अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२५ | Colorodo: 16:40

जनतामा भ्रम छर्नेहरुको प्रतिवाद गर्न कार्यकर्तालाई नेकपा प्रचण्डको निर्देशन

बिआरटीनेपाल २०७६ भदौ ३० गते ७:४३ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अराजकताको आतंक मच्याएर जनतामा भ्रम छर्न खोज्नेको प्रतिवाद गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । तत्कालीन माओवादी नेता पोष्टबहादुर बोगटीको पाँचौँ स्मृति दिवसमा प्रचण्डले समाजवादलाई निमोठ्न खोज्नेका विरुद्ध सतर्क र सचेत भएर प्रतिवाद गर्न निर्देशन दिनुभएको हो । अध्यक्ष प्रचण्डले हजारौँ नेपाली छोराछोरीको बलीदानबाट प्राप्त उपलब्धीलाई चौतर्फी घेराबन्दीको प्रयास भइरहेको बताउनुभयो ।

‘ठूलो बलीदानीबाट प्राप्त उपलब्धी भत्काउन सकिन्छ कि, संघीय लोकतान्त्रिक गणतन्त्रको प्रणालीमाथि नै आक्रमण गर्न सकिन्छ कि भनेर घेराबन्दी भइरहेको छ’, प्रचण्डले भन्नुभयो, ‘परिवर्तनलाई रक्षा गर्ने संकल्प अहिलेको आवश्यकता हो ।’ उहाँले अगाडि भन्नुभयो, ‘हजारौँ छोराछोरीले ल्याएको परिवर्तनको रक्षाा गरेर समाजवादको सपना पूरा गर्नका लागि भूमिका खेल्न जरुरी छ । तमाम युवा साथीहरुलाई, विद्यार्थीहरुलाई म अपिल गर्न चाहन्छु, अराजक तत्वले जनतामा भ्रम सृजना गर्ने, हत्केलाले सूर्य छेक्ने प्रयास गरिरहेका छन् त्यसको प्रतिवाद गर्नुहोस् ।’

‘अहिलेको राज्य प्रणाली कलिलो बच्चा जस्तै छ । यो सिस्टम परिपक्व भइसकेको छैन, विरोधीहरु कलिलोमा नै निमाठ्न सकिन्छ कि, मार्न सकिन्छ कि भनेर छटपटिएको हामी देख्छौँ । अराजक आतंकको वातावरण बनाउन प्रयास भएको छ’, प्रचण्डले भन्नुभयो, ‘सचेत बनौँ।’

प्रचण्डले चारैतिरबाट घेरिएको अवस्थामा पार्टीलाई बलियो बनाउन वैचारिक स्पष्टता र अनुशासन आवश्यक रहेको बताउनुभयो । ‘हामी चारैतिरबाट घेरिएका छौँ, पुँजीवादले एकातिर साम्राज्यवादले अर्को्तिरबाट घेरिएका छौँ, विचलनको अवस्थाबाट पनि घेरिएका छौँ । त्यसैले पार्टीमा वैचारिक स्पष्टता चाहिएको छ, अनुशासित कम्युनिष्ट पार्टी चाहिएको छ, भरोसायुक्त पार्टी निमार्णको क्रममा हामी छौँ, समाजवादको दिसामा नै अघि बढ्ने हो’, प्रचण्डको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू