अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२३ | Colorodo: 11:38

भारतमा अलपत्र परेका २८ बालकको उद्धार

बिआरटीनेपाल २०७६ वैशाख ७ गते ९:४५ मा प्रकाशित

नेपालबाट लुकिछिपी भारततर्फ लैजाँदै गरेको २८ बालकलाई भारत बिहार राज्यको सितामढी जिल्लाबाट उद्धार गरिएको छ । सिरहा, धनुषा, महोत्तरी र सर्लाही जिल्लाका २८ बालकलाई नेपालको सिमाना कटाई भारतको बिहारअन्तर्गत सितामढी हुँदै चेन्नइको मद्रास जाने क्रममा भारतको सितामढी बस स्टेण्डबाट उद्धार गरी राखिएकोमा ती बालकालिकालाई नेपाल फर्काइएको छ ।

कामको सिलशिलामा जाँदै गरेको अवस्थामा भारत सितामढी जिल्ला प्रशासनको चाइल्ड प्रोटेक्सन युनिटले २८ जना बालकलाई केन्द्रीय बाल कल्याण समितिको समन्वयन तथा ग्रोविङ नेपाल फाउण्डेशनका अध्यक्ष सरोज रायको पहलमा भारतबाट उद्धार गरिएको हो । चारवटै जिल्लाको अलग–अलग सिमानाकाबाट भारत प्रवेश गरी सितामढीबाट रेल्वे चढाएर लैजादै गरेको अवस्थामा उनीहरूलाई भारतीय चाईल्ड प्रोटेक्सन युनिटले २८ मार्च (चैत २४ गते ) नियन्त्रणमा लिएको छ ।

विभिन्न बहानामा भारत प्रवेश गराई रोजगारीका लागि चेन्नई लैजाँदै गरिएका ती बालकलाई उद्धार गरी भारतको बिहार राज्यको सीतामढी अन्तर्गत बरियारपुरको बालगृह (बालक) मा राखिएको अवस्थामा उनीहरूको उद्धार गरिएको अध्यक्ष रायको दाबी छ । चेन्नईमा रोजगारीका लागि लैजाँदै गरेका महोत्तरीका १२, धनुषाका ११, सिरहाका ३ र सर्लाहीका २ जना गरी कुल २८ जना बालकलाई भारतीय प्रशासनले नियन्त्रणमा लिएको थियो ।

१४ देखि १७ वर्ष उमेरका ती बालक मध्ये दलित समुदायका २३, चार जना यादव र मुस्लिम समूदायका १ जना रहेका छन् । उद्धार गरिएका बालकहरू मध्ये सबैलाई सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालय धनुषामा बोलाएर नागरिकताको प्रतिलिपि, सन्तानको जन्मदर्ता, नाता प्रमाणितको प्रमाणसहित वडा कार्यालयको सिफारिस लिएर अभिभावकलाई जिम्मा लगाइएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू