अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०६ | Colorodo: 06:21

इरानी तेल ट्यांकर गन्तव्यतर्फ प्रस्थान, अमेरिकी माग अस्वीकार

बिआरटीनेपाल २०७६ भदौ २ गते ९:४५ मा प्रकाशित

जिब्राल्टरले नियन्त्रणमा लिएपछि कूटनीतिक विवादको केन्द्रमा परेको इरानी तेल ट्यांकर जिब्राल्टरले छाडेको छ ।बेलायती उपनिवेश जिब्राल्टरले आफूलाई उक्त तेल ट्यांकर सुपुर्दगी गर्न अमेरिकाले गरेको अनुरोधलाई पनि अस्वीकार गरेको छ ।

‘म्यारिन’ ट्राफिककाअनुसार जिब्राल्टरको तटीय इलाकाबाट गत जुलाई ४ मा नियन्त्रणमा लिइएको इरानी ‘सुपर’–ट्यांकरलाई आइतबार साँझ छाडिएको थियो । उक्त ट्यांकर दक्षिणतर्फ प्रस्थान गरेको थियो ।जिब्राल्टरका सरकारी अधिकारीहरुले उक्त ट्यांकरको गन्तव्यकाबारेमा आफूहरुलाई थाहा नभएको प्रतिक्रिया दिएका छन् ।

जिब्राल्टरले ‘ग्रेस १’ नाम दिइएको सामुद्रिक तेल ट्यांकरलाई युरोपेली संघका प्रतिबन्धहरु उल्लंघन गरी सिरियातर्फ इन्धन लगेको आशंकामा नियन्त्रणमा लिएको थियो ।जिब्राल्टरको उक्त कदमपश्चात् बेलायत र इरानबीचको सम्बन्धमा गतिरोध आएको थियो । इरानले पटक–पटक आफूले कुनै नियम उल्लंघन नगरेको दाबी गर्दै आएको थियो ।

जिब्राल्टरको सर्वोच्च अदालतले गत बिहीबार तेल ट्यांकर छाड्न आदेश दिएको थियो । अदालतको आदेशलगत्तै इरानले नयाँ चालकदल जिब्राल्टर पठाएको थियो ।हाल यस भीमकाय तेल ट्यांकरको नाम ‘एड्रियन दरया’ राखिएको छ । यस ट्यांकरमा २१ लाख ‘ब्यारेल’ तेल रहेको छ ।

शुक्रबार नै अमेरिकी न्याय विभागले उक्त ट्यांकर नियन्त्रणमा लिन आदेश जारी गरेको थियो । अमेरिकाले उक्त ट्यांकरबाट इरानी तेल छुकिछिपी सिरियातर्फ लैजान खोजिएको आरोप लगाएको छ । जिब्राल्टर सरकारले अमेरिकी अनुरोधलाई अस्वीकार गरेको थियो । युरोपेली संघभित्र इरानमाथिका अमेरिकी प्रतिबन्धहरु लागू नहुने जिब्राल्टर अदालतको आदेशमा उल्लेख छ ।म्यारिन ट्राफिककाअनुसार उक्त ट्यांकर ग्रीसको कालामाटातर्फ प्रस्थान गरेको छ ।

ट्यांकर छाड्नुअघि इरानले युरोपेली संघका प्रतिबन्ध भएका मुलुकमा इरानी ट्यांकर नपठाउने लिखित प्रतिबद्धता जिब्राल्टर सरकारसमक्ष व्यक्त गरेको थियो । जिब्राल्टरको कदमको विरोधमा इरानले बेलायती ध्वजावाहक ‘स्टेना इम्पेरो’ नामको तेल ट्यांकर कब्जामा लिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू