अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४५ | Colorodo: 19:00

रसुवागढी जलविद्युत आयोजनाको सुरुङमा थुनिएका १७ मजदुरको सकुशल उद्धार

बिआरटीनेपाल २०७६ असार ५ गते २२:५७ मा प्रकाशित

रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको सुरुङ निर्माणस्थलमा थुनिएका १७ मजदुरको सकुशल उद्धार गरिएको छ । बिहीबार साँझ साढे ८ बजे निर्माणस्थलमा पहिरो खस्दा सुरुङको १०० मिटरभित्र मजदुरहरु थुनिएका थिए। उनीहरुको शुक्रबार बिहान ७ बजे उद्धार सम्पन्न गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिनुभयो ।

प्रजिअ भण्डारीका अनुसार सबै मजदुरको सकुशल उद्धार गरिएको छ । सुरुङ मार्गमा अक्सिजन प्रवाह भइरहेकाले मजदुरहरुको स्वास्थ्यमा कुनै खराबी नभएको स्वास्थ्यकर्मीहरुले जनाएको प्रजिअ भण्डारीले बताउनुभयो । उद्धार गर्नासाथ मजदुरहरुको स्वास्थ्य परीक्षण गरिएको थियो ।

थुनिनेमध्ये ११ जना नेपाली र ६ जना चिनियाँ मजदुर रहेका छन् । सुरुङ निर्माणस्थलमा पहिरो जानेक्रम पनि चलिरहेकाले आयोजना निर्माणको काम अहिले रोकिएको छ । माथिबाट ढुंगा खसिरहेकाले काम रोकिएको र ढुंगा खस्न छाडेपछि काम सुरु हुने आयोजनाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू