अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२२ | Colorodo: 15:37

लुम्बिनी क्षेत्रको विकासका लागि चरणबद्ध कार्यक्रम संचालन गरिने – प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७६ जेठ ४ गते ६:०४ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी क्षेत्रको विकास र प्रवर्द्धनका लागि सरकारले चरणबद्धरुपमा कार्यक्रम सन्चालन गर्ने बताउनुभएको छ । लुम्बिनीमा शनिबार आयोजित बुद्धपूर्णिमा तथा लुम्बिनी दिवस र लुम्बिनी भ्रमण वर्ष २०७६ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले लुम्बिनीलाई ध्यान र ज्ञान क्षेत्रकारुपमा विकास गर्दै विश्व समुदायसँग अन्तर्राष्ट्रिय सम्मेलन गर्नेबारे छलफल भइरहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले लुम्बिनी क्षेत्रको तीव्रतर विकासका लागि अन्तर्राष्ट्रिय समुदायको साथ र सहयोग आवश्यकता रहेको पनि उल्लेख गर्नुभयो । बुद्धस्थल कपिलवस्तुको तिलौराकोटलगायतका स्थलहरुलाई समान ढंगबाट विकास गर्दै लैजाने उहाको प्रतिबद्धता थियो । तिलौराकोटले विश्वसामु नयाँ तथ्य उजागर गरेकाले त्यसको विकास र प्रवर्द्धनका लागि नयाँ ढंगले योजना बनाउने प्रधानमन्त्रीको भनाई छ ।

कार्यक्रममा प्रदेश नम्बर–५ का मुख्यमन्त्री शंकर पोखरेलले संघीय सरकार र प्रदेश सरकारको साथले लुम्बिनीको विकास र विश्वव्यापी प्रवर्द्धन गर्ने बताउनुभयो । बुद्ध जन्मस्थल लुम्बिनीको काम तीव्रगतिमा हुनुपर्ने उल्लेख गर्दै उहाँले अन्य बुद्धस्थलकोसमेत उत्खनन् र तथ्य बाहिर ल्याउनुपर्नेमा जोड दिनुभयो ।

प्रदेश नम्बर–५ का पर्यटनमन्त्री लीला गिरीले प्रदेश नम्बर–५ सरकारले लुम्बिनी क्षेत्रको प्रवर्द्धनका लागि भ्रमण वर्ष घोषणा गरेको र यसले प्रदेश समृद्ध बन्ने आधार तयार पार्न सहयोग पुग्ने बताउनुभयो । लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले अबको तीन वर्षमा लुम्बिनी गुरुयोजना पूरा हुने र त्यसपछि लुम्बिनीको मुहार परिवर्तन हुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू