अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५१ | Colorodo: 16:06

संसद् बैठकमा अमर्यादित शब्द बोलियो, सांसद्हरुले भने– “झुटप्रसाद ओली र छेर बहादुर देउवा”

बिआरटीनेपाल २०७६ असार ८ गते ९:३१ मा प्रकाशित

प्रतिनिधि सभाको आइतबारको बैठकमा सांसदहरुले संवैधानिक आचरण र मर्यादाविपरितका शब्द बोलेका छन् । बैठकमा केही सांसदहरुले प्रधानमन्त्री केपी ओलीलाई झुटप्रसाद ओली र प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवालाई छेरबहादुर भन्नेजस्ता आपत्तिजनक शब्दसमेत बोलेका छन् ।

बैठकमा प्रमुख प्रतिपक्षका सांसदले प्रधानमन्त्री ओलीको नाम बिगारेर उच्चारण गरेपछि सत्तापक्षका सांसदले आक्रोस व्यक्त गरेका थिए । नेपाली कांग्रेसका सांसद उमाकान्त चौधरीले केपी ओली नेतृत्वको सरकारले देश र जनताको मर्म अनुसारको काम नगरेको बताउनुभएको छ । संसदमा चौधरीले बोल्दै देश र जनताले आभाष गर्ने खालको काम अहिलेको सरकारले नगरेको आरोप लगाउनुभयो ।

जथाभावी कर निर्धारण गरेर प्रधानमन्त्री ओलीले करप्रसाद ओलीको उपनाम पाएको बताउँदै उहाँले झुटो आश्वासनले देश सम्मृद्धिमा नजाने जिकिर गर्नुभयो । ‘प्रधानमन्त्री ओलीले अहिले झुटो आश्वासन जनतामाझ बाँड्दै हिड्नुभएको छ, अब उहाँको नाम करप्रसादबाट झुटप्रसाद ओली राख्दा फरक पर्दैन ’ चौधरीले भन्नुभयो ।

बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद झपडबहादुर रावलले प्रधानमन्त्री ओलीको नाम बिगारेको भन्दै आक्रोश पोख्नुभएको छ । संसदमा बोल्दै रावलले सांसद्हरुको बोल्ने शौली र भाषाले नेपाली जनताले अब के सिक्ने भन्दै प्रश्न गर्नुभयो । “प्रतिपक्ष दलका नेताले प्रधानमन्त्रीको नाम झुटप्रसाद भन्दा सत्ता पक्षका नेताले शेरबहादुरको नाम छेरबहादुर राखेभने के हुन्छ ?”, उहाँको भनाई थियो ।

रावलले चौधरीको शव्द खेदजनक भएकोले यस्तो शब्द संसद्को रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराउनुभयो । तर सभामुख कृष्णबहादुर महराले उक्त शब्द रेकर्डबाट हटाउनुभएन । सभामुख महराले विषय गम्भीर भएको भन्दै आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू