अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२४ | Colorodo: 07:39

जलवायु अनुकूलता जोगाइ राख्न नसके सन्ततिको भविष्य गम्भीर खतरामा – राष्ट्रपति भण्डारी

बिआरटीनेपाल २०७६ वैशाख १४ गते १०:०६ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनले खतराको घण्टी बजाइरहेको र पृथ्वीले धान्नै नसक्ने गरी बढिरहेको उत्पादन र उपभोगको प्रवृत्तिले वातावरणीय विनाशलाई तीव्रता दिइरहेको अवस्थामा नगन्यमात्रामा कार्बन उत्सर्जन गर्ने नेपालजस्ता मुलुकले दुर्भाग्यबस जलवायु परिवर्तनको अन्यायपूर्ण भार व्यहोर्दै आएको र यसको मुख्य शिकार महिला र विपन्न समुदाय बनिरहेको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो ‘बेल्ट एण्ड रोड फोरम’को आज आयोजित तेस्रो सत्रको ‘संयुक्त राष्ट्र सङ्घको सन् २०३० सम्मको एजेण्डा कार्यान्वयन गर्न हरियाली प्रवर्द्धन तथा दिगो विकास’ विषयक छलफलमा राष्ट्रपति भण्डारीले अबको बाटो भनेको हरित अर्थतन्त्रको विकास भएको र वातावरणीय दृष्टिकोणबाट हानिकारक देखिएका विकासका मोडलको पुनरावलोकन गर्ने बेला आएको उल्लेख गर्नुभयो । उहाँले पृथ्वीको जलवायु अनुकूलता जोगाइ राख्न नसके सन्ततिको भविष्य अन्योल मात्र होइन गम्भीर खतरामा जाने अनुसन्धानले देखाएको बताउनुभयो । उहाँले प्राचीन सिल्क मार्गको दक्षिणी हाँगाले समेटेको नेपाल अहिले बीआरआइसँग जोडिएकाले भूपरिवेष्ठित नेपालको कनेक्टिभिटी बिस्तार र विश्व बजारमा अर्थतन्त्रलाई एकीकरण गर्दै नेपालको आर्थिक रुपान्तरणमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

बीआरआइ गरिबी उन्मूलन, रोजगारी सिर्जना, पूर्वाधार निर्माण र औद्योगिक रुपान्तरणको एक प्रमुख संवाहक बन्दै गएको र वित्तीय खाडल बढिरहेका सन्दर्भमा यसले धेरै राष्ट्रलाई २०३० को एजेण्डा कार्यान्वयन गर्न उल्लेख्य सहयोग पुर्याउने राष्ट्रपति भण्डारीको भनाई छ । राष्ट्रपति भण्डारीले दिगो विकासका तीनवटै अवयवलाई सन्तुलनमा राख्दै स्वच्छ, नवीकरणीय ऊर्जा र न्यून कार्बनका क्षेत्रमा बीआरआईले दिएको जोडले वातावरणमैत्री अर्थतन्त्रको रुपान्तरणका लागि महत्वपूर्ण सघाउ र्पुयाउन सक्ने र सूचना प्रविधिजस्ता उदाउँदा उद्योगमा गरिने सहयोगले सेवा क्षेत्रमा ठूलो वृद्धि ल्याउन सक्ने भनाइ राख्दै वातावरणीय जोखिम न्यून गर्न वैज्ञानिक अनुसन्धान र त्यसमाथि आधारित समाधानका उपाय खोजिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू