अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४३ | Colorodo: 21:58

नर्थ क्यारोलाइनामा साहित्यिक कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७६ भदौ २७ गते ११:४७ मा प्रकाशित

अमेरिका, नर्थ क्यारोलाइना राज्यको विन्स्टन सेलम सहरमा भएको NASeA/ANMA को १५ औँ सम्मेलनका अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्थ क्यारोलाईना च्याप्टरले वरिष्ठ साहित्यकार प्रा तुलसी दिवसको प्रमुख आतिथ्यमा साहित्यिक कार्यक्रम भव्य रूपले सम्पन्न गरेको छ । कार्यक्रमको सभापतित्व अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्थ क्यारोलाईना च्याप्टर/नर्थ क्यारोलाइना नेपाली साहित्य समाजका अध्यक्ष शिखर दुलालले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन संस्थाकी वरिष्ठ उपाध्यक्ष नम्रता आचार्यले गर्नुभएको थियो।

कार्यक्रममा पुस्तक विमोचन तथा सम्मान, वाल तथा वयस्क कविता प्रतियोगिता, अप्रतियोगी कविता वाचन, नेपाली लेखन सम्बन्धी प्रशिक्षण र गन्धर्व जातिको संस्कृति सम्बन्धी प्रस्तुति गरिएको थियो । कार्यक्रममा सहभागीहरूलाई अन्तर्राष्ट्रिय नेपाली समाज नर्थ क्यरोलाइना च्याप्टरकी महासचिव निर्मला राजभण्डारीले स्वागत गर्नुभएको थियो। संस्थाकी कोषाध्यक्ष सुजाता ढुङ्गेलले अन्तर्राष्ट्रिय नेपाली समाजका केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीको शुभकामना सन्देश पढेर सुनाउनुभएको थियो।

कार्यक्रमको प्रथम चरणमा संस्थाका पूर्व अध्यक्ष मनोज प्रधानलाई उहाँले नर्थ क्यारोलाइना नेपाली साहित्य समाजको संस्थागत विकास र सम्बन्ध विकासमा पुर्‍याउनुभएको योगदानको कदर गर्दै सम्मान पत्र अर्पण गरिएको थियो। कार्यक्रममा नेपालबाट हालै प्रकाशित जनमत साहित्यिक मासिक पत्रिकाको नर्थ क्यारोलाइना साहित्य विशेषाङ्कको विमोचन विमोचन समेत गरिएको थियो ।समारोहका प्रमुख अतिथि संस्कृति विध तथा वरिष्ठ साहित्यकार तुलसी दिवस, अन्तर्राष्ट्रिय साहित्य समाजका पूर्व केन्द्रीय अध्यक्ष तथा वर्तमान बोर्ड अफ ट्रस्टी पदम विश्वकर्मा तथा नर्थ क्यारोलाइना साहित्य समाजका अध्यक्ष शिखर दुलालले जनमत नर्थ क्यारोलाइना विशेषाङ्कको संयुक्त रूपमा विमोचन गर्नुभएको हो । जनमत नर्थ क्यारोलाइना विशेषाङ्कका अतिथि सम्पादक डा ऋषि बस्ताकोटीले यस विशेषाङ्कमा नर्थ क्यारोलाइना निवासी चालिस श्रष्टाका विविध साहित्यिक सामाग्रीका साथै, नर्थ क्यारोलाइनामा नेपाली साहित्य सम्बन्धी एक खोजमूलक लेख पनि समेटिएको जानकारी दिनुभएको थियो । डा बस्ताकोटीले सम्मानित व्यक्तित्व मनोज प्रधानको परिचय सहित उहाँको साहित्यिक योगदानको समेत चर्चा गर्नुभएको थियो।

कार्यक्रममा साहित्यकारहरू शैलेन्द्र साकार, ज्ञानेन्द्र गदाल, सीता पाण्डे, पदम विश्वकर्मा, बलराम पन्थी, सुजाता ढुङ्गेल, निर्मला राजभण्डारी, सन्ध्या जोशी कृष्ण पौडेल लगायतले आ-आफ्ना रचना वाचन गर्नुभएको थियो भने गायक वसन्त खड्काले आफ्नै सङ्गीत र ऋषि बस्ताकोटीको रचनामा एउटा गजल गाउनुभएको थियो ।

प्रतियोगितात्मक कवि गोष्ठीमा विभिन्न राज्यबाट सहभागी प्रतिस्पर्धीहरूलाई पछि पार्दै प्रेम सङ्ग्रौलाले प्रथम स्थान प्राप्त गर्नुभयो भने गीत बस्नेतले द्वितीय र चेत भट्टराईले तृतीय स्थान प्राप्त गर्नुभयो । विजयी कविहरूलाई प्रमुख अतिथि तुलसी दिवसले नगद पुरस्कार र प्रमाण पत्र प्रदान गर्नुभएको थियो भने पुरस्कारको सौजन्य तथा अन्य सहयोग गर्ने समाजसेवीहरू डा ठाकुर कार्की , डा नारायण राजभण्डारी , एन आर एन नर्थ क्यारोलाइनाका अध्यक्ष कुलानन्द शर्मा, कवाब एण्ड करीका बाबुराम दवाडी , सुजन न्यौपाने, शिव बिस्ट लगायतलाई समारोहका अध्यक्ष शिखर दुलालले धन्यवाद दिनुभएको थियो । आफ्ना केही छानिएका कविता सहित प्रमुख अतिथि तुलसी दिवसले विचारोत्तेजक साहित्यिक मन्तव्य व्यक्त गर्नुभएको थियो । नेपालबाट आउनुभएका साहित्यकार तथा लोक संस्कृतिका अध्यक्षता डा कुसुमाकर न्यौपानेको गन्धर्व जातिको संस्कृति र लोक रामायण सम्बन्धी गन्धर्व ज्ञानलाई श्रव्य दृश्य सामाग्री सहितको प्रस्तुति सहभागीहरूको रुचिको विषय बनेको थियो । कार्यक्रममा डा हरिहर भट्टराईले पछिल्लो समय नेपाली लेखनमा निक्कै विकृति बढेको प्रसङ्ग उल्लेख गर्दै नेपाली शुद्ध कसरी लेख्ने भन्ने विषयमा प्रवचन दिनुभएको थियो ।

कार्यक्रममा साहित्यकार निलम कार्की निहारिका, डा बुना दाहाल पोखरेल, डा शिव गौतम, भारती गौतम, नगेन्द्र न्यौपाने, ईश्वर देवकोटा, नारायण राजभण्डारी, राधा पौडेल, स्थानीय सङ्घ संस्थाका प्रतिनिधिहरू र साहित्य अनुरागीहरूको बाक्लो उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू