अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३१ | Colorodo: 21:46

सुरक्षा परिषद्मा कश्मिर मुद्दा, विवाद शान्तिपुर्णरुपमा सुल्झ्याउन आग्रह

बिआरटीनेपाल २०७६ साउन ३२ गते ९:२८ मा प्रकाशित

संयुक्तराष्ट्र संघ सुरक्षा परिषद्मा भारत प्रशासित कश्मिरबाट अनुच्छेद ३७० हटाइएको बारेमा अनौपचारिक बैठक बसेको छ । पाकिस्तानले लेखेको पत्रपछि शुक्रबार बैठक बन्द कोठामा आयोजना गरिएको थियो ।

बैठकपछि राष्ट्रसंघका लागि भारतका राजदूत सैयद अकबरुद्दीनले अनुच्छेद ३७० को मुद्दा ‘आन्तरिक’ भएको र भारतको निर्णय त्यहाँको आर्थिक र सामाजिक विकासका लागि भएको स्पष्ट पार्नुभयो । भारतसँग कुराकानी गर्नु छ भने पाकिस्तानले पहिले आतंकवाद रोक्नुपर्ने उहाको भनाई थियो ।राष्ट्रसंघका लागि पाकिस्तानका राजदूत मलीहा लोधीले दशकौंपछि कश्मिर मुद्दा सुरक्षा परिषद्मा उठेकाले यो भारतको आन्तरिक नभएर ‘अन्तर्राष्ट्रिय मुद्दा साबित’ भएको बताउनुभयो ।

बैठकपछि राष्ट्रसंघमा चिनियाँ राजदूत झाङ जुनले सुरक्षा परिषद्का सदस्य राष्ट्रहरूले यो समस्या शान्तिपूर्ण तरिकाबाट सुल्झाउनुपर्ने र एकपक्षीय फैसला गर्न नहुने बताएको जानकारी दिनुभयो । यो मुद्दालाई राष्ट्रसंघको प्रस्तावको तहबाट सुल्झाउनुपर्छ भन्ने भनाइ रहेको भन्दै उहाँले कश्मिरमा ‘असाध्यै खतरनाक स्थिति’ बन्न लागेको प्रतिक्रिया दिनुभएको छ ।

राजदूत झाङले चीनले लद्दाखको मुद्दा पनि उठाएको भन्दै अनुच्छेद ३७० लद्दाखबाट पनि हटेको र यसले चीन ‘सम्प्रभुतामाथि आक्रमण’ मान्छ भन्नुभयो । बैठकमा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजले कश्मिरबारे गरिएको पुरानो सहमतिको स्मरण गराउनुभएको थियो । पाकिस्तान र भारत सुरक्षा परिषद्का सदस्य नभएका कारण बैठकमा सहभागी भएका थिएनन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू