अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१८ | Colorodo: 12:33

अफ्रिकाबाट हिक्मत थापा एनआरएनए उपाध्यक्षको उम्मेदवार

बिआरटीनेपाल २०७६ असोज ५ गते ११:५८ मा प्रकाशित

गैरआवासीय नेपाली सङ्घको आसन्न अन्तर्राष्ट्रिय समितिको निर्वाचनमा वर्तमान कोषाध्यक्ष हिक्मत थापाले अन्तर्राष्ट्रिय कार्यसमितिको उपाध्यक्षको उम्मेदवारी दिने भएका छन् । सन २००८ मा एनआरएनए नाइजेरिया स्थापना गरी संस्थापक अध्यक्ष बनेका थापा , सन २०११ सम्म एनसीसी नाइजेरियाका अध्यक्ष , सन २०११- २०१५ सम्म दुई कार्यकाल अफ्रिका क्षेत्रीय संयोजक र २०१५-२०१९ दुई कार्यकाल अन्तर्राष्ट्रिय कोषाध्यक्षको रूपमा कार्यकाल सम्पन्न गर्दैछन ।

नेपालीहरू भर्खरै पुग्न थालेको र सानो सङ्ख्यामा रहेका अफ्रिकाका सोह्र मुलुकमा एनआरएनएको शाखा बिस्तारमा थापाको सक्रियता रहेको थियो । नेपालको कूटनैतिक नियोगको उपस्थिति न्यून रहेको अफ्रिकाका थुप्रै देशमा अलपत्रमा परेका सयौँ नेपालीको घर फिर्ता र अन्य अप्ठ्यारोमा पर्ने नेपालीको सहयोग र उद्दारमा थापाले संयोजनकारी भूमिका खेल्दै गरेका छन् ।

अफ्रिकामा कम सङ्ख्यामा एनआरएन सदस्यहरू रहे पनि भूकम्प र अन्य दैवी प्रकोपमा उल्लेख रूपमा अफ्रिकाका एनसीसीहरुबाट नेपालमा एनआरएनए मार्फत उल्लेख सहयोग थापाको नेतृत्वमा जुट्ने गरेको छ । त्यस्तै विभिन्न जिल्लाहरूमा एनआरएनएको नेपाल परियोजना मार्फत अफ्रिकाका एनसीसीहरुबाट सहयोग जुटाएका छन् ।

गत भूकम्प पछि आफू कार्यरत संस्थाबाट भूकम्प पीडितका राहतका लागि थापाले एक मिलियन अमेरिकी डलरको नगद सहयोग नेपाल सरकारलाई हस्तान्तरण गरेका थिए । विगत दुई कार्यकाल कोषाध्यक्ष रहँदा पहिलो कार्यकाल मुलत एनआरएन भवन र भूकम्प राहतको कोष सङ्कलन ,नाकाबन्दीको राहत र बाढी , हुरी पीडित राहत सङ्कलनको व्यवस्थापन गरेका थापाको दोस्रो कार्यकाल मुलत लाप्राक बस्ती ,भवन र शन्खमुल गार्डेन निर्माणमा केन्द्रित रहे ।

एनआरएनएलाई संसार भरी रहेका सबै पेसा ,ब्याबसाय र भूगोलमा रहेका प्रवासी नेपालीहरूको साझा र अपनत्व हुने संस्था बनाउनु पर्नेमा आफ्नो सक्रियता र जोड रहने थापा बताउनु हुन्छ । उपाध्यक्षमा निर्वाचित भए पछि संस्थालाई आर्थिक रूपमा सुदृढ बनाउने तर्फको आफ्नो प्रयास जारी राख्ने , विशेषतः खाडी , मलेसिया र अफ्रिकामा रहेका नेपालीहरूको भलाइ र सहयोगका लागि एनआरएनलाई अझै केन्द्रित गर्ने र निर्वाचित अध्यक्षका कार्ययोजनालाई सफल बनाउन सहयोगी बन्ने आफ्नो योजना रहेको थापा बताउन्छन ।

समाजसेवा र साहित्य आफ्नो रुचीको विषय रहेको बताउने थापाको मुलघर कैलालीको टिकापुर हो भने उनी विगत १३ वर्ष देखि अफ्रिकाको नाइजेरियामा बस्छन् ।

तस्बिर :विमल नेपाल

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू