अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१० | Colorodo: 06:25

मोजाम्बिकमा समुद्री चक्रवात, १ हजारभन्दा बढीको मृत्यु

बिआरटीनेपाल २०७५ चैत ५ गते १०:०९ मा प्रकाशित

अफ्रिकी मुलुक मोजाम्बिकमा आएको इडाई समुद्री चक्रवातका कारण १ हजारभन्दा बढीको मृत्यु भएको छ । प्रतिघण्टा १७७ किलोमिटरको वेगमा आएको चक्रपातले बन्दरगाह शहर बेयरामा सबैभन्दा धेरै क्षति पुर्याएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

मोलाम्बिकका राष्ट्रपति फिलिपे नुसीले चक्रवातमा ज्यान गुमाउनेहरुको संख्या १ हजार नाघेको बताउनुभयो । बेयराको निरीक्षण गर्दै राष्ट्रपति नुसीले आँधीले विध्वंस नै मच्चाएको उल्लेख गर्नुभएको छ । हवाई निरीक्षणका क्रममा बाढीको भेलमा कयौं मानिसको शव तैरिरहेको देखिएको अधिकारीहरुले जनाएका छन् ।

सोही चक्रवातका कारण अफ्रिकाको दक्षिणी भेगमा १ सय ८० जनाको मृत्यु भएको छ । झन्डै ५ लाख मानिस बस्दै आएको बेयरामा ९० प्रतिशत शहर ध्वस्त भएको बताइएको छ । विश्व खाद्य कार्यक्रमका एक अधिकारीले आफूले बेयरामा आँधीले क्षति पुर्याउन नसकेको कुनै पनि घर भेट्न नसकेको बताएका छन् । उद्दारकर्ताहरूले शहरबाहिर झनै विकराल समस्या भएको हुनसक्ने बताएका छन् । धेरै ठाउँमा बिजुली र सञ्चार सम्पर्क टुटेको छ । सडकहरू सहित धेरै ठाउँमा जमिन भासिएका छन् जसका कारण राहत कार्य झन् चुनौतीपूर्ण हुने बताइएको छ । बेयराबाट अन्यत्र जोडिने सडक अबरुद्ध भए पनि विमानस्थल भने सञ्चालनमा ल्याइएको छ ।

आँधीका कारण छिमेकी मुलुक जिम्बाब्वेमा ९८ जनाको मृत्यु भइसकेको छ भने २ सय १७ जना बेपत्ता भएको अधिकारीहरुले जनाएका छन् । यसैगरी मलावीमा समेत आँधीले ठूलो क्षति पुर्याएको बताइएको छ । मलावीमा आँधी आउनुअघिको भीषण वर्षा र बाढी तथा पहिरोले १ सय २२ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू