अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३१ | Colorodo: 18:46

हाँसेर नमस्ते गरौँ, आफ्नो साथीलाई नेपाल घुम्न पठाऔँ: अध्यक्ष भट्ट

बिआरटीनेपाल २०७५ फागुन १५ गते २२:१७ मा प्रकाशित

गैरआवासीय नेपाली सङ्घले नेपाल सरकारले घोषणा गरेको नेपाल पर्यटन वर्ष २०१९ अभियानलाई सफल बनाउन विभिन्न कार्य योजना एवं रणनीति सार्वजनिक गरेको छ । काठमाडौँमा आज आयोजित एक कार्यक्रम बिच यस अघि नै घोषणा गरेको नेपाल पर्यटन प्रवर्द्धन वर्ष अन्तर्गत अघि सारेका विभिन्न प्रस्तावित गतिविधिहरूबारे जानकारी गराएको छ ।

कार्यक्रममा अध्यक्ष भवन भट्टले अभियान मार्फत सरकारको सङ्घको सञ्जाल विस्तार भएका ८० मुलुक बाट पर्यटक भित्र्याउन ३ मित्र आफ्नो मुलुक पठाऊ अभियानलाई अघि बढाउने बताउनु भयो । अध्यक्ष भट्टले नमस्ते, अतिथि देवो भव लगायतका अभियानलाई निरन्तरता दिने, डायस्पोरा मार्फत नेपालको सांस्कृतिक, धार्मिक, साहसिक एवं पर्यटन प्रवर्द्धन गर्ने योजना रहेको बताउनु भयो । उहाँले भन्नु भयो, नेपालमा प्रत्येक पर्यटक देखे पछि हाँसेर नमस्कार गरौँ र विदेशमा पनि हामीले मिठो मुस्कानसहित हाँसेर नमस्ते गरौँ ताकी हाम्रो संस्कार देखेर पनि हाम्रो मुलुक घुम्ने रहर जागोस् भनी राष्ट्रिय समन्वय परिषद्हरूले काम गरिरहेका छन् ।

यस्तै विदेशमा रहेका नेपाली समुदाय (डायस्पोराबाट) पर्यटकलाई नेपाल भ्रमण गर्न उत्प्रेरित गर्ने, डायस्पोरामा नेपाली महोत्सव आयोजना गर्ने, विदेशी स्थित विभिन्न सङ्घ–संस्थासँग मिलेर व्यावसायिक कार्यशाला एवं प्रवद्र्धनात्मक कार्यक्रम गर्ने, नेपालीद्वारा विदेशमा सञ्चालित रेस्टुरेन्ट एवं अन्य व्यावसायिक निकायमा समेत नेपाललाई चिनाउने खालका सामाग्री राख्ने र कार्यक्रम गर्ने लगायतका योजना सङ्घले अघि बढाएको अध्यक्ष भट्टले बताउनु भयो । पर्यटन प्रवर्द्धनका लागि नेपाललाई चिनाउने मौलिक र सांस्कृतिक पहिचान झल्काउने खालका फोटो प्रदर्शनी, खेलकुद प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गर्ने र सरकारले पहिचान गरेका एक सय वटा गन्तव्य स्थलमा बढी भन्दा डायस्पोरा एवं बाह्य पर्यटक भित्र्याउने रणनीति सङ्घले अघि सारेको छ ।

कार्यक्रममा नेपाल पर्यटन वर्ष २०१९ अभियानका संयोजक सोम नाथ सापकोटा र एक्सपेरिएन्स नेपालका संयोजक दीपेशमान शाक्यले अभियान अन्तर्गतका प्रस्तावित गतिविधिबारे विस्तृत जानकारी गराउनु भएको थियो । कार्यक्रममा महिला संयोजक रजनी प्रधान, मध्यपूर्वका नेपाल पर्यटन प्रवर्द्धन उप समितिका संयोजक धर्मराज गिरि, गैरआवासीय नेपाली सङ्घ अन्तर्गतको कृषि समितिका संयोजक युवराज गुरुङ, होटेल एसोसिएसनका सिइओ टेकेन्द्र बहादुर महत, भिजिट नेपालका क्यानडाका संयोजक नरबहादुर टण्डन, मकाउका मकुश बरुवाल लगायत सञ्चारकर्मीहरूको सहभागी रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू