अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१६ | Colorodo: 21:31

वासिङटन बन्यो अमेरिकामा मानव शरीरबाट मल बनाउन अनुमति पाउने पहिलो राज्य

बिआरटीनेपाल २०७६ जेठ १० गते २२:५२ मा प्रकाशित

अमेरिकाको वासिङटन मृत मानव शरीरबाट मल बनाउन अनुमति दिने पहिलो राज्य बनेको छ । यस नयाँ कानुन अनुरुप मानिसहरुले मृत्युपछि आफ्नो शरीर माटोमा परिणत गराउन पाउने भएका हुन् । यो प्रक्रियालाई अन्त्येष्टिका लागि गाड्ने परम्पराको व्यवहारिक विकल्पका रुपमा हेरिएको छ । पछिल्लो समय शहरहरुमा चिहानका लागि एकदम कम जमिन मात्र बाँकी भएको पाइएको छ भने शव जलाउँदा पनि वायु प्रदुषणको समस्या हुने गर्दछ ।

यस्तोमा मृत शरीरलाई मलमा परिणत गरिसकेपछि सो माटो तिनका आफन्तलाई प्रदान गरिनेछ जसले त्यसलाई फुल, सागसब्जी वा रुख रोप्नका लागि प्रयोग गर्न सक्ने बताइएको छ । मंगलबार मात्र यो कानुन गर्भनर जे इन्सलीले पारित गर्नुभएको हो । यस्तो कानुनका लागि पहल गर्ने कट्रिना स्पेडले सो सेवा प्रदान गर्ने पहिलो कम्पनी पनि स्थापना गरिसकेको बताईएको छ ।

स्पेडले बताए अनुसार यो प्रक्रियाका लागि उहाँको कम्पनीले मृतकको शरीरलाई एउटा स्टिलको हेक्जागोनल आकारको कन्टेनरमा आल्फाल्फा (एक प्रकारको घाँस), काठका टुक्रा, पराल लगायतका वस्तुसँगै बन्द गरेर राखिदिनेछ र प्राकृतिक रुपमा तीस दिनमै त्यो मलजन्य माटोमा परिणत हुनेछ । यसरी वातावरण अनुकूल अन्त्येष्टिका प्रयास पछिल्लो समय विश्वभर लोकप्रिय बन्दै गएको छ ।

अघिल्लो महिनामा मात्र क्यालिफोर्नियामा स्वर्गीय अभिनेता ल्युक पेरीलाई च्याउसँग गाडिएको जनाइएको छ । यसले वातावरणमा विषाक्त प्रदुषण कम गराउने र मल उत्पादन गर्न सक्ने बताइएको छ । यसरी मानव शरीरबाट मल बनाउने प्रक्रियाले स्वीडेनमा पनि कानुनी मान्यता पाइसकेको छ । त्यस्तै कुहिने वस्तुहरुसँग शरीरलाई कोफिनमा गाड्नु बेलायतमा पनि वैध रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू