अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३८ | Colorodo: 08:53

उचाइ

रन्जु मार्ग २०७५ फागुन १३ गते २३:५२ मा प्रकाशित

लघुकथा

ऊ त्यो घरमा बस्दै आएकी दुई वर्ष भई सकेको थियो । घर ठुलो थियो । घरमा अरू पनि मानिसहरू भाडामा बस्ने गर्दथे । एक दिन बिराई धारामा पानी आएपनि सबैलाई पानी पुग्दैन थियो । घर धनीले बाहिर जग्गामा इनार खनेर हप्तामा तिन दिन पानीको वितरण गर्ने गर्दथे ।

त्यो दिन बिहान घर धनीले इनारबाट पानी छोड्ने दिन थियो । सधैँ झैँ ऊ पनि पानी थाप्न बाल्टिन लिएर बाहिर गई । धारोबाट पानी आउन थाली सकेको थियो । धारो नजिक एउटा सानो तामाको गाग्री पानीले भरि सकेको थियो । उसले त्यो गाग्री पन्छाई र आफ्नो बाल्टिन थापी । पानी भरिए पछि उसले बाल्टिन बोकेर कोठा तिर लागि ।

केही छिन पछि घरधनी आमा उनको कोठामा आइन र हातमा कपडाको सानो टालो दिँदै भुईँ पुछ्ने सङ्केत गरिन । उसले भुईँ तिर हेरी र देखि अघि भर्खर बाल्टिनिबाट पानी ल्याउँदा भुईँमा पोखिएका रहेछन् । उसले हतार हतार त्यो कपडाको टालोले भुईँ पुछी दिई ।

घर धनि आमा फेरी उसको कोठामा आइन र सोधिन -‘मेरो गाग्री पन्छाएर कसले पानी भरेको थियो ?’
‘गाग्री भरिएर पानी बगिरहेको थियो मैले नै पन्छाएर पानी भरेको थिएँ ‘उसले डराई डराई भनी ।
घरधनी आमाले पहिले भन्दा निकै अनौठो स्वभाव देखाई रहेकी थिइन । उनका आँखा राता राता भएका थिए ।
केही छिनको मौनता पछि घरधनी आमाले ऊ तिर हेर्दै भनिन -‘तिम्रो ससुरा बुबा बितेको पैँतालिस दिन पनि पुगेको छैन फेरी कसरी मेरो पूजाको चोखो पानी छुने हिम्मत गर्‍यौ ?

ऊ केही बोलिन केवल कुरीतिको उचाइ नापी रही ।

प्रतिक्रिया