अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३९ | Colorodo: 09:54

मलेसियाबाट धुर्मुस सुन्तलीलाई २ लाख ३३ हजार सहयोग

दिवस हुमागाइ २०७५ चैत ३ गते १०:१२ मा प्रकाशित

धुर्मुस सुन्तली फाउन्डेसनद्धारा चितवनको भरतपुरमा निर्माण हुन् लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ को लागि मलेसियाको जेसिवाइ कम्पनीमा कार्यरत श्रमिकहरूले आर्थिक सहयोग गरेका छन् । जेसिवाइ कम्पनीमा कार्यरत ६ सय २१ जना श्रमिकहरूले आइतबार धुर्मुस सुन्तली फाउण्डेशनलाई ८ हजार ७ सय ४७ मलेसियन रिंगेट अर्थात् २ लाख ३३ हजार ९ सय ८२ रुपैयाँ नेपाली सहयोग पठाएका हुन् । 

सहयोग रकम पठाउँदै उनीहरूले सबैले सानो सानो सहयोग गरे नेपालमा छिट्टै अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण हुने विश्वास व्यक्त गरे । प्रत्येक नागरिकले देश बनाउने कर्तव्य मेरो हो भन्ने अनुभूत गरेमा देशको विकास हुन समय नलाग्ने भन्दै जेसिवाइ कम्पनीमा कार्यरत श्रमिकहरूले रङ्गशाला निर्माणका लागि सकेको सहयोग गर्न सबैमा आह्वानसमेत गरेका छन् ।

यो कम्पनीमा कार्यरत श्रमिकहरूले यसअघि पनि थुप्रै पटक सामाजिक कार्यका लागि सहयोग सङ्कलन गरेर पठाएका थिए । धुर्मुस सुन्तलीले मलेसियाको कम्पनीमा रहेर काम गर्दा पनि देशका विकास चाहने सबै नेपालीहरूलाई धन्यवाद दिए । ‘उहाँहरूले जस्तै सबैले आफ्नो देशको विकासका लागि थोरै थोरै सहयोग गरे पक्कै देश विकास हुन धेरै समय लाग्दैन’ धुर्मुसले भने ‘सहयोग आर्थिक मात्र होइन हरेक किसिमको हुन सक्छ ।’

‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि देशबिदेशबाट सहयोग उठ्ने क्रम जारी छ । अहिले धुर्मुस सुन्तली संगैं अभियानमा थुप्रै कलाकारहरू समेत जोडिएका छन् । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू