अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५५ | Colorodo: 16:10

बेलायती प्रधानमन्त्री जोनसनविरुद्ध हजारौं बेलायती सडकमा

बिआरटीनेपाल २०७६ भदौ १५ गते ८:१६ मा प्रकाशित

संसदीय कार्यवाही निलम्बन गर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै बेलायतका प्रधानमन्त्री बोरिस जोनसनविरुद्ध शनिबार देशभरी प्रदर्शन भएका छन्। राजधानी लण्डनसहित देशका दर्जनौं सहरमा हजारौं प्रदर्शनकारी भेला भएको सरकारी अधिकारीले जानकारी दिएका छन्।

प्रदर्शनकारीले ‘संसद निलम्बन फिर्ता गर,’ ‘लोकतन्त्रको रक्षा गर,’ जस्ता नारा लेखिएका घरमै निर्मित प्लेकार्ड प्रदर्शन गरेका थिए। प्रदर्शनमा सहभागी बेलायती छाया अर्थमन्त्री जोन म्याकडोनेलले संसद निलम्बन गर्नुलाई लोकतन्त्र मास्ने प्रयासको संज्ञा दिनुभएको छ । संसद निलम्बन गर्ने प्रधानमन्त्री जोनसनको आग्रहप्रति बेलायती महारानी एलिजावेथ द्वितीयले चासो राख्नुभएको थियो । प्रधानमन्त्रीको सो निर्णयप्रति सत्तापक्षका सांसदले पनि विरोध जनाएका छन्।

प्रधानमन्त्री जोनसनले भने आफ्नो निर्णय सही भएको दाबी गर्दै आउनुभएको छ । उहाँले गत बुधबार आउँदो अक्टोबर १४ तारिखसम्मका लागि संसद निलम्बनका लागि महारानी एलिजावेथ समक्ष पेस गर्नुभएको थियो । निलम्बनले आगामी अक्टोबर ३१ तारिखमा बिनाकुनै सम्झौता युरोपेली संघ (इयु)बाट बेलायत बाहिरिने प्रक्रिया रोक्नका लागि आवश्यक कानुनहरू पारित गर्न सांसदसँग समय अभाव हुने भएको छ । तर जोन्सनले भने ब्रेजिक्टका बारेमा छलफल गर्न दुवै पक्षका सांसदलाई पर्याप्त समय पुग्ने दाबी पनि गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू