम्ब उत्पादन गर्ने क्षमता नभएकोले स्वीकृति पाण्डेसँग विवाह गरेर मेरा डिम्बहरू प्रयोग गरेर छोराछोरी जन्माउनु दुबैलाई शुभकामना भन्ने सन्देश सीमाले लेखेको पनि दीपले पढेपछि कथा समाप्त हुन्छ । सीमाको बारेमा कथामा यसरी लेखिएको छ –‘सीमा सधैँभरि रमाउन चाहने, आफ्नो मन खुला आकाशमा उडाउन चाहने, हावामै स्वच्छन्द वहन चाहने, खोलाको पानी जस्तै कलकल बग्न चाहने युवती थिई ।’

उसले आफ्नो दैनिकीमा गहिरो अध्ययन गर्दा सीमा राम्री सर्व गुणले युक्त भए पनि आफु मृत्यु नजिक दीपसँग विवाह गर्नु राम्रो थिएन तर उसले सबै कुरामा अनुभव गर्नु पर्छ, सबै रहर पुर्याउनु पर्छ, भन्ने धारणा राख्ने पात्र हुन् । विज्ञानकी छात्र पनि हुन् । सोध अनुसन्धानमा आइमाईका कोखमा डिम्ब पैदा हुन्छन् र यी अर्की डिम्ब नभएकी महिलामा प्रत्यारोपण गरेर शिशु पैदागर्न सकिने जानकारी दिन्छिन् । अध्ययनको क्रममा न्यूयोर्क विश्वविद्यालयमा डिम्ब राखेको र प्रयोग गर्ने अधिकार दीपलाई भएको जानकारी दिँदै मृत्युवरण गर्ने पात्र हुन् । यस कथाकी अर्की पात्र हुन् स्वीकृति पाण्डे जो सीमासँग विवाह हुनुभन्दा पहिला दीपसँग नजिक पनि थिइन् । उनका कोखमा डिम्ब पैदा गर्ने क्षमता छैन । उनले सन्तान दिन सक्दिनन् तर सीमाका डिम्ब प्रयोग गरे सन्तान जन्माउन भने सकिन्छ भन्ने धारणा सीमाले आफ्नो डायरीमा लेखीराखेकी छन् ।

सीमाको यस कथामा आएका सन्देशमा उनका सबै रहर पुरा भए पनि आमा बन्ने रहर भने पुरा नभएको र अव स्वीकृतिबाट पुरा हुनु पर्छ भन्ने विचार सीमाले प्रकट गरेकी छन् । स्वीकृति यस्ती पात्र हुन् जो आफ्नो धारणा यहाँ कसैसँग सम्वादको रूपमा राखेकी छैनन् तर उनका बारेमा जे जति प्रसङ्ग उठेका छन् सबै सीमाबाट मात्र आएका छन् । स्वीकृति पाण्डेको कोखमा डिम्ब उत्पादन नहुने कुरा पनि सीमका डायरीमा लेखिएको छ । दीपसँग विवाह नहुँदासम्म स्वीकृति पाण्डेसँग प्रेम भएको कुरा सीमाले नै प्रकट गरेकी छन् । दीप सीमाको मृत्युले निकै शोकाकुल पात्र हो । सीमाको प्रेमको पुजारी हो । कथा मार्मिक छ । पत्नीप्रतिको प्रेम दीपमा गाढा देखिन्छ । सीमा र दीप दुबै सक्रिय पात्र हुन् ।

बाबुको मुख हेर्ने दिन– झलकबहादुर, सयपत्रीका दुई भाइ छोरा (जेठो छोरा सुवास, कान्छो छोरा सुगन्ध) र छोरी कृष्णकली यो कथाका पात्र हुन् । सुवास र सुगन्ध छात्रबृत्ति पाएर अमेरिका जान्छन् । जेठो छोरा सुवासले रोबोटिक्समा विध्यावारिधी गर्छ र त्यसैमा अनुसन्धान गरेर आफ्नै आमाजस्तै महिला निमार्ण गर्छ । आफ्नो अनुसन्धानको प्रदर्शन गर्ने दिनमा सहभागी गराउन आमा बाबुलाई अमेरिका बोलाउँछ । झलकबहादुर, सयपत्री र कृष्णकली अमेरिका पुग्छन् । सुवासले आफ्नो कामको प्रदर्शन गर्छ । सुवास आमाबाबुसहित नेपाल फर्कन्छन् । सुवासजस्तो विद्वान जो अमेरिकी सरकारले ऊ लगायत सबैलाई अमेरिका बस्ने सबै सुविधा दिन चाँहदा चाँहदै नेपाल फर्कने, जन्मभूमिप्रति माया गर्ने पात्र हो । मातापिताको भक्त पनि हो । नेपाल फर्केपछि सयपत्रीको मृत्यु हुन्छ । उसले तयार पारेको रोबोटकी आमा उसले काम गर्ने कार्यालयले पार्सल मार्फत पठाइ दिएको हुन्छ सोही रोबोटकी आमा बाबुको मुख हेर्ने दिन ह्यापी वर्थडे भन्दै बाबुलाई उपहार दिन्छ । सुगन्ध पनि कम्प्युटर विज्ञानमा विद्याबारिधी गरको विद्वान पात्र हो । कथामा सुगन्धको सक्रियता धेरै देखिदैन । छोरी कृष्णकली पनि पढेलेखेकी पात्र हुन् उनको भूमिका पनि आमाबाबुलाई लिएर अमेरिका जानेमात्र देखिन्छ । यस कथाका भाग्यशाली पात्र हुन् झलकबहादुर र सयपत्री । विद्वान छोराछोरीको जन्म दिन्छन् । छोराको अनुसन्धानको काम हेर्न अमेरिका पुग्दछन् । छोरालाईसाथ लिएर नेपाल फर्कन्छन् र रमाउँछन् । सयपत्रीको मृत्यु चाँडै हुन्छ । वियोगान्त अवस्थालाई संयोगान्तमा रूपान्तरण गर्न छोराले रोबोटकी आमालाई उपहार दिन्छ । कथाले सुखानुभूति, मातृभूमि प्रतिको प्रेमको साथै कारुणिकता मिश्रित सन्देश बोकेको छ ।

विजय– सलिमा, नमुना र चिरञ्जीवी यस कथाका मूख्य पात्र हुन् । सलिमा र चिरञ्जीवीबीच गन्धर्व विवाह भएको थियो । विवाहको तीस वर्ष बितिसकेको हुन्छ । दुबैमा गाढा प्रेम छ । दुबैले खुसी र सुखी जीवन बिताइ रहेका हुन्छन् । सलिमाले छोरीको जन्म दिन्छिन् र छोराको जन्म दिन सक्दिनन् । छोरा जन्माउन नसकेपछि चिरञ्जीवीदेवले श्रीमतीलाई कुटपिट गर्ने, मानसिक यातना दिने र सलिमाको चरित्रमा आँच आउने आरोप लगाउन थाल्छन् । पतिको यातनालाई सहन नसकी सलिमाले अदालतमा मुद्दा दिन्छिन् र मुद्दामा सलिमाको विजय हुन्छ । सलिमा एउटी सहनशील महिला हुन् । पतिप्रति माया गर्ने् र आदर सत्कार पनि गर्ने महिला पात्र हुन् । चिरञ्जीवीदेव पढेलेखेर पनि आजको जमाना र अमरिकी संस्कारमा छोरा नै चाहिने भन्दै पत्नीलाई यातना दिने, चरित्रमा आँच आउने गरी बोली बोल्ने कुसंस्कार बोक्ने प्रतिनिधि पात्र हुन् । उनी चाँडै आवेगमा आउने र पछि महसुस गर्ने पात्र हुन् । जस्को कारणले सलिमा र आफ्नै उत्तरार्ध जीवनमा एक्लो अवस्थाको सिर्जना भएको छ । नमुना यस कथालाई पस्कने पात्र हुन् । यिनले सलिमा र चिरञ्जीवी दुबैमा धारणा राख्छिन् र सलिमाले मुद्दा जितेकोमा अन्यायमा परेकी नारीले न्याय पाएकोमा खुसी हुन्छिन् तर ‘पचास नाघिसकेको एक्लो जीवनलाई यो विजयले कसरी मलमपट्टी लगाउला र भन्दै चिन्तित पनि हुन्छिन् ।’ कथा मार्मिक छ । नेपाली संस्कार र अमेरिकी संस्कारलाई जोडेको छ । नारीको सहनशीलता नाधेपछि र लोग्ने मानिसको आवेग जागेपछि पारिवारिक जीवन तहसनहस हुन्छ भन्ने सन्देश बोकेको छ कथाले ।

नारी शोषण – म भन्ने पात्र, परेवाका भाले पोथी, वैंकर र कोठा सफा गर्न लागेकी महिला, पुलिस, बहाल वाला मन्त्री, मन्त्रीको छिमेकी महिला, जुनी र सोफिया, जमैकाका आमाछोरी, पेन्टिङ् गर्न सहयोगी मानिस (डेभिड) यी हुन् यस कथाका पात्रहरू । सर्वप्रथम म भन्ने पात्रले परेवाका भालेले पोथीलाई लखेटीलखेटी यौन तृप्ति गरेकोमा उनका मनमा विविध खाले यौनशोषणका कुराहरू खेल्छन् । परेवाका भालेलाई मानवको लागि बनाइएको कानुनले नछुने भएकोले ऊ दण्डित नहुने भएकोले उनी परेवाको भालेले गरेको यौन शोषणमा निकै आक्रोसित हुन्छिन् । उनी (म) ले वैंकरले कोठा साफ गर्न आएकी महिलालाई गरेको बलत्कारको घटना र उक्त बैंकरले तत्काल पाएको सजाए संझन्छिन् र मनमनै भन्छिन् – ‘कानुन दह्रो हुनुपर्छ अनि मात्र दोषीले सजाए पाउँछ ।’ म पात्र बहकिँदै जाँदा पृथ्वीको अर्को पाटामा पुग्छिन् र उनलाई बहालवाला मन्त्रीले अर्काको घरको पर्खाल चढेर छिमेकी महिलालाई जर्वजस्ती गर्न पुग्छ र उसलाई कानुन भएर पनि कार्वाही हुँदैन । पीडित महिलाले लाचार भएर सहनु पर्छ । यसै क्रममा म भन्ने पात्रलाई जुलीया र सोफियालाई खाना खान बोलाएको याद आउँछ । जुलीया र सोफिया अमेरिकी नागरिक, खानमा सौखिन, नेपाली खाना भनेपछि मरीहत्ते गर्ने र यी दुईमा पनि जुलीयाले खाना जस्तो दिए पनि खाने र कुनै प्रतिक्रिया नजनाउने तर सोफिया भने खानामा प्रतिक्रिया जनाउने खालकी पात्र ।

तीनजना पात्रको अध्ययनको एउटै उद्देश्य तथा लक्षचाहीं प्रसिद्ध टिभी पत्रकार बन्ने । म भन्ने पात्रले आफ्नो जीवन निष्कलङ्क, स्वच्छ र मर्यादित बनाएर आफ्नो मौलिक संस्कृतिलाई बचाएर राख्न चाहने पात्र तर जुलीया भने जीवनको मजा लिनपर्छ भन्ने पात्र । पैसा कमाउनु र घरपरिवार हेर्नुमात्र जीवन हैन, मोजमज्जा जवानीमा लिनु पर्छ र जवानी फर्केर आउँदैन भन्ने मान्यता राख्ने पात्र । म भन्ने पात्रसँग नजिककी अर्की साथी पात्र हुन् सोफिया । सोफिया र म भन्ने पात्रको वीचमा केटा साथीको बारेमा भलाकुसारी हुँदा सोफियाले आफ्नो केटा साथी स्कुलले अवस्थाबाट साथमा बसेको तर विवाहमात्र नभएकोले हाल आएर छाडिदिएकोले जीवन बर्बाद भएको भन्दै रोएको धारणा आएको छ । यसो हुनुको कारणमा उसको घरमा पेन्टिङ्को काममा लागेकी जमैकाकी केटीसँग सहवास भएको घटना आफ्नै आँखाले देखेको साथी बनाउन धोका भएको भन्दै सोफियाले पश्चताप गरेकी छन् । म र सोफिया पात्रले केटा र केटी बीचका हुने नराम्रा पक्षलाई विश्लेषण गरेका छन् । यो कथामा नेपाल, अमेरिका र जमैका परिवेशका पात्रहरूको सहभागिता देखिएको छ । यी पात्रहरूले आआफ्नो जीवन लक्षलाई, संस्कारलाई, नारी पुरुषहरूको आनीबानीलाई यो कथामा दर्शाएका छन् । यो कथाले नारी शोषणलाई मानिस र पशुपंक्षी बीचमा भिन्नता, मानिसले कानुनी सजाए भोग्न पर्ने र पशुपंक्षी विशुद्ध प्राकृतिक रूपमा बाँचिरहेकाले मानिसलाई बनाएको कानुनले नसमाउने पशुपंक्षीमा पनि नारिशोषण हुने धारणा राखेको छ । कथाले कानुन दह्रो र व्यवहारमा लागु हुनुपर्छ भन्ने संदेश बोकेको छ ।

प्रेम दिवस – यस कथाका पात्र हुन् सरु र सुमन । यी दुबै एक अर्कासँग अलगिएका छन् । दुबैले आआफ्ना गल्ती महसुस गर्दछन् । प्रेम दिवसको दिन दुबै बीच पुनर्मिलन हुन्छ र यस दिनमा विछोडिएका साथीहरू बीच पुनर्मिलन होस् भन्दै ईश्वरसँग प्रर्थना गर्दछन् ।

कहिल्यै नबिर्सने स्पर्श – छेतेन कठीन परिश्रम गर्ने महिला, छोराछोरी र दावा (छेतेनको पति) र तेन्जिन छेतेनले मन पराएको व्यक्ति छेतेनका बाबु आमा यस कथामा सम्लग्न पात्रहरू हुन् । तेन्जिन र छेतेन बीच सानोमा प्रेम थियो आर्थिक कमजोरीको कारण छेतेनका बाबुआमाले तेन्जिनसँग छेतेनको विवाह हुन दिदैनन् र दावासँग विवाह गरिदिन्छन् । छेतेन अमेरिका गएर पैसा आर्जन गर्ने काम गर्नु, दावा र छोरा छोरीलाई अमेरिका बोलाउनु, छेतेन ११ वर्षपछि नेपाल आउनु, आमाले ममः पकाएर तेन्जिन पनि गाउँमा सेवा गरिरहेको छ ममः पु¥याइदिन भने पछि छेतेन पनि तेन्जिनसँगै बसेर ममः खाने गरी ममः लिएर जान,ु तेन्जिन मेहनत गरेर डाक्टर बनी सकेको थियो । छेतेनले आपूm बिमारी भएको भने पछि तेन्जिनले सारा शरीर जाँच गर्न थाल्नु हरेक स्पर्समा छेतेन रोमान्चित हुनु, छेतेनले तेन्जिनलाई विवाह किन नगरेको भनेर सोध्नु र तेन्जिनले ‘मेरो एउटा मन भएको र त्यो मन मैले तिमीलाई दिइसकेकोले अर्को विवाह गर्न अर्को मन कहाँ खोज्नु’ भन्ने जवाफ दिन्छ । छेतेनले तेन्जिनलाई आपूm सुतेको बिस्तरामा तानेर सारा आफ्ना पीडा र दुख व्यथाहरू भन्न थाल्छिन् । यसरी तेन्जिन र छेतन दुबै एक अर्कामा कहिल्यै नविर्सने स्पर्समा एक अर्कामा विलाई रहे भन्दै कथा समाप्त हुन्छ । तेन्जिन प्रेममा त्याग पनि हुन्छ भन्ने युवक पात्र हो । दावा आर्थिक सम्पन्नता भएको र विलाशी पात्र हो ।

उपहार – यस कथामा दयाराम, करुणा, निरज, करुणाकी छोरी र जेम्स टर्नर गरी पाँचजना पात्रहरू सहभागी भएका छन् । निरज र करुणाको बीचमा प्रेम हुन्छ । करुणा गर्भवती हुन्छिन् । निरज अक्सफोर्ड विश्वविद्यालयमा पढ्न जान्छ र त्यहींबाट सम्बन्ध विच्छेदको पत्र पठाउँछ । करुणालाई मृत्युवरण बाहेक कुनै उपाय हुँदैन र उनी मर्न जाँदा दयारामले बचाए र उनको यथार्थता जानेपछि करुणालाई दयारामले विवाह गरेर स्वीकारे । छोरी जन्मिई र करुणा अष्ट्रेलिया पढ्न जान्छे र त्यहाँ करुणाको जेम्स टर्नरसँग प्रेम हुन्छ र करुणाले इमेल मार्फत दयारामलाई दयारामले गरेका सहयोगको प्रशंसा गर्दै जेम्स टर्नरसँग प्रेम भएकोले मेरी छोरी तिमीलाई उपहार दिन्छु र आजै मैले हुलाकबाट सम्बन्ध विच्छेदको पत्र पठाउँदैछु भन्ने जानकारी इमेलबाट दयारामलाई हुन्छ उनका आँखा रसाउँछन् छोरीले रुनुको कारण सोध्नु र दयारामले ‘कहिले काँही आँखामा आँसु बढी हुन्छ त्यसलाई निखारेको मात्र हो’ भन्ने जवाफ दिन्छन् । दयाराम नारीप्रति दयाराख्ने विशाल हृदय भएको पात्र हो । ऊ सधैं नारीको सहयोगको लागि तत्पर रहन्छ । करुणा र निरज स्वार्थले भरिएका धोकेबाज यौन पिपासु पात्र हुन् । जेम्स टर्नर करुणाको नयाँ प्रेमी हो । कथामा छोरीको भूमिका तेती देखिदैन र जेम्सको भूमिका करुणालाई प्रेमिका बनाउनु मात्र देखिन्छ । धोकेबाजलाई विश्वास गर्न हुँदैन विश्वास गरेमा आफै धोका खाइन्छ भन्ने सन्देश दिएको छ कथाले ।

आत्मीय प्रेम – मदन, मुना, मदनकी छोरी र मदनकी मृत्युवरण गरेकी पत्नी(रुनु) यस कथाका पात्रहरू हुन् । मदनले रुनुसँग विवाह गर्छन् । छोरी जन्मन्छे । रुनु आफ्नो काममा जान्छे । उसले आफ्नो रुपमा आँच नओवस् भनेर स्तनपान गराउन्न, सधैं नशामा मातेर आउने र छोरी ६ महिनाकी भएको अवस्थामा कार दुर्घटनामा परेर स्वर्गवास हुन्छ । मदनले छोरीको हेरचाह गर्छ र विवाह नगरी बस्छ । मुना त्यसै घरमा बस्ने एउटी महिला जो सँग मदनकी छोरी हुर्किन्छे । २२ वर्षको उमेरमा मुनाले आफ्नै रोजाइमा मदनकी छोरीको विवाह गराउने काममा जुटेर खानदानी केटासँग विवाह हुन्छ । छोरीको डोली अन्माएपछि मदनका आँखाबाट आँसु खस्छन् र मुनालाई खोज्छन् । मुना आफ्नो कोठामा बसेर रोइरहेकी हुन्छिन् । आफ्नी छोरी नभए पनि मातृत्वको मायाा छचल्कि रहेको मदनले देख्छ । आफ्नो पीडाको बोझ बाँडने प्रयास गर्दै,मदनले मुनालाई पहिलो पटक अँगालो हालेर माया गर्छ । मदनले ‘मुना ईश्वरले म र मेरी छोरीकै लागि दिएको उपहार हो । उनी हाम्रै लागि जन्मेकी हुन् । हामीबीच रगतको नाता नभए पनि आत्मीय नाता छ , आत्मीय प्रेम छ , जुन कहिल्यै मर्दैन । सधैं अमर रहिरहन्छ भन्ने मदनको धारणा सहित यो कथा समाप्त हुन्छ ।

यस कथाकी रुनु पात्र आफ्नो विलासी जीवन बिताउनको लागि छोराछोरीलाई स्तनपान नगराउने, पारिवारिक जीवनको ख्याल नगर्ने मदिरामा मस्त भएर मात्ने प्रतिनिधि पात्र हुन् । जस्तो कर्म उस्तै फल भने झै कार दुर्घटनामाा मर्छिन् । मदन एउटा सहनशील, छोरीको लागि आपूmले विवाह नगरी छोरी प्रतिको दायित्व पूरा गर्ने पात्र हुन् । मुना अर्काको घरमा बसेर मदनकी छोरीलाई निःस्वार्थ माया गरेर आफ्नो जीवनको यौवन अवस्थालाई बिताइ रहेकी छन् र त्यही छोरीलाई विवाह गराएर मातृत्व प्रेम झल्काउँदै रोइरहेकी एक त्यागी पात्र हुन् ।

सपनामा बर्बराइरहने छोरी – सरिता, राजु, छोरी, आमा बाबु, राजुकी बहिनी बुनु, यस कथाका पात्र हुन् । यस कथामा सरितालाई डिभी पर्छ । डिभी परेपछि सरिता र राजु नेपालमा भएको स्थायी जागिरको साथै नेपालमा भएको सबै सम्पन्नतालाई त्यागेर अमेरिका जान्छन् तर सरिताकी छोरी(नानु) निदमा ‘‘मामु मामु म यो हेर्न सक्दिन, म यो हेर्न सक्दिन’’ सधै राती निदमा बरबराउँछिन् ।

यो बरबराएको कारण आमाले सोधनी गर्दा अमेरिकाको र नेपालको संस्कृति, रहनसहनमा आकाशपातालको फरक भएकोले अमेरिकाको वातावरणमा म बस्न सक्दिन, मलाई नेपालै फर्काइ देऊ भन्न थाल्छिन् । आमालाई राती छोरी बरबराएको कारण थाहा लाग्छ । यसरी छोरी बरबराएको कारण थाहालागे पछि सरिताले हामी चाँडैनै नेपाल फर्कने छौं भन्छिन् । नानुका मुखमा खुसीका रेखा कोरिन थाल्छन् र सरिताका आँखा नानुप्रतिको प्रेम र जन्मभूमिको संझनामा अनायास आँसुले भरिएर रसाए भन्दै कथा समाप्त हुन्छ । राजु र सरिता यस्ता प्रतिनिधि पात्र हुन् जो आज नेपालमा पढेलेखेका राम्रो ओहोदामा जागिर खाएर मनग्य आय आर्जन र सम्पत्ति भएका परिवार पनि डिभी भरेर यहाँको सबै चिज छाडेर अमेरिका जान चाहन्छन् । राजुका बाबा सेनाका अवकास प्राप्त पात्र हुन् । उनी पथपरेज र व्यायामले गर्दा शारिरिक तन्दुरुस्ती राम्रो भएका समाजसेवी व्यक्ति हुन् । राजुकी आमा १२ सन्तान जन्माएर दुई सन्तान (एक छोरा र एक छोरी मात्र) साथमा राख्न पाएकी र सन्तान आफ्नै आँखा वरिपरि रहुन् भन्ने धारणा राख्ने एक रोगले आक्रमण गरेकी पात्र हुन् ।

पुनर्जन्म –रश्मी र भरत यस कथाका पात्र हुन् । एक दिन हिउँदको वेला रश्मि कफी हाउसमा कफी खाँदै गर्दा भरत नामको युवा भेट हुन्छ । दुवैको साधारण परिचय हुन्छ । विदा हुने वेलामा भरतले भिजिटिङ कार्ड दिन्छ । राती सपनामा रश्मीले पुनर्जन्मको सबै विवरणको सपना देख्छिन् । पूर्वजन्ममा भरत राजाको छोरा र रश्मी दरवारमा कामगर्ने वगैंचेकी छोरी भएकी र रश्मीले दरवारमा १० वर्षको उमेरदेखि नाचने काम गर्दि रहिछन् । उनी निकै राम्री भएकोले राजाका छोराले उनलाई मन पराएका र प्रेम गर्न थालेका रहेछन् । दुबैको प्रेम भएको । राजकुमारको विहे गर्ने समय आउँदा राज कुमारले रश्मीसँग विवाह गर्न चाहँदा चाहँदै राजकुलको इज्जतको कारणले गर्दा रश्मीसँग राजकुमारको विवाह हुन सक्दैन र रश्मीका बाबुआमालाई पनि राजाले केही धन दिएर विदा गरेपछि रश्मी यही पीरले होली पूर्णिमाको दिन विहानै नदीमा हाम फालेर मरिन । यो खवर दरवारमा पुगेपछि राजकुमार पनि त्यही नदीमा हामफालेर मरे ।

यो सपना देखे पछि रश्मीले भरतलाई पूर्व जन्मका राजकुमार हुन् भन्ने अनुमान गर्नु र दुबै जना आकर्षक हुनु । १० वर्षसम्म प्रेममा आकर्षक रही फागु पूर्णिमाको दिन विवाह बन्धनमा बाँधिएर ‘संसारका सबै कुरा बिर्सिएर उनीहरू जीवनको अपूर्व आनन्दानुभूतिमा हराउन लागे । दुई शरीर एकाकार पार्दै उनीहरू एकअर्कामा विलिन हुन पुगे ।’ यसरी सुतेका दोस्रो जन्म लिएका दुबै यस संसारबाट विदा लिए । ‘सुहागरात मात्र उनीहरूको यस जन्मको अन्तिम रात थियो ।’ यसरी कथा समाप्त हुन्छ । यस कथामा पूर्व जन्मका प्रेमीहरूको मिलन उक्त जन्ममा हुन नसके पनि पुर्नजन्ममा हुन्छ भन्ने सन्देश बोकेको छ यो कथाले । दुबै जना पात्र सकृयछन् । भरत भन्दा रश्मीको सकृयता बढी देखिन्छ ।

मीठो मुस्कान – म भन्ने पात्र(चाल्र्स स्वाबको कार्यालयको अध्यक्ष र कार्यकारी अधिकारी मेरिया लोपेज), इभान, प्रहरी जवान, होटेल मालिक यस कथाका पात्र हुन् । मेरिया लोपेज कार्यालय जाँदा बाटोमा कागजको बाकस देखेर उनी उभिन्छिन् । बाकसभित्र एउटा मानिस इन्भास हुन्छ । ऊ धेरै दिनको भोको हुन्छ । मेरियालाई त्यो मानिस चिने जस्तो लाग्छ र उसलाई खाना खुवाउने मन हुन्छ । उनले पुलिसकोसाथ लिएर होटेलमा लग्छिन् । होटेल मालिक रिसाउँछ । मेरियाले आफ्नो परिचय दिएपछि इन्भासलाई होटेल मालिकले खाना दिन्छ । मेरियाले उनी ४ दिनदेखि भोकै भएको, कामको खोजीमा हिडिरहेको बेलामा ‘म ४चार दिनदेखि भोकै छु’ भनेर इभान्सलाई भने पछि इन्भासले आपूmकाम गरेको रेष्टुरेण्टमा आफैले पैसातिरेर खाना खुवाएको स्मरण मेरियालाई हुन्छ । मेरियाले इभान्सलाई पूर्व घटेका घटनालाई स्मरण गराउँछिन् । मेरियाले उसलाई आफ्नो कार्ड दिएर आफ्नो कार्यालयमा आएर बेन्जामिन हार्डिनलाई भेट्नु उनले तिमीलाई काम, कपडा र बस्नको लागि खर्च जुटाइ दिने छन् भने पछि प्रहरी र मेरिया आआफ्नो कार्यालयतिर हिड्द छन् र कथा समाप्त हुन्छ । मेरिया लोपेज को जीवन कथा हेर्दा उनी निकै कष्टमय जीवन बिताएकी पात्र हुन् । सानोमा आमा मरिन् । उनी फोष्टर केयरमा बस्नु प¥यो ।

त्यहीं उनले अध्ययन पुरा गरिन् । कामको खोजीमा उनी न्युवर्क सिटीमा पुगिन् । काम मिलेन ४÷४ दिन सम्म भोकभोकै हिड्न प¥यो । इन्भासले उनलाई खाना खुवाआो । सिटी वैंकमाा उनले काम पाइन् । त्यपछि चाल्र्स स्वावको कार्यालय खोलेर त्यस संस्थाको अध्यक्ष र कार्यकारी निर्देसक बन्छिन् ।उनी जीवन, दुःद र सुखलाई, बुझेकी पात्र हुन् । उनमा असाहायलाई सहयोग गर्नु पर्छ भन्ने विशाल हृदय छ । उनको जीवन यात्रा सबैको लागि अनुकरणीय छ र मार्गदर्शनको रूपमा लिन सकिन्छ । इन्भास होटेलमा काम गर्ने मानिस हो । उसले मारिया लोपेजलाई भोको अवस्थामा आफ्नो पैसाबाट खाना खुवाएको थियो । पछि सबैले घृणा गर्ने अवस्थामा पुग्छ र भोकभोकै परेको अवस्थामा मारियासँग भेट हुन्छ र उसले पुनः मेरियाबाट काम पाउँछ । पुलिस सहयोगी पात्र हो । मेरियाको अनुरोधमा इन्भासलाई होटेलसम्म पु¥याउन मद्दत गर्दछ । होटेल म्यानेजर एक आवेशमा आउने पात्रको रूपमा देखा परेको छ । सबै पात्र सक्रिय देखिन्छन् । कथाले धेरै सन्देशहरू बोकेको छ ।

चिसा रातहरू – म भन्ने पात्र, मेनुका, कल्पना, शुशीला यस कथाका पात्र हुन् । यस कथामा म भन्ने पात्रले कल्पनासँग आत्मिय प्रेम गथ्र्यो तर मेनुकाले म भन्ने पात्रसँग एकोहोरो प्रेम गरेको हुँदा विवाह गर्न चाहान्थिन् । म भन्ने पात्रको बुबा मेनुकाको बाबुसँग हात थाप्न जान्छन् तर मेनुकाको बुबाले यो विवाहलाई स्वीकार्दैनन् । बाबुले नस्वीकारे पछि मेनुका म भन्ने पात्रसँग पुगेर विवाह गरे गर, नगरे आत्महत्या गर्छु भने पछि, कल्पनालाई बोलाइन्छ कल्पनाले मन्दिरमा गएर विवाह गर्ने सल्लाह दिन्छिन् र विवाह हुन्छ । विवाहको ४÷५ वर्ष सम्बन्ध राम्रै हुन्छ । छोराछोरी जन्मन्छन् । डिभी पर्छ दुबै जना बच्चाबच्ची लिएर अमेरिका जान्छन् । अमेरिका गएपछि मेनुकाले पति र बच्चाबच्चीको देखभाल गर्नु भन्दा मादक पर्दाथ पिएर मस्त हुने पतिको कुनै कुरा नसुन्ने भएपछि म भन्ने पात्रको जीवन खल्लो र शून्य हुन्छ । म भन्ने पात्रले मन पराएकी पात्र कल्पनालाई याद गर्दै आफैमा हराएको र ‘यो क्रम मेरो जीवन रहँदासम्म चलिरहने छ’ भन्दै कथा समाप्त हुन्छ । म भन्ने पात्र एउटा आफ्नो परिवारप्रति आफ्नो के कर्तव्य हो र के गर्नु पर्छ भन्ने बुझेको पात्र हो ।

ऊ सहनशील छ, छोराछोरीको हेरबिचार गर्दछ । कल्पनासँग प्रेम हुँदाहुँदै पनि मेनुकाको कलिलो उमेरको एकलौटी प्रेमबाट विवाह गर्न बाध्य पारिएपछि र कल्पनाको सुझाव अनुसार विवाह त गर्छ तर मेनुकाले अमेरिका गएपछि पत्नीबाट पीडित पात्रको रूपमा जीवन विताउन बाध्य छ । कल्पना एउटा भद्र स्वभावी पात्र हुन् जस्ले आफ्नो प्रेमीसँग विवाह गरे गर नगरे आत्महत्या गर्छु भन्ने मेनुकाको धारणा सुनेपछि आफ्नो प्रेमभन्दा मेनुकाको प्राण रक्षा नै ठूलो ठानी आफ्नो प्रेममा तिलाञ्जली दिएर मेनुकालाई विवाह गर्ने सुझाव दिन्छिन् । नारीको जीवन र उमेरले पार्ने प्रभावलाई विश्लेषण गर्ने र चाँडो भन्दा चाँडो निर्णय गर्न सक्ने महिला पात्र हुन् कल्पना । मेनुका सानै उमेरमा अर्काले प्रेम गरोस् नगरोस् एकोहोरो प्रेम गरेर बाबुआमाले विवाह नहुने भनेका पात्रलाई विवाहको लागि बाध्य पार्ने र विवाह पछि पति छोराछोरीप्रतिको आफ्नो दायित्वलाई नबुझी मोजमस्तीमा रमाउने पात्र हुन् । जस्को कारणले गर्दा पारिवारिक जीवन तहसनहस भएको छ ।

रातो कोट – रूपा, सजु, रूपाकी आमा, रूपाकी छोरी र रूपाका पति आदि यस कथाका पात्र हुन् । रूपा र सजुको बाटोमा भेट हुन्छ । १२ बर्षदेखि जाडोको बेलामा रूपाले रातो कोट लगाउँदै आएकी छिन् । यो रातो कोट किन रूपाले लगाइरहेकी छन् त्यो रहस्य भने कसैलाई थाह छैन । बातैबातमा रातो कोट बदल्ने सुझाव सजुले दिन्छिन् । यस रातोकोट नै किन लगाउनु प¥यो भन्ने कुरा रूपाकी छोरीले पनि नभनेकी हैनन् । रूपाले रातो कोट लगाउनुको मुख्य कारणा रूपाकी आमाले रूपालाई न्युयोर्कको जाडोको लागि भनेर किनीदिएको कोट भएकोले रातो कोट लगाउँदै आएकी र यो कोटमा आमाको गन्ध आएको, आफ्नो देशको गन्ध आएको, आमाको न्यानो खोकिलाभित्र भएको अनुभूति हुने भएकोले रातो कोट रूपाले छोड्न सक्दिनन् । उनी केही दिन आमासँग बस्नेगरि जाडो याममा नेपाल आएर आमाको लागि ग्रेकोट किनी दिएकोमा आमाले पुन रूपालाई पुरानो रातोकोट दिएर ग्रेकोट लाएर जाने भन्दछिन् ।

रूपाले सजुलाई भेट्दछिन् र सजुले रातो कोटबाट फेरी ग्रेकोट भन्ने प्रश्न तेस्र्याउँछिन् । यो प्रश्नले रूपालाई निद पर्दैन किनकी ग्रेकाटमा आमाको र देशको गन्ध आउँदैन रूपाले तुरुन्त नेपाल फोन गर्दछिन् । आमाले फोन उठाउँछिन् । रूपाले एकै सासमा बोल्दै भन्छिन् –‘आमा त्यो रातो कोट छ नि तपाईँको शेषपछि मेरै नाममा राखिदिनु होला’ यति भन्दा भन्दै फोन काटिन्छ र कथा समाप्त हुन्छ । यस कथामा रूपा र सजु दुई, सक्रिय पात्र हुन् । रूपा नेपालप्रति र आमाप्रति माया गर्ने पात्र हुन् । सजु यस कथाकी यस्ति पात्र हुन् उनले नेपालका परिवार,साथीभाइलाई सम्झेर काम छैन, आफ्नै लागि बाँच्ने, आफ्नै लागि काम गर्ने र पैसा कमाउने खर्च कम गर्ने, ५० वर्षकी भए पनि विवाह नगरी बसेकी कुमारी अर्र्थात विवाह गर्न नचाहने पात्रको रूपमा चिनिन्छिन् । आमाले रूपालाई माया गर्छिन् भने पति र छोरीहरूको काम घरयासी देखिन्छ ।

अन्तिम विदाइ – जेनी र स्यान्डी र जुम्लेहा बहिनी यस कथाका पात्र हुन् । जेनी पार्कको मेचमा बस्छिन् । जेनीले सबैको अगाडी रासलीला गरिरहेको दृश्य देख्छिन् । जोनीलाई यो मन पर्दैन । अलीपर सरेर जेनीले स्यान्डीलाई कुरेर बसेकी हुन्छिन् । स्यान्डी र जेनीको सम्पर्क १० वर्ष पहिला भएको र पार्कमा दुवैको भेट हुन्छ र साथीत्व बढ्छ । जेनीले कहिलेकाँही स्यान्डीलाई घरमा खान बोलाउने गर्थिन् । यसरी दुवैको मित्रता गाँसिएको थियो । एकदिन जेनीले स्याण्डीको बारेमा जान्ने कोसिस गर्दा समय चिन्न नसकेर बाबुआमाको आज्ञाको पालन नगरेर पढाइलाई टुङ्ग्याउन नसकेको र केटाको लहैलहैमा लाग्दा एउटी छोरीको जन्म भएको जानकारी जेनीले पाउँछिन् । छोरीलाई पालनपोषण गरेर आफ्नो जस्तो अवस्था नआओस भनेर सम्झउँदा पनि छोरीले हाइस्कुलमात्र सकेकी र गर्भवती भैसकेकी तर विवाहको प्रस्ताव आएको छैन । यो अमेरिकी स्वतन्त्रता जल्दोबल्दो नमुना हो’ भन्दै उनले निबृत्तिभरणमा बस्ने कुरा राख्छिन् । निबृत्तिभरणमा बसे पनि भेटघाटको निरन्तरता हुने कुरा राख्र्दै जेनी स्याण्डीसँग विदा हुन्छिन् । एक हप्तापछि फोन गर्दा स्याण्डीले नठाई उनकी जूम्ल्याहा बहिनी बोल्छिन् र स्याण्डी हृदय घातबाट मरेको जानकारी जेनीले पाइन् । यसरी स्याण्डीको मृत्यु भएको समाचार जानकारीमा आएपछि उनको फोटोमा जेनीले पूmल चढाउँदै आत्माले चिरशान्ति पाओस् भन्दै श्रद्धाञ्जली अर्पण गरेपछि कथा समाप्त हुन्छ ।

कथाबाट थाहा लाग्छ जेनीले आफ्नो जीवनयात्रा सोचविचारको साथमा अगाडी बढाएकी छन् उनी छाडापन बाट सजग छिन् तर स्याण्डीको जीवन आफ्नै कारण अध्ययन पुरा हुन सक्दैन । छोरीले पनि आमाकै बाटो समातेर विवाह नहुँदै गर्भवती भएकी छन् ।

समग्रमा कथाहरू मझौला खालका छन् । यथार्थ घटनाहरू समाएर कथा लेखिएका छन् । कथामा पात्रहरूको चयन पनि राम्रोसँग भएको देखिन्छ । कथाको परिवेश, घटनाक्रमलाई केलाएर हेर्दा पात्रहरूको चयन न चाहिए भन्दा बढ्ता न चाहिए भन्दा कम जति आवश्यक छन् त्यति नै चयन छन् । सबै पात्रहरू सकृय देखिन्छन् । अन्त्यहीन इच्छा, बाबुको मुखहेर्ने दिन र संयोग विज्ञानमा आधारित कथाहरू हुन् । अन्त्यहीन इच्छाले लिङ्ग परिवर्तनको बारेमा जानकारी दिन सक्षम देखिन्छ । बाबुको मुख हेर्ने दिन कवितामा रोबोट सम्बन्धी परीक्षण र सफल प्रर्दशन नेपाली अनुसन्धान कर्ता सुवासले आफ्नै आमाजस्तै बनाएर सफल प्रदर्शन गरेका थिए । संयोग कथामा कोखमा डिम्ब उत्पादन गर्ने महिलाका डिम्बबाट डिम्ब उत्पादन गर्न नसक्ने महिलाको कोखमा प्रत्यारोपण गरेर बच्चा जन्माउन सकिने प्रविधिलाई जानकारी गराइएको छ । कथाहरूले विविध खाले प्रेमलाई राम्रोसँग उठाएका छन् । ‘मोतीको माला’ले नेपाली युवती निशा र एलिजावेथ बीचको आमा छोरीको जस्तो गाढा प्रेमलाई प्रदर्शन गरेको छ । यसै कथामा नेपाली संस्कृति, धर्म, सहनशीलता र स्वाभिमानलाई विकसित देशले सिक्न पर्ने धारणा एलिजावेथले राखेकी छन् । ‘यस्तो पनि विवाह’ ले अप्राकृति प्रेमलाई दर्शाएको छ । जहाँ केटी केटी बीच वैवाहिक सम्बन्ध दर्शाएको छ । यसले नेपाली समाजलाई नौलो विकृतिपूर्ण सन्देश दिएको छ । ‘प्रेम दिवस’ छुट्टिएका प्रेमीको पुनर्मिलनको दिनको रूपमा आएको छ ।

‘कहिले नबिर्सने स्पर्स’ कथाले धनी गरिव बीचको विभेदले गर्दा पहिला प्रेममा गाँसिएको जोडीलाई अलग्याइए पनि मौका आउँदा कहिले नबिर्सने स्पर्समा आनन्द लिन सक्छन् भन्ने सन्देश छ । धोकेवाद प्रवृत्तिको प्रेमको उदाहरण हो ‘उपहार’ कथा । यस कथामा प्रेममा धोका खाएकी नारीमाथि आदर्श भावनाले हेरेर अर्काको गर्भलाई स्वीकार्ने व्यक्तिलाई अष्ट्रेलिया गएपछि पुन अर्कासँग विवाह गरेर छोरीलाई उपाहर दिएकी जानकारी दिंदै छोडपत्र माग गर्ने महिला । मातृत्व प्रेम दिनलाई जन्मदिने आमा नै हुनु पर्छ भन्ने छैनको उदाहरण हो ‘आत्मिय प्रेम’ । पूर्व जन्ममा प्रेममा आसक्त भएर विवाहको बन्धनमा वाँधिन नसकेर आत्महत्या गरेका जोडी पुनर्जन्ममा आएर वैवाहिक सूत्रमा बाँधिन सक्छन् भन्ने उदाहरण हो ‘पुनर्जन्म’ कथा । कलिलो उमेरमै एकोहोरो प्रेममा आसक्त भएर विवाह गर्नु पछि गएर आफ्नो छोराछोरी र पतिप्रतिको दायित्वलाई भुलेर नशामा मोजमस्तिमा लागेको उदाहरण हो ‘चिसा रातहरू’। मातृभूमि आमा र आफ्नो संस्कार र संस्कृतिप्रति कथाकारले ठाउँठाउँमा आफ्ना धारणा राखेको पाइन्छ तापनि ‘सपनामा बरबराइ रहने छोरी’ मार्फत कथाकारले नेपालको संस्कार संस्कृति नेपालप्रति माया हुनेले अमेरिकाको संस्कार र संस्कृति पचाउन कठिन पर्छ र नेपालै फर्कन चाहन्छन् भन्ने संदेश छ कथामा । आमाको माया र नेपालको मायाले ओतप्रोत कथा हो रातोकोट । रूपाले रातो कोटमा आमाको र देशको गन्ध आएको अनुभूति गर्छिन् । महिला हिंसाको बारेमा पनि कथाकारले कलम चलाएकी छन् । ‘विजय ’ कथामा छोरी छोरी जन्माएको आरोपमा सलिमालाई पतिले लगाएको लान्छनाको नतिजा अदालतमा छोडपत्रको मुद्दा पर्छ । यस कथामा नारी सहनशील हुँदाहुँदै पनि अदालत जान बाध्य पारिन्छ भन्ने सन्देश छ । ‘नारी शोषण’ कथामा यौन शोषण मानिसमा मात्र नभएर पशुपंक्षीमा पनि हुन्छ भन्दै परेवाको भाले र पोथी बीचको शोषणको उदाहण दिइएको छ । अमेरिकामा कानुन बलियो भएकोले नारीमाथि शोषण गर्नेलाई कडा कार्वाही हुन्छ तर कुनैकुनै देशमा कानुन भए पनि ठूलाबडालाई लागु हुँदैन भन्ने सन्देश दिएको छ कथाले । धेरै कुराहरू पात्रहरूको विषयमा चर्चा गर्दा समेटिएका छन् ।

कथा स्तरीय बनाउन भाषा, प्रस्तुति, प्रकृति वर्णन, परिवेश, रस आदिको प्रयोगमा निर्भर रहन्छ । यस कथासङ्ग्रमा प्रयोग गरिएको भाषा सरल छ । उपयुक्त ठाउँमा प्रयोग गरिएका उपयुक्त उखान टुक्का (जस्तै अरुको लाख आमाको काख, चिन्ताले मानिसलाई चितासम्म पु¥याउँछ , आइमाईको रूपै शत्रु, लेखेको पाइन्छ देखेको पाइन्न, अपुत्राको धन प्यारो कोरीको ज्यान प्यारो आदि) ले भाषालाई मिठास भरेकोछ । ठाउँठाउँमा दार्शनिक अभिव्यक्तिहरू आएका छन् । कुनै कथा पढ्दा आँखा रसाउँछन् भने कुनै कथा पढ्दा रगतै तातेर आउँछ । सिङ्गार रसले कथालाई झनै रसिलो बनाएको छ । प्राकृति वर्णन गर्न कथाकार खप्पिस देखिन्छिन् । भाग्यवादी सोचले पनि स्थान लिएको छ । अमेरिकी स्वतन्त्रताले दिएका रासलीला र विवाह अघि नै छोराछोरी जन्माउन सकिने सन्देश पनि आएको छ कथामा । भौतिक र अध्यात्मिक चिन्तनले पनि कतैकतै स्थान लिएका छन् । समग्रमा कथाहरू पठनीय र अनुकरणीय छन् ।

अन्त्यमा गीताजीको जीवन सुखमय रहोस् भावी साहित्यिक यात्रा अनुकरणीय बन्दै जावस् भन्ने धारणा राख्दै विदा चाहान्छु ।

धन्यवाद
मिति २०७६ साल भाद्र १८ गते
शान्तिचोक कावासोती, नवलपुर गण्डकी प्रदेश ।

प्रतिक्रिया