अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२० | Colorodo: 16:35

हङकङमा प्रदर्शनः प्रदर्शनकारीद्वारा प्रहरी मुख्यालय घेराउ

बिआरटीनेपाल २०७६ असार ६ गते २२:४६ मा प्रकाशित

विवादास्पद सुपुर्दगी विधेयक खारेज गर्नुपर्ने माग गर्दै हङकङका हजारौं नागरिकले प्रहरी मुख्यालय घेराउ गरेका छन् । हङकङमा करिब दुई सातादेखि सुपुर्दगी विधेयकको विरोधमा प्रदर्शन भइरहेको छ । पछिल्लो प्रदर्शन प्रहरीको मुख्यालय बाहिर भएको हो ।

सरकारी मुख्यालय र विधायक काउन्सिल अगाडि जम्मा भएका प्रदर्शनकारीहरुले प्रहरी मुख्यालय घेराउ गरी विवादास्पद विधेयक खारेजीको माग गरेका हुन् । प्रदर्शनमा सहभागी भएकाहरुले विधेयक खारेज गर्नुका साथै यसअघिको प्रदर्शनका क्रममा पक्राउ परेकाहरुलाई तत्काल रिहा गर्न माग गरेका छन् ।

केही प्रदर्शनकारीले राजश्व भवनलाई समेत घेराउ गरेका छन् । प्रदर्शनकारीहरुका कारण हङकङमा सरकारी कामसमेत ठप्प भएका छन् । आपतकालीन सेवासमेत प्रभावित हुँदै गएका छन् । हङकङका प्रहरीले प्रदर्शनकारीहरुलाई शान्ति कायम गर्न र आन्दोलन फिर्ता लिन आग्रह गरेको छ ।

प्रदर्शनका कारण आपतकालीन सेवामा असर परेको भन्दै प्रहरीले प्रदर्शन रोक्न आग्रह गरेको हो । दुई सातादेखिको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच हिंसात्मक झडपसमेत भएका छन् । हङकङका प्रमुख कार्यकारी क्यारी लामले विधेयक स्थगित भएको घोषणा गरे पनि प्रदर्शन भने रोकिएको छैन ।

कार्यकारी प्रमुख लामले जुन १२ मा प्रदर्शनलाई साम्य बनाउन विवादास्पद विधेयक स्थगित गरेको घोषणा गर्नुभएको थियो । तर प्रदर्शनकारीहरुले विधेयक खारेज नै गर्न माग गर्दै आएका छन् । उनीहरुले विवादास्पद विधेयक खारेज नभए अझ कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू