अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४८ | Colorodo: 05:03

नेपालको आर्थिक बृद्धिदर सात दशमलब एक प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

बिआरटीनेपाल २०७६ जेठ २३ गते १०:०० मा प्रकाशित

विश्व बैंकले चालू आर्थिक वर्ष नेपालको अर्थतन्त्र सात दशमलव एक प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । प्रत्येक ६ महिनामा बैंकले सार्वजनिक गर्दै आएको प्रतिवेदनमा यसपटक नेपालको आर्थिक वृद्धिदर तीव्र गतिमा अघि बढेको जनाएको हो । कृषि क्षेत्रमा पाँच प्रतिशतको आर्थिक विस्तार हुने बैंकको अनुमान छ ।

मनसुनको सक्रियता, बजार व्यवस्थापन, बीउ तथा मल तथा सिंचाईको पर्याप्तता लगायतले कृषि क्षेत्रमा सुधारको अवस्था रहेको बैंकले जनाएको छ । सेवा क्षेत्रमा सात दशमलव पाँच प्रतिशतको वृद्धि हासिल हुने अनुमान गरिएको छ । औद्योगिक क्षेत्रको वृद्धि आठ दशमलव एक प्रतिशतले विस्तार हुने प्रतिवेदनमा उल्लेख छ ।

यस्तै चालु आर्थिक वर्षको मूल्य वृद्धिदर चार दशमलव दुई प्रतिशत रहने अनुमान गरिएको छ । पर्यटक आगमनमा वृद्धि, निजी लगानीमा भएको विस्तार तथा सहज विद्युत आपूर्ति जस्ता कारणले अर्थतन्त्रको गति सकारात्मक रुपमा अघि बढेको बैंकले जनाएको छ ।

यद्यपी विप्रेषणमा आएको कमी, कमजोर निर्यात, फराकिलो व्यापार घाटा लगायतलाई बैंकले जोखिमका रुपमा विश्लेषण गरेको छ । चालु आर्थिक वर्षमा औद्योगिक आयातको अवस्थामा उल्लेख्य वृद्धि भई अर्थतन्त्र लाभान्वित हुने जनाएको विश्व बैंकले सरकारी खर्च भने निराशाजनक हुनसक्ने उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू