अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५८ | Colorodo: 22:13

भाजपाद्धारा उम्मेदवारको पहिलो सूची सार्वजनिक, मोदी फेरि बनारसबाटै उम्मेद्वार बन्ने

बिआरटीनेपाल २०७५ चैत ८ गते ९:४६ मा प्रकाशित

भारतको सत्तारुढ भारतीय जनता पार्टीले यही चैत २८ गतेदेखि हुने १७ औं लोकसभा चुनावका लागि आफ्ना उम्मेदवारहरुको पहिलो सूची सार्वजनिक गरेको छ । भारतीय जनता पार्टीले हिजो साँझ पत्रकार सम्मेलन गरी आफ्नो पार्टीका १८४ जना उम्मेदवारको नाम घोषणा गरेको हो ।

घोषित सूचीअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि बनारसबाट उम्मेदवार बन्नुहुने भएको छ । सन् २०१४ को लोकसभा चुनावमा पनि मोदी बनारसबाटै उम्मेदवार बन्नुभएको थियो । सार्वजनिक सूचीमा वरिष्ठ नेता तथा पूर्वअध्यक्ष लालकृष्ण आडवाणीको नाम भने छैन । आडवानीको निर्वाचन क्षेत्र गुजरातको गान्धीनगरबाट पार्टी अध्यक्ष अमित शाह उम्मेदवार बन्ने जनाईएको छ ।
भाजपाका पूर्वअध्यक्ष तथा केन्द्रीय गृहमन्त्री राजनाथ सिंह भने उत्तर प्रदेशको राजधानी लखनउबाट उम्मेदवार हुनुहुनेछ भने अर्का वरिष्ठ मन्त्री नीतिन गड्करीले पनि पुनः नागपुरबाटै चुनाव लड्नुहुनेछ ।

भाजपाले उत्तर प्रदेशको चर्चित चुनावी क्षेत्र अमेठीबाट केन्द्रीय मन्त्री स्मृति इरानीलाई उठाउने भएको छ । यसैबीच उत्तर प्रदेशकी प्रभावशाली नेतृ मायावतीले आगामी चुनावमा प्रतिस्पर्धा नगर्ने घोषणा गर्नुभएको छ । मायावतीले अप्रत्यासित निर्णय गर्दै चुनावमा भाग नलिने बरु उत्तर प्रदेशको सत्तारुढ दल भाजपालाई परास्त गर्न गठबन्धनमा ध्यान दिने बताउनुभयो । चार पटकसम्म उत्तर प्रदेशको मुख्यमन्त्री बनेकी मायावतीलाई उत्तर प्रदेशको दलित समुदायकी ‘आइकन’ मानिन्छ ।

प्रमुख विपक्षी भारतीय राष्ट्रिय कांग्रेसले भने यसअघि नै १४६ जना उम्मेदवारको सूची सार्वजनिक गरेको थियो । भारतीय निर्वाचन आयोगले ५४३ सदस्यीय लोकसभा चुनाव सात चरणमा गर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू